ad ad

गण्डकी


गण्डकीका यातायातमन्त्रीको सय दिन : सडकमै उत्रिए, चर्चा कमाए

गण्डकीका यातायातमन्त्रीको सय दिन : सडकमै उत्रिए, चर्चा कमाए

नेपालखबर
भदौ ४, २०८० सोमबार १८:१४, पोखरा

गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जाली यतिबेला चर्चामा छन्। कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा माओवादीको तर्फबाट महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीले मात्र हैन, अस्तव्यस्त यातायात क्षेत्र सुधारका कार्यक्रमले उनको चर्चा चुलिएको हो।

गएको वैशाख २९ गते मन्त्रीको सपथ लिएका उनले आफ्नो कार्यकालको सय दिनमा उल्लेखनीय काम गरेको जिकिर पनि गरेका छन्। सोमबार सय दिने उपलब्धि सार्वजनिक गर्न पत्रकार सामु झुल्किएका उनले ‘मालदार मन्त्रालय’को जिम्मेवारी पाएको त स्वीकारे तर ‘खेलोमेलो’मा नलाग्ने उद्घोष गरे।

भौतिक निर्माण तथा यातायात क्षेत्र अस्तव्यस्त हुनुमा ‘खेलोमेलो (कमिसन) कारक रहेको बताउँदै उनले भने, ‘यातायात क्षेत्र सुधारको लागि मैले पोखरामा मिटरमै ट्याक्सी चल्नुपर्ने व्यवस्था गरेको छु भने यातायात कार्यालयभित्र विचौलियाको पहुँचलाई निषेध गरेको छु। कार्यालय बाहिर काम मिलाइदिन्छु भन्नेहरुलाई भने रोक्न सकिँदैन।’

हो, पोखराका ट्याक्सीहरु मिटरमा हिँड्दैनन्। चढ्नासाथ २५० रुपैयाँ उनीहरुको रेट हो। विमानस्थलका ट्याक्सीको त कुरै फरक छ। नयाँ एयरपोर्टदेखि प्रमुख पर्यटकीय क्षेत्र जानुपर्यो भने १५ सयसम्म असुल्लछन्। मन्त्री जुग्जाली भदौ १ गते आफैं सडकमा उत्रिए। व्यवसायीहरुलाई मिटरमा नहिँडे कारबाही गर्ने उद्घोष गरेका उनले ट्याक्सीको छड्के जाँच गरे।

अहिलेसम्म मिटरमा हिँड्न नमान्ने ७ वटा ट्याक्सीलाई कारबाही गरेको उनको भनाइ छ।

‘वैज्ञानिक भाडादर कायम हुन्छ, यसको लागि कार्यदल बन्दैछ, मिटरमा नचल्ने ट्याक्सीलाई ट्राफिक नियम अनुसार हैन, यातायात व्यवस्था ऐन अनुसार कारबाही गरिएको छ। कम्तिमा ५ हजार जरिवाना लगाइन्छ,’ उनले भने।

उनले यातायात व्यवस्था कार्यालयले अनलाइनबाटै लाइसेन्स नवीकरण सेवा सुरु गरेको पनि जानकारी दिए। यातायात कार्यालयका सबै कागजपत्रहरुलाई डीजीटाइजेसन गरिएको बताउँदै उनले सेवा प्रविधि मैत्री भएको दाबी गरे।

भौतिक पूर्वाधार पूर्वाधारको क्षेत्रमा पनि देखिने काम भएको उनको जिकिर छ। प्रदेश सरकारले ३० लाखभन्दा तलका टुक्रे योजना कटौती गरेको जानकारी दिँदै उनले भने, ‘प्रादेशिक सडक सञ्जाल गुरुयोजना मस्यौदा हुँदैछ, यसले गण्डकी प्रदेशभित्रको यातायात सञ्जालको योजनावद्ध विकास गरिन्छ। बर्खायाममा सडक भत्कने रोगबाट मुक्ति पाउन २३ करोड रुपैयाँको आपतकालीन सडक मर्मत संभार कोष बनाइएको छ।’

प्रदेश सरकारले चालु आर्थिक वर्षभित्र ३ सय किलोमिटर सडक कालोपत्रे, २५ वटा सडक पुल निर्माण तथा २० वटा झोलुङ्गे पुल बनाउने उद्घोष पनि उनको रहेको छ। त्यसो त, ठेक्का लिने तर सम्पर्कमा नआउने ठेकेदारमाथि कारबाही सुरु गरिएको पनि उनको जिकिर छ।

गण्डकीमा समयमै काम सम्पन्न नभएका ४७ वटा परियोजना रहेको र हाल ३० जना ठेकेदार सम्पर्कमा आइसकेको पनि उनले बताए। आफ्नो काम गराइलाई उनले ‘जनवादी शैली’को उपमा पनि दिए।

चलायमान स्वभाव र सधैं चर्चा
२०४० साउन २२ गते म्याग्दीको मालिका गाउँपालिका ७, बिममा जन्मेका रेशम जुग्जाली २०५८ सालमै भूमिगत बने। शहीद परिवारका रेशम २०६२ सालमा जनमुक्ति सेनाको कम्पनी कमिसार बनिसकेका थिए।

माओवादी शान्ति प्रक्रियापछि भने उनले वाइसीएल जिल्ला सचिवको भूमिका निभाए। २०७० सालमा माओवादी विभाजित हुँदा उनले मोहन वैद्यको हात समाए। जिल्ला इन्चार्ज बने। असन्तुष्ट भएपछि निष्कृय बसे।

तर, स्थानीय चुनाव आउँदा भने सक्रियता बढाए। २०७४ सालमा मालिका गाउँपालिका ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिए। विजयी बने।

सोही सालमा सम्पन्न संसदीय निर्वाचनमा भने उनी माओवादी केद्रको पक्षमा खुलेरै लागे। रामबहादुर थापा, देव गुरुङसहितका नेताहरु माओवादीमा फर्कँदा उनी पनि माओवादी केन्द्रमै समाहित भए। जिल्ला संयोजक बने।

२०७९ को स्थानीय तह चुनावमा उनी माओवादीको तर्फबाट गाउँपालिका उम्मेदवार बने पनि विजयी बनेनन्। हारे त के भो? पार्टीले उनलाई प्रदेशसभा निर्वाचनमा म्याग्दी ‘ख’ मा सांसदको उम्मेदवार बनायो।

खासमा, कांग्रेस–माओवादीसहितको गठबन्धनले म्याग्दी ‘ख’ कांग्रेसलाई र संघतर्फ माओवादी उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, जुुग्जालीले केन्द्रको सो निर्णय घातक हुने भएकाले प्रदेशको टिकट माओवादीले लिने र संघतर्फ कांग्रेसका उम्मेदवार उठाउने तानाबाना बुने।

योजना अनुसार केन्द्रीय निर्णय उल्टियो। एमालेका उम्मेदवारलाई १०१ मतले हराउँदै उनी म्याग्दी ‘ख’ बाट गण्डकी प्रदेशसभा सदस्य निर्वाचित बने। सांसद हुने के थियो,उनको पोल्टामा मन्त्री आइहाल्यो।

केन्द्रको गठबन्धन भत्कँदा गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बने। रेशम उनको मन्त्रिमण्डलमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका थिए।

गठबन्धन भत्कँदा पनि उनको भाग्य भत्किएन। पुनःमन्त्री बने र अहिले चर्चामा छन्। पत्रकार सम्मेलनको अन्त्यमा उनले भनेको वाक्य ‘गठबन्धन ५ वर्ष नै जान्छ’ को अन्तर्यमा जाने हो भने उनी ५ वर्ष नै मन्त्री बन्ने अठोटमा छन् भन्दा नाजायज नहोला!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .