गण्डकी


पोखरामा दुई किशोरको अनौठो चोरी : एक जनाले स्कुटर लगे, अर्काले बस नै उठाए!

पोखरामा दुई किशोरको अनौठो चोरी : एक जनाले स्कुटर लगे, अर्काले बस नै उठाए!

नेपालखबर
मंसिर २४, २०८० आइतबार १८:४४, पोखरा

किशोर किशोरीले सानातिना कुरामा हात लम्काउनुलाई अन्यथा मान्न नमिल्ला। तर,पोखरामा एक १७ वर्षीय किशोरले  यात्रुवाहक बस नै चोरी गरेका छन्। 

कास्की प्रहरीका अनुसार तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ३ बस्ने एक १७ वर्षीय किशोरले मंसिर २२ गते पोखरा ९, पृथ्वीचोकमा पार्किङ गरिएको यात्रुवाहक बस नै चोरी गरेका हुन्। 

ती किशोरले ग १ ख ९६३८ नम्बरको बस चोरीमात्र गरेनन्, आफैँ चलाएर भरतपुर महानगरपालिकासम्म पुर्‍याए। प्रहरीले भरतपुर ११, आँपटारीमा चेकजाँच गर्ने क्रममा निजले बस चोरी गरेको पत्ता लागेको हो।

ती किशोर अर्को एक बसको सहचालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए।

किशोर अहिले प्रहरी हिरासतमा छन्। उनलाई प्रहरीले कास्की जिल्ला अदालतमार्फत् चोरी तथा डाँका मुद्दाको अभियोगमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। 

स्कुटर चोरीमा पनि किशोर नै!
कास्की प्रहरीले पार्किङमा राखिएको स्कुटर चोरीमा संलग्न अर्को एक किशोरलाई पनि पक्राउ गरेको छ। पोखरा १६, दीपमा बस्ने ती किशोर पनि १७ वर्षकै रहेको प्रहरीको भनाइ छ।

ती किशोरले यही मंसिर १९ गते पोखरा ३, नदीपुरमा पार्किङमा राखिएको ग १४ प २०३४ नम्बरको स्कुटर र पोखरा १, बगरमा राखिएको ग ८ प ९९३ नम्बरको स्कुटर चोरी गरेका थिए।

स्कुटर हराएको उजुरीपछि खोजतलासको क्रममा प्रहरीले किशोरलाई ग १४ प २०३४ नम्बरको स्कुटरसहित फेला पारेको थियो। सोधखोज गर्दै जाँदा उनले नै ग ८ प ९९३ नम्बरको स्कुटरसमेत चोरी गरेको पुष्टि भएको थियो।

ती किशोर यसअघि ३ पटक चोरी मुद्दामा नै पक्राउ परिसकेको प्रहरीको भनाइ छ।

कारण खोजौं : बालअधिकारकर्मी  सिलवाल 

बालअधिकारकर्मी तथा कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवालले बालबालिकाको चोरीको पछाडी कारण हुने बताइन्। 

बालबालिका नकरात्मक मार्गमा हिँड्नु गम्भीर सामाजिक मुद्दा रहेको र त्यसको न्यूनीकरण आजको आवश्यकता रहेको सुनाइन्। 

उनले बालबालिकामा पनि दुई उमेर समूहमा फरक–फरक कारण हुने गर्दछ। १२÷१३ वर्ष उमेर समूहका बालबालिले चोरी गर्दैछन् भने त्यसको पछाडी संगत वा अन्य व्यक्तिको हात हुन्छ।

कोही न कोही गिरोहका कारण चोरी गर्ने गर्दछन्।

यस्ता घटनामा दुई किसिमका उमेर समूह हुन्छन्। १२/१३ वर्ष उमेर समूहका हुन् भने साथीहरुको संगतमा लागेर हुने गर्छ वा त्यहाँ पछाडी कोही व्यक्ति हुन्छ जसले बालबालिकाको प्रयोग गर्छन् अर्को भनेको १७/१८ वर्षका किशोर किशोरीहरु हुन् उनीहरु चोरीमा लाग्नु भएको आवश्यकता पूुर्ती गर्नकै लागि हो। कमजोर आर्थिक अवस्था, परिवारले आवश्यकता पूरा गर्न नसक्नु र दुव्र्यसनमा फसेकाहरु पनि चोरीमा लाग्ने गर्छन्,’ उनले भनिन्। 

उनका अनुसार एक महिनाअघिसम्म सराङकोटमा रहेको बाल सुधारगृहमा ९० जना बालकहरू थिए।

उनीहरुहरू यौन दुव्र्यवहार, लागुऔषध र चोरीमा संलग्न भएका कारण त्यहाँ ल्याइएका थिए।

बालबालिका चोरीमा लागेपछि उनीहरुको मानसिकताले नै चोरीमै लाग्न लगाउने गरेको सिलवाल बताउँछिन्।

बालबालिकालाई बालमनोविज्ञानले नै चोरीतर्फ अभिप्रेरित गर्ने गरेको उनको भनाई छ। यसका लागि उनीहरूलाई परामर्शको आवश्यकता हुने उनले सुनाइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad