ad ad

गण्डकी


कोरला नाकाबाट अन्तरदेशीय व्यापारको तयारीमा चीन

पोखराका मेयरलाई निम्त्याएर चीनले दियो अन्तरदेशीय व्यापारिक नाकाको सन्देश
कोरला नाकाबाट अन्तरदेशीय व्यापारको तयारीमा चीन

वाशुदेव मिश्र
कात्तिक २७, २०८० सोमबार १९:२०, पोखरा

असोजको पहिलो साता सम्पन्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणको क्रममा नेपाल र चीनको १३ बुँदै संयुक्त वक्तव्यमा लिजी–नेचुङ बन्दरगाह संचालनको घोषणा गरियो। 

संयुक्त वक्तव्यमा भनिएको थियो,‘ ‘हामी दुवै पक्ष लिजी–नेचुङ बन्दरगाह (सुक्खा) खुलेकोमा र जाङ्बु–खासा बन्दरगाह पुनः सञ्चालनमा आएकामा हर्षित छौं। .... चिनियाँ पक्ष आउँदो उचित समयमा लिजी–नेचुङ बन्दरगाहको सुविधा वृद्धिमा सहयोग पुर्‍याउन तयार छ।’

उपल्लो मुस्ताङ घुम्न जाने नेपालीले २४ नम्बर पिलरको केही पर भव्य संरचना निर्माण भएको देखेकै थिए। नाका खोल्न चीन तयार छ भन्ने सन्देश त्यही भवनले दिएको थियो। प्रधानमन्त्रीको भ्रमण क्रममा भएको सम्झौतापछि चीनले कत्ति पनि ढिला गरेन। करिब डेढ महिनापछि अर्थात् कात्तिक २७ गते औपचारिक रुपले नाका खुलायो। नेपाली भूमि नाकाको लागि आवश्यक पर्ने कुनै पूर्वाधार नबनेको अवस्थामा भन्सारको लागि आवश्यक पर्ने पूर्वाधारका निम्ति कन्टेनरसहितका सामग्री पनि उतैबाट सहयोग दिइयो। र, मुस्ताङ क्षेत्रका सांसद, सुरक्षा अधिकारी र पोखरा महानगरका मेयर धनराज आचार्यलाई निम्त्याएर सो नाका सूचारु भएको घोषणा गरिदियो। नाका खुलेको छ।

तत्काल भन्सारलाई चाहिने आवश्यक प्रबन्ध गर्न नेपाल असमर्थ छ भन्ने पनि चीनलाई थाहा छ तर चीनले आफू वचनमा पक्का भएको सन्देशमात्र दिएको छैन, पोखराका मेयरलाई औपचारिक कार्यक्रममा निम्त्याएर उसले कोरला नाका अन्तरदेशीय व्यापारिक केन्द्र भएको सन्देश पनि प्रवाह गरेको छ। 

पोखराबाट उपल्लो मुस्ताङमा रहेको कोरला नाका पुग्न करिब २५१ किलोमिटरको सडक मार्ग पार गर्नुपर्छ। रणनीतिक महत्वको भनिएको त्रिवेणी–कोरला राजमार्ग सम्पन्न हुँदा पोखराबाट नवलपुरको दूरी ९२ किलोमिटरमा छोटिन्छ। नवलपुर सदरमुकामबाट केही किलोमिटर दूरी पार गर्दा भारतसँगको अर्को नाका त्रिवेणी पुगिन्छ। 

चीन अर्को ठूलो जनसंख्या भएको भारत र बंगलादेशसम्म यही मार्ग हुँदै व्यापार गर्न चाहन्छ। 

गण्डकीका दुई जिल्लालाई जोडने काम पोखराले नै गर्छ र यो नाका संचालन हुँदा पोखरा  व्यापरिक र प्रशासनिक केन्द्र बन्दैछ भन्ने बुझेर नै चिनियाँहरूले पोखराका मेयरलाई उद्घाटनमा बोलाएका हुन्।

स्थानीय बासिन्दालाई परिचयपत्रको आधारमा प्रवेश दिइने भनिएको सो क्षेत्रमा पुगेका मेयर आचार्यले पनि कोरला नाका संचालले समग्र गण्डकीले लाभ लिनुपर्ने बताउँदै आएका छन्। 

चीनको जिन्जी नगरसँग भगिनी सम्बन्धसमेत भएको पोखराले कोरला नाका संचालनपछि के निर्यात गर्न सकिन्छ भन्नेबारे अधययन थालेको पनि उनको भनाइ छ। 

‘हामीले चिनियाँ पक्षको तयारी र सदासयता थाहा पाइसकेका छौं,कोरला संचालनमा आएको छ अव कोरला– त्रिवेणी राजमार्ग सम्पन्न गर्दै अन्तरदेशीय व्यापारबाट लाभ लिने बेला आइसकेको छ,’ उनले भने, ‘चीनले अमिलो फलफूल,मासुलगायतका बस्तुहरू आयात गर्न सकिने बताएको सन्दर्भमा हामीले पनि उत्पादनमा जोड दिनुपर्छ।’

अहिले संचालनमा आएको कोरला नाका तिब्बतको जोङ्गा चीनको स्वशासित क्षेत्र सिजाङको पश्चिमी भागमा पर्ने जोङ्वा  अली प्रान्तको मातहत रहेको छ। चीनले रणनीतिक महत्व दिएको  सिगात्से नगरबाट कोरला नाकाको दूरी ३ हजार ६८७ किलोमिटर रहेको छ भने लिजीबाट ल्हासाको दूरी ४ हजार ९६५ किलोमिटर रहेको छ।

लिजीमा सुख्खा बन्दरगाह बनाउन चीनले लगभग ३७६ मिलियन चिनियाँ युयान खर्चेको छ। 

सो क्षेत्रको स्थलगत भ्रमण गरेर आएका नेपाल उद्योग वािणज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीका अनुसार नेपाल र चीन छुट्याउने २४ नम्बर पिलर उता  चीनतर्फको ३० किमीभित्र कुनै बजार छैन। धुवासेन नामक सानो बस्ती छ। जोङ्वा बजार ६० किमी भएकोले विना भिसा पुग्न सकिँदैन। 

उपल्लो मुस्ताङवासीलाई ३० किलोमिटर क्षेत्रभित्र जान भिसा नलाग्ने परम्परा छ। त्यसैले चिनियाँ पक्षले १२ किलोमिटर परको लिजी वरपर बस्ती बसाउँदैछ।

‘सवै तयारी हेर्दा चीन कोरला नाकाबाट दक्षिण एसियामा व्यापार विस्तारको तयारीमा छ,’ मुल्मीले भने, ‘बन्दरगाहका लागि चाहिने एकीकृत प्रणालीलाइ सुव्यवस्थित गर्न आवश्यक भवनहरू उपकरणहरू, आवागमनलागि स्क्यानिङ प्रणाली आगमन र प्रस्थानका  लागि सुविधायुक्त कक्षसहितको यो भन्सारको सूचना बेइजिङसँग जोडिएको पाइयो।’

उनका अनुसार रेडियोधर्मी बस्तु स्क्यानिङ गर्ने प्रणालीदेखि क्यूआरकोडमार्फत्को भुक्तानी हुने गरी तयार पारिएको नाकामा अहिले १२५ जना कर्मचारी तैनाथ गरिएको छ। त्यतिमात्र कहाँ हो र्? व्यापार बढेपछि आउने मान्छेको आवश्यकता पूर्तिका लागि सो क्षेत्रमा नयाँ संरचनाहरू निर्माण भइरहेका छन्।

‘लिजी क्षेत्रबाट नजिकको सहर जोङ्वा पुग्न ६० किमी बाटो पार गर्नुपर्ने भएकोले संभवत होटलहरु वा यातयात साधन संचालन गर्न आवश्यक गोदामघर जस्तो आवश्यक भवनहरू निर्माण भइरहेको हो,’ उनले भने।

रोकिएको मेला र बदलिएको तिब्बत 
तिब्बतको लिजी उपल्लो मुस्ताङको लोमान्थाङमा रहेको नेपाल–चीन २४ नम्बर सीमास्तम्भभन्दा १२ किलोमिटर टाढाको बस्ती हो भने नेपालतर्फको नेचुङबाट सीमा पुग्न पनि करिब  १२ किलोमिटरकै यात्रा तय गर्नुपर्छ। नेचुङमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल र नेपाली भन्सार कार्यालय सञ्चालनमा छ। 

भौगोलिक अवस्थाकै आधारमा कुन भूमि नेपालको हो र कति भूमि तिब्बतमा पर्छ भनेर छुट्याउन कठीन सो क्षेत्रका बासिन्दाहरुको रहनसहन अनि भाषा एउटै छ। उपल्लो मुस्ताङका राजादेखि सर्वसाधारणसम्मको विहेवारी पनि उतै  हुन्थ्यो । विना रोकतोक यताका मान्छे उता र यताका मान्छे ‘चिसो मरुभूमि’मा एकाएक साँच्चिकै चिसो पस्यो।

त्यसको कारण थियो–खम्पा व्रिदोह। 

२०३१ साल भदौमा खम्पाका विद्रोही नेता वाङ्दी मारिए। विद्रोह रोकियो तर नाकाको कडाइ भने रोकिएन। नेपाल–तिब्बतबीच परापूर्वकालदेखि व्यापार गर्ने सो नाका क्षेत्रको चिनियाँ र नेपाली भूमिमा वर्षको दुईपटक मेला लगाउने परम्परा कायमै रह्यो। सीमा क्षेत्र खुलै थियो। 

तर, सन् १९९९ डिसेम्बर ३० मा अर्को घटना भयो। चीन सरकार र निर्वासित तिब्बती सरकार अर्थात् भारत निर्वासनमा रहेका दलाई लामाबाट मान्यताप्राप्त तिब्बती बौद्धधर्म कर्माका प्रमुख गुरु ‘कर्माया’ सोही नाका हुँदै भारत पसे। शक्तिशाली चीनको आँखा छलेर वास्तविक नाम उर्गेन ट्रिन्ले दोर्जे रहेका कर्मायाले पलायन रोजेपछि कोरलामा झन कडाइ सुरु भयो। 

सीमा क्षेत्रमा चीनले काँडेतार लगायो। वार्षिक रुपले लाग्ने वार्षिक मेला कायमै रहे पनि नेपालको आन्तरिक सशस्त्र द्वन्द्वको बादलले छोयो। २०६४ यता मेलासमेत बन्द भयो। 

‘पहिला हुने मेलामा म राजा (मुस्ताङका पूर्वराजा) को प्रतिनिधिको रुपमा तिब्बतका मान्छेहरुसँग कुराकानीको लागि जान्थेँ,सहमतिमै वर्षको दुईपटक मेला लाग्थ्यो। हाम्रै अनुुरोधमा तिब्बतीहरुले नेचुङसम्म मेला ल्याउने सहमति जनाए,’ उपल्लो मुस्ताङ लोमान्थाङका बासिन्दा तथा गण्डकीका पूर्वसांसद इन्द्रधारा विष्टले भने, ‘सशस्त्र द्वन्द्वको बेला सुरक्षाको कारण देखाउँदै मेला पनि बन्द भयो। त्यसले गर्दा उपल्लो मुस्ताङ र तिब्बतको सांस्कृतिक सम्बन्ध पनि टुट्यो। नत्र,यताका मान्छेको उता र उताहरुको यता विहेवारी चल्थ्यो।’ 

२०५४ सालतिर लोमान्थाङ गाउँ विकास समितिको अध्यक्ष हुँदा उपल्लो मुस्ताङका ४ वटा गाविसले ५०÷५० हजार रुपैयाँ छुट्टयाएर कोरला नाकासम्म बाटो खनेको पनि उनले स्मरण गरे। 

उनका अनुसार केही वर्षअघिसम्म तिब्बतको जनजीवन र अर्थतन्त्र उपल्लो मुस्ताङको भन्दा फरक थिएन।  तिब्बतको धुवासेन भनिने सो क्षेत्रका बासिन्दाहरु खेतिपाती र भेडाच्याङ्ग्रा पालन गर्थे। तर, पछिल्लो समय तिब्बत बदलिएको छ।

भेडाच्याङ्ग्रा चराउनेहरू घट्दै गएका छन्। जति छन्, ती पनि मोटरसाइकल लिएर च्याङ्ग्रा चराउन निस्कन्छन्। तिब्बतीहरुको आर्थिक हैसियत बढेको छ। जसले गर्दा उनीहरु हिजोको जस्तै नेपालतिर विहेवारीको लागि पनि उति तयार छैनन्।

‘वर्षको दुईपटक लाग्ने मेलामा पनि उताका मान्छेलाई बेच्ने सामान हुँदैनथ्यो, कसैकसैले जडिबुटी र केही गलैंचाहरू बेच्थे,’ उनले ती दिन सम्झँदै भने, ‘हाम्रोबाट चाहिँ किन्नेमात्र काम हुँदा दिक्क पनि लाग्थ्यो,अहिले नाका खुलेको छ। अब उपल्लो मुस्ताङमा चिनियाँ सामान छ्पापछ्याप्ति पाइन्छ। हामीले के पठाउने भन्नेबारे तयारी गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .