लमजुङको सुन्दरबजार नगरपालिका-८, कुसुण्डे निवासी एरिका सापकोटालाई ‘लकडाउन’ले कुशल चित्रकार बनाएको छ। आईटी इन्जिनियर सापकोटाले कोभिड-१९ महामारीको बेला भएको लकडाउनमा कुची र रङसँग मित्रता गाँसेकी थिइन्।
काम गर्ने इच्छा र जाँगर भएमा तालिमविना पनि दक्षता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हुन् एरिका। अहिले विभिन्न परियोजनाअन्तर्गत स्वदेश तथा विदेशबाट चित्रकलासम्बन्धी काम आउने गरेको उनी सुनाउँछिन्। ‘कोरोनाको समयमा घर बाहिर निस्कन नहुने भयो। सोही समयलाई सदुपयोग गर्दै कुची र रङ खेलाउन थालेँ,’ एरिका भन्छिन्, ‘अहिले व्यावसायिक रूपमा चित्र बेच्न थालेकी छु।’
कडा मेहनत र लगावका कारण नै आफू चित्रकार बनेको उनी बताउँछिन्। ‘फुपूदिदीको घरमा फर्निचर उद्योग छ। सुरुआती दिनमा त्यहाँ गएर रङ, कागज र काठका टुक्रामा चित्र बनाउन सिकेँ। पछि इन्टरनेटको माध्यमबाट रङको समायोजन र कसरी चित्र बनाउने भन्ने विषयमा अध्ययन गर्दै बनाउन थालेकी हुँ,’ एरिका भन्छिन्।
फुर्सदको समयलाई त्यत्तिकै फाल्नुहुँदैन भन्ने मान्यता राख्ने सापकोटा आफ्नो इन्जिनियरिङको कामबाट केही समय सदुपयोग गरी वा कम्प्युटर हेर्दाहेर्दै दिक्क लागेको समयमा चित्र बनाउने गर्छिन्। यसबाट ध्यान विकेन्द्रित नहुने र मनलाई प्रफुल्लित बनाउन सकिने उनको अनुभव छ। ‘अहिले रङमा हात बसिसकेको छ’, सापकोटा भन्छिन्, ‘सुरुआती चरणपछि आफैँले रङ, ब्रस र कागज किनेर ल्याई क्यानभासमा चित्र बनाउन थालेकी थिएँ।’ एउटा चित्र बनाउन डेढदेखि दुई घण्टा लाग्ने उनले सुनाइन्।
चित्र बनाउँदै गर्दा भेटिएकी सापकोटा भन्छिन्, ‘चित्र बनाएर त्यसलाई पूर्णता दिनुपर्छ। कहीँकतै अपुग वा कमी भएमा त्यसलाई अन्तिम चरणको तयारी गर्नुपर्छ।’ उनले एउटा चित्रलाई न्यूनतम ७ हजारदेखि अधिकतम १२ हजार रुपैयाँसम्म बिक्री गरेकी छन्।
चित्र बनाउन आवश्यक रङ, ब्रस र कागज ‘अनलाइन’बाट मगाउने गरेको बताउने उनी चित्रको माग पनि अनलाइनबाटै बढी आउने गरेको बताउँछिन्। विदेशमा रहेका साथीभाइ तथा आफन्तले प्रोत्साहन तथा प्रचारप्रसार गरिदिएकोमा उनी मख्ख छिन्।
विदेशमा रहेका शुभचिन्तकको सहयोगले अमेरिकामा एउटा चित्रलाई रु. २० हजार र अस्ट्रेलियामा १२ हजारमा बिक्री गरेको सापकोटाले बताउँछिन्। पोखरामा फुपूदिदीको घरमा बसेर पढ्दा सिकेको कलाकारितालाई अहिले निखार ल्याउन पाएकोमा उनी खुसी छन्।
चित्र कस्तो, रङ कुन मनपर्ने भन्ने कुरा मानिसको व्यक्तित्वमा भरपर्ने बताउँदै मागअनुसार रङ समायोजन गरेर चित्र बनाउने गरेको उनले बताइन्। ‘माग भई आएका चित्र बनाउन पनि समय पुगेको छैन। आईटीको क्षेत्रमा काम गर्ने भएकाले उता पनि व्यस्त हुन्छु। यसबाट फुर्सद पाएपछि रङसँग खेल्ने गरेकी छु’, एरिका भन्छिन्।
चित्र बिक्री हुँदा र पुरस्कार पाउँदा अझ बढी गरुँ गरुँ लाग्छ उनलाई। गतवर्ष गण्डकी प्रज्ञा-प्रतिष्ठान र क्यानले संयुक्त रूपमा आयोजना गरेको चित्रकला प्रतियोगितामा पुरस्कृत भएकी थिइन्। यसले उनलाई ठूलो हौसला र ऊर्जा दिएको छ।
घरमै बसेर आईटीको क्षेत्रमा देश-विदेशका काम गर्नु र त्यसबाट फुर्सद निकालेर चित्र बनाउनु अहिले उनको दिनचर्या बनेको छ। आँट र मेहनत गर्ने हो भने आफूले चाहेको जस्तोसुकै काम पनि सकिने रहेछ भन्छिन् उनी। त्यसका लागि तालिम वा प्रत्यक्ष कक्षा नै लिनु नपर्ने अनुभव उनीसँग छ। ‘पछिल्लो समय प्रविधिमा भएको विकासका कारण इन्टरनेटको माध्यमबाट जस्तोसुकै काम सिक्न सकिँदो रहेछ’, एरिका भन्छिन्, ‘मैले त्यसरी नै सिकेँ र अहिले परिवार तथा आफन्तको सहयोगले आत्मनिर्भर बनाउँदै लगेको छ।’
चित्रकला रोजाइको विषय भएकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने एरिकाको सोच छ।
Shares
प्रतिक्रिया