ad ad

गण्डकी


घाइते हेमराज भन्छन्: म हामफाल्न ढोकासम्म पुगेको थिएँ, तर ढोका खोल्न नपाउँदै बस खस्यो

घाइते हेमराज भन्छन्: म हामफाल्न ढोकासम्म पुगेको थिएँ, तर ढोका खोल्न नपाउँदै बस खस्यो

दुर्घटनामा परेको बस


नेपालखबर
चैत ६, २०८० मंगलबार १९:५०, ढोरपाटन (बागलुङ)

‘सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौँका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो। साँझ ५ बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो। पहाडी बाटोमा तीव्र गतिकै कारण बस दुर्घटनामा पर्‍यो’, धौलागिरि अस्पतालको आकस्मिक कक्षमा उपचाररत घाइते दशरथ नेपालीले सुनाए। 

उनका अनुसार यात्रु कुर्दा रुकुममै ढिला भएपछि चालकले रानीकोटमा जाम छल्ने भन्दै गाडीको गति बढाएका थिए।

‘रुकुम र बागलुङको सीमाना पातीहाल्ने आइपुग्दा पनि गाडीको गति कम भएको थिएन। गाडी हुँइकिएपछि मैले  सिट समातेर आफूलाई सम्हालिरहेको थिएँ’, उनले भने, ‘पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक निकै घुमाउरो र ओरालो छ। यात्रुहरूले ओरालोमा अलिक सुस्त चलाउनु भन्दा पनि चालक अटेर गर्दै अघि बढेका थिए। ड्राइभरले घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो।’

घाइते दशरथको नाक, मुख र टाउकोमा चोट लागेको छ। उनी अन्य घाइतेहरूसँगै अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन्। आकस्मिक कक्षमा केही घाइते पीडाले कराइरहेका छन् भने कही मलिन अनुहारमा शोक मनाइरहेका छन्। उनीहरूको उपचारमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटिएको छ। 

रुकुम पश्चिम मुसीकोट नगरपालिका-१ का नेपालीले आफू पसलका लागि सामान लिन र त्यही मेसोमा आफन्त भेट गर्न काठमाडौँका लागि गाडी चढेको बताए। उनले गाडी अनियन्त्रित भएपछि केही यात्रुले हामफाल्न खोजे पनि सफल नभएको सुनाए। 

‘केही यात्रु गाडी पल्टिन्छ भन्ने लागेर हामफाल्ने प्रयास गरेका थिए। तर गाडी सडकबाट तल खसिहाल्यो’, उनले भने।

बस खसेपछिको केही समयसम्म आफूले केही थाहा नपाएको उनले सुनाए।

‘केही बेरपछि होस आउँदा वरिपरि यात्रुका शव र घाइते मात्रै थिए। एकैछिन हातै चलेन। जसोतसो उठेर रुख र ढुङ्गाले च्यापिएका घाइतेलाई निकाल्न सहयोग गरेँ।’

उनीसहितका घाइतेलाई प्रहरीले उद्धार गरी बुर्तिबाङमा सामान्य उपचारपछि  राति नै बागलुङ ल्याएको थियो। उनका अनुसार गाडीको अघिल्लोपट्टि बसेको धेरैको मृत्यु भएको छ।

दशरथसँगै आकस्मिक कक्षमा उपचार गराइरहेका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-१ का हेमराज केसीको टाउको र नाकमा चोट लागेको छ भने बाँया हात राम्रोसँग चलेको छैन। उनी पनि चालकको लापरबाहीले दुर्घटना भएको बताउँछन्।

‘म गाडीको पछिल्लो सिटमा थिएँ। गाडी अनियन्त्रित भएपछि म हामफाल्न ढोकासम्म पुगेको थिएँ। तर ढोका खोल्न नपाउँदै बस खस्यो’, उनले सुनाए। 

उनले बस पल्टिएपछि आफूले केही थाहा नपाएको बताए।

‘म होसमा आउँदा शरीर रुखले च्यापिको थियो। साथीले उद्धार नगरेको भए सायद त्यहीँ मर्थे हुँला’, उनले भने। उनका अनुसार होस्मा आउँदा केही काल्नामा अड्किएका थिए त केही घाइते चिच्याइरहेका थिए।

दुर्घटनामा परी घाइते भएकाहरूले धौलागिरि अस्पतालले विपद् व्यवस्थापन टिममार्फत उपचार गराइरहेका छन्। सो अस्पतालका सूचना अधिकारी शान्ति भण्डारीले अहिले अस्पतालमा दुर्घटनाका २१ घाइतेको उपचार भइरहेको बताइन्। 

उनका अनुसार सात जनालाई भने पोखरा रेफर गरिएको छ। घाइतेमध्येका धेरैको स्वास्थ्यमा सुधार हुँदै गएको उनको भनाइ छ। पोखरा पठाइएका घाइतेहरूको अवस्था भने गम्भीर रहेको भण्डारीले बताइन्। 

बस सडकबाट १५० मिटर तल खसेको थियो। सात जनाको घटनास्थलमै र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भयो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .