यो त्यो बेलाको कुरा हो। जुनबेला जनयुद्धको उद्गमस्थल तथा माओवादीको आधार इलाका गोरखाका गाउँहरुमा हत्तपत्त तत्कालीन शाही सेना पस्न सक्दैनथ्यो। तर, जतिबेला पस्थ्यो, कतिबेला को गिफ्तारीमा पर्ने हो, कसले चरम यातना खेप्नुपर्ने हो र कसले गोली खानुपर्ने भन्नै नसकिने!
जनवादी राज्यसत्ता ल्याउने सपनासहित माओवादीमा लागेकाहरु पनि उस्तै थिए। लडाकुहरु मर्न र मार्न तम्तयार हुन्थे। राजनीतिक फाँटमा लागेकाहरु गाउँगाउँमा पुगेर युद्धको पक्षमा जनमत तयार पार्थे।
राजनीतिक फाँटमा काम गर्ने सुशीला सिम्खडालाई ठ्याक्कै मिति त थाहा छैन तर २०५९ सालतिर हुनुपर्छ। उनी हाल गोरखाको धार्चे गाउँपालिकामा पर्ने कासीगाउँमा थिइन्। राजनीतिक सेलमा काम गर्ने उनी गाउँको धारोमा नुहाउँदै थिइन्। गाउँमा शाही सेना पसिसकेको रहेछ।
आफू नुहाउँदै गरेको माथ्लो गह्रामा एलएमसी सोझ्याएर बसेको शाही सेना देखेपछि बल्ल उनले पत्तो पाइन्। गर्ने के? मनमनमा ‘शहीद’हुने दिन आएछ भन्ने लाग्यो। तर,उनले हिम्मत डग्मगाइनन्। सुशीलाले भागेर नै ज्यान बचाइन्।
पछि उनले सुनिन्, सेनाले गाउँमा धरपकड मात्रै गरेनन्,कयौंलाई शहीद बनाएछ।
‘मसँग मृत्युको मुखबाट निस्केन सफल भएका हजारौँ सम्झनाहरु छन्,’ गण्डकीको मन्त्रीमा नियुक्त भएपछि उनले नेपालखबरसँग भनिन्,‘म आफूलाई उछिट्टिएर बाँचेको मान्छे भन्न रुचाउँछु, ढलेका शहीदका लासको बीचबाट म उम्केको छु।’
हाल गोरखाको भिमसेन थापा गाउँपालिका ४,धावामा २०२८ सालमा जन्मेकी सुशीला सानैदेखि विद्रोही थिइन्। विद्रोह चेतले उनी माओवादीसँग नजिकिइन्। २०४६ सालतिर ताम्राङमा रहेको श्री सरस्वती माविमा कक्षा ८ मा पढ्दै गर्दा उनी अखिल क्रान्तिकारीको सदस्य भइसकेकी थिइन्।
२०५२ सालमा माओवादी सशस्त्र युद्धमा होमियो। सुशीलाले भूमिगत हुने निर्णय गरिन्। भूमिगत हुने निर्णय कस्तो कठोर थियो भने उनले हुँदाखाँदाको घरवार छाड्नुपर्यो। हाल गण्डकी प्रदेशका सभामुख तथा माओवादी नेता कृष्ण धितालका अनुसार परिवारले युद्ध नरुचाएपछि उनले घरवार छाड्ने कठोर निर्णय गरेकी हुन्।
‘हाम्रो समाजले बुहारीलाई बाहिर जान के दिन्थ्यो र? उहाँले परिवार हैन पार्टी रोज्नुभयो,’सभामुख धितालले भने,‘अंशवापत् पाउनुभएको ८० हजार पनि पार्टीलाई बुझाउनुभयो। त्यो बेला ८० हजार ठूलो रकम थियो।’
ढुंगाको भर माटो, माटोको भर ढुंगा भन्छन्। पछि उनले अर्को घरजम गरिन्। जीवन सुखपूर्वक चलिरहेको छ।
धितालका अनुसार सुशीलाले इमान्दारितापूर्वक पार्टीको काम गरिन्। एउटा घटनामा आफू र सुशीला बालबाल बाँचेको पनि उनले सुनाए। भएछ के भने, पार्टी कामको सिलसिलामा कृष्ण,सुशीलाहरु भिमसेन थापा गाउँपालिका बगुवाको रिठेपानी भन्ने ठाउँमा ‘सेल्टर’ लिएका रहेछन्। गाउँ सेनाले घेरिसकेको रहेछ।
‘हामीले जसोतसो घेराबन्दी तोडेको मलाई अहिले पनि सम्झना छ,’धितालले भने,‘ सुशीलाजी इमान्दार कार्यकर्ता हो, पहिल्यै अवसर पाउनुपर्ने मान्छे हो तर गोरखामा नेता धेरै नि त!’
हो, सुशीला जनयुद्धकालदेखि नै माओवादी राजनीति फाँटमा क्रियाशLल कार्यकर्ता हुन्। हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेकी उनले विद्यार्थी संगठन, पार्टी,महिला संगठनका विभिन्न पदसहित खुला राजनीतिमा आएपछि गठन भएको योङ कम्युनिष्ट लिग (वाइसिएल) को इकाइ इन्चार्जको भूमिका पनि निभाएकी छन्।
माओवादी केन्द्र र एमालेबीचको एकतापछि बनेको नेकपामा उनी गोरखा जिल्ला सह–इन्चार्ज थिइन्। सुशीलाले धेरैजसो गोरखालाई नै आधार क्षेत्र बनाएर काम गरिन्। महिला संगठनमा हुँदा गण्डकी, धौलागिरी र लुम्बिनीका १३ जिल्लाको संयोजक/इन्चार्जको भूमिकामा रहेर काम गरिन्।
गएको मंसिर ४ गतेको चुनावमा उनलाई माओवादी गोरखा क्षेत्र नम्बर १ को प्रदेशतर्फ ख को चुनावी कमाण्डर थिइन्।
क्षेत्र नम्बर १ को संघीय सांसदमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा थिए भने प्रदेश ‘ख’मा कांग्रेसका नन्दप्रसाद न्यौपाने। दुवैले चुनाव जिते। समानुपातिकतर्फबाट सुशीला सांसद बनिन्। गण्डकी प्रदेशसभामा माओवादी केन्द्रको सचेतक बनिन्।
एमाले संसदीय दलका नेता खगराज अधिकारीको बर्हिगमनपछि गोरखा २ ‘ख’बाट विजेता बनेका कांग्रेसका सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्दा सुशीला मन्त्री बनिन्। उनले शुक्रबार विना विभागीय मन्त्रीको रुपमा सपथ लिएकी छन्।
मन्त्री बनेपछि उनले भनिन्,‘पटक–पटक मुद्दा लागे, युद्धकालमा छिमेकी र जनताले जोगाउनु भयो। उछिट्टएर बाँचेको हुँ, हिजो आन्दोलनमा लाग्दा जे प्रतिवद्धता जाहेर गरेको छु। मन्त्रीको रुपमा तिनै प्रतिवद्धता पूरा गर्छु।’
Shares
प्रतिक्रिया