ad ad

गण्डकी


नीति तथा कार्यक्रम र बजेट निर्माणको भारले थिचिँदैछन् गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डे

शपथ ग्रहण आजै
नीति तथा कार्यक्रम र बजेट निर्माणको भारले थिचिँदैछन् गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डे

वाशुदेव मिश्र
जेठ १६, २०८१ बुधबार १५:२६, पोखरा

गएको वर्ष वैशाख ९ गते गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत गुमाए। माओवादी केन्द्रले एमालेको साथ छाड्दै नेपाली कांग्रेससँग सहकार्य गरेपछि कांग्रेस नेता सुरेन्द्रराज पाण्डे वैशाख ९ मा मुख्यमन्त्री नियुक्त भए।

अघिल्लो सरकार नीति तथा कार्यक्रम तथा बजेटको तयारीमा जुटेको थियो। एकाएक सत्ता प्राप्त भएपछि त्यो जिम्मेवारी सुरेन्द्रको काँधमा आयो। उनले प्रदेश नीति तथा योजना आयोगमा विश्वासिला डा. कृण देवकोटालाई नियुक्त गरे।

तनहुँबाट चुनाव तितेका जीतप्रकाश आलेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिए। हतारमै नीति तथा कार्यक्रम पेश भयो।

निजामती प्रशासनले तयार पारेको नीति तथा कार्यक्रममा साह्रै धेरै फेरबदल गर्ने समय पनि थिएन। कांग्रेसले चुनावी घोषणापत्रमा राखेका केही नारा समेटियो।

असार १ गते अर्थमत्री आले मगरले ३३ अर्ब ४२ करोड रुपैयाँको बजेट ल्याए । बजेटमा क्रमागत योनजाको भार थियो। उनले नयाँ योजना खासै थप्न सकेनन् तर टुक्रे योजनाहरु भने आफू अनुकूल बनाइयो।

योपटक पनि उस्तै भएको छ। सत्तामा दोहारिएर पुगेका एमाले नेता खगराज अधिकारी पदमुक्त भएका छन्। आजै सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका पाण्डेले साँझ ५ः१० बजे शपथ लिँदैछन्।

शुभ साइत रोजेका उनको कार्यकाल कति लामो हुन्छ भन्न सकिँदैन। किनकी, उनीसँग बहुमत अर्थात् ३१ सांसद छैनन्। भ्यागुताको धार्नी पुर्याउन सजिलो पनि छैन।

तर, विश्वासको मत एक महिनाभित्र लिनुपर्ने प्रावधान रहेकाले बजेट वक्तव्यसम्म उनी नै मुख्यमन्त्री हुने चाहिँ पक्का छ। त्यसैले शपथ लिएसँगै उनीसामु नीति तथा कार्यक्रम अनि बजेट म्याराथन थाल्नुपर्ने बाध्यता छ।

यो पटक त पहिलेको जत्तिको समय पनि छैन। १५ दिन अगाडि नै बजेटका प्राथमिकता तथा सिद्धान्त ल्याउनुपर्ने बाध्यताकै बीच बिहीबारको लागि प्रदेशसभा आह्वान भएको छ।

बिहीबार आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेपछि नीति तथा कार्यक्रम ल्याउनुपर्ने छ भने लगत्तै बजेट।

चैत २५ गते सरकार छाडेकाले केही तयारीबारे उनी जानकार त छन् तर पछिल्लो सरकारले कता–कता काटकुट पार्यो? रकमान्तर कसरी भयो, बजेट र नीति तथा कार्यक्रम बनाउने कर्मचारीतन्त्रलाई कसरी परिचालन गर्यो भन्ने बुझ्दै आफू अनुकूलको बजेट ल्याउनको लागि उनीसँग थोरैमात्र समय बाँकी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .