ad ad

गण्डकी


हिन्दू धर्मावलम्बी र बौद्धमार्गी दुवैले पुज्ने ‘देउपुजे ढुंगा’

हिन्दू धर्मावलम्बी र बौद्धमार्गी दुवैले पुज्ने ‘देउपुजे ढुंगा’

स्याङ्जाको भिरकोट नगरपालिका–३ भतेरपाटामा अवस्थित ‘देउपुजे ढुंगा’


रासस
भदौ २३, २०८० शनिबार ६:४३, वालिङ (स्याङ्जा)

स्याङ्जाको भिरकोट नगरपालिका–३ भतेरपाटामा अवस्थित ‘देउपुजे ढुंगा’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना रहँदारहँदै पनि प्रचारप्रसार नहुँदा यसको महत्त्व ओझेलमा परेको हो। 

देउपुजे ढुंगालाई शिवलिङ्गका स्वरुप मानी शत्‌बीज छर्ने गरिएको छ। यहाँ शत्बीज छर्नाले पितृमुक्त, पितृ उद्धार तथा भाकल पूरा हुने जनविश्वास रहिआएको देउपुजे ढुंगा पूजा समितिका सदस्य राजकुमार श्रेष्ठले बताए। 

यस स्थानमा वर्षा भएन भने स्थानीय मिलेर बाजागाजासहित ढुंगाको माथिबाट सबैले गाग्रीमा पानी लगी तल बाजाको भोटेसोला भन्ने तालमा नाच्नेलाई पानी खन्याएर पानी माग्न सुरु गर्ने चलन रहेको उनले बताए। 

‘परापूर्वकालमा यस ढुंगाको एउटा भागमा गाईको जस्तै थुन रहेको र त्यसबाट दूध आउने गर्थ्यो’, श्रेष्ठले भने, ‘रजश्वला भएकी महिलाले भोकाएको आफ्नो बच्चालाई दूध खुवाउन उक्त थुन छोएपछि दूध आउनै बन्द भएको भन्ने किंवदन्ती छ।’  यस ठाउँमा हिन्दू धर्मावलम्बीले देवी र शिवलिङ्गका रुपमा तथा बौद्धमार्गीले आफ्नै विधिअनुसार पूजा आरधना गर्ने गरेका छन्। 

धार्मिक महत्त्वसँगै यो ठाउँ पर्यटकीय दृष्टिले पनि प्रचुर सम्भावना बोकेकाले यहाँ पूर्वाधार निर्माण थालिएको वडाध्यक्ष केशबहादुर खड्काले बताए। ‘यस ठाउँलाई धार्मिक दृष्टिले शक्तिको केन्द्रकारुपमा मानेर पूजाआजा हुने गरेको छ’, उनले भने, ‘धार्मिक महत्त्व सँगसँगै यहाँ अध्ययन, अवलोकन तथा वनभोज खानका लागि पनि मानिस आउन थालेका छन्।’

अग्लो स्थानमा भिरालो खालको चौरमा बालमैत्री पार्क निर्माणाधीन अवस्थामा रहेको वडाध्यक्ष खड्काले बताए। उनका अनुसार यहाँ आउने पर्यटकलाई लक्ष्य गरी प्रतिक्षालय, कुर्सी, सिँढी निर्माण, खानेपानीको व्यवस्थापन गरिएको छ। वडा कार्यालयबाट थप संरचना निर्माणका लागि चालु आर्थिक वर्षका लागि रु तीन लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए। 

पालिकाभित्र विभिन्न ठाउँमा रहेका धार्मिक, पौराणिक, ऐतिहासिक, पर्यटकीय संरचनालाई संरक्षण गर्ने र प्रचारप्रसार गर्दै नगरपालिका अगाडि बढेको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए। ‘नगरभित्र रहेका हाम्रा धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पौराणिक महत्त्व बोकेका स्थलका बारेमा जानकारी दिनका लागि स्थानीय पाठ्यक्रममा समावेश गरेका छौँ’, उनले भने, ‘स्थानीय पाठ्यक्रमको प्रभावकै कारण पनि पालिका भित्रका विभिन्न ठाउँमा अहिले अध्ययन अवलोकन गर्न जानेको सङ्ख्या बढ्दै गएको छ।’

भिरकोटको मुख्य बजार बयरघारीदेखि १० किलोमिटर उकालो ग्रामीण कच्ची सडक पार गरेपछि यस ठाउँमा पुग्न सकिन्छ। समुद्र सतहदेखि एक हजार पाँच सय फिटको उचाइमा यो ठाउँ छ। अग्लो ठाउँमा भएकाले पनि यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खला मनमोहक देखिन्छन्। 

स्याङ्जासहित छिमेकी जिल्लाका विभिन्न ठाउँ यहाँबाट देखिने भएकाले पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्नसक्ने देखिएको वडाध्यक्ष खड्काले बताए। उनका अनुसार उक्त ढुंगाको गोलाई करिब २५ मिटर र उचाइ करिब १५ मिटर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .