ad ad

गण्डकी


गण्डकीको मुख्यमन्त्री : एमालेका खगराज अधिकारी कि कांग्रेसका सुरेन्द्र पाण्डे?

कसिलो गठबन्धन भए एमालेको बढ्न सक्छ चुनौती
गण्डकीको मुख्यमन्त्री : एमालेका खगराज अधिकारी कि कांग्रेसका सुरेन्द्र पाण्डे?

फाइल तस्बिर


वाशुदेव मिश्र
कात्तिक ८, २०७९ मंगलबार १४:३८, पाेखरा

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय तहको नतिजापछि भनेका थिए, ‘अहिलेको परिणाम हेर्ने हो भने सातवटा प्रदेशमध्ये गण्डकीले मात्रै आफ्नो विरासत कायम गर्न सकेको छ। हिजो हामीले ३५ सिट जितेका थियौँ, आज पनि ३५ सिट जितेका छौँ। वडाअध्यक्ष हिजोभन्दा बढी जितेका छौँ। हिजोभन्दा अहिले ठूलो प्रगति भएको छ।’

पोखरासहितका केही महत्वपूर्ण पालिका गुमाए पनि एमालेले पाएको सफलता सामान्य थिएन। एमाले त्यही सफलताको बलमा आउँदो मंसिर ४ गतेको चुनाव लड्दैछ। एमालेले कम्तीमा गण्डकी प्रदेशमा आफ्नो सरकार बनाउने सपना देख्दैछ। 

कतिसम्म भने, त्यहीँ आकलनकाबीच उपमहासचिव पृथ्वीसुब्बा गुरुङले फेरि प्रदेश सांसद हुने चाहना व्यक्त गरे।

एउटा मात्रै संघीय क्षेत्र रहेको लमजुङ ‘ख’ बाट उनले आफ्नो नाम प्रदेशसभा सदस्यमा सिफारिस गराए।

संस्थापक मुख्यमन्त्रीको रुपमा सुरु गरेका योजना पूरा गराउन फेरि मुख्यमन्त्री हुने चाहना सार्वजनिक रुपमै व्यक्त गरे। तर, उनले टिकट पाएनन्।

तर अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीसुब्बालाई संघीय सांसदको टिकट थमाइदिए।

प्रदेश झर्ने उनको योजनामा पूर्णविराम लगाइँदै ओलीले पार्टी संगठन विभाग प्रमुख तथा स्थायी समिति सदस्य खगराज अधिकारीलाई कास्की क्षेत्र नम्बर १ ‘क’बाट उम्मेदवार बनाइदिए।

स्थायी समिति सदस्य खगराजले प्रदेशको चुनाव लड्नुको अर्थ हुन्छ, उनी एमालेले सरकार बनाउँदा मुख्यमन्त्रीका निर्विरोध उम्मेदवार हुन्।

यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बाले लमजुङ ‘क’ प्रदेशसभामा उम्मेदवारी दिएका जमिन्द्रमान घलेलाई भावी मुख्यमन्त्रीका रुपमा प्रक्षेपण गरे। तर एमालेले बहुमत पाउँदा खगराज नै मुख्यमन्त्री बन्ने त्यही पार्टीका नेताहरु बताउँछन्। 

उता, नेपाली कांग्रेसमा भने मुख्यमन्त्रीका रुपमा सुरेन्द्र पाण्डेलाई हेरिएको छ। गोरखा क्षेत्र नम्बर २ ‘ख’बाट उम्मेदवारी दिएका पाण्डे प्रदेशमा चुनाव लड्ने सिनियर नेता हुन्।

कांग्रेस गण्डकीका अध्यक्ष शुक्रराज शर्माको नाम खस–आर्य समूहबाट समानुपातिकको एक नम्बरमा राखिएकाले उनलाई पनि मुख्यमन्त्रीको दाबेदार मानिएको छ।

तर, पाण्डे राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता भइसकेका छन्। अर्कातिर सभापति शेरबहादुर देउवानिकट भएकाले मुख्यमन्त्रीका लागि पाण्डेकै पल्ला भारी भएको उनीनिकट नेताहरुले बताइरहेका छन्। 

‘सुरेन्द्र दाइले चुनाव जित्नुभयो भने उहाँ नै हाम्रो मुख्यमन्त्री हो’, ती नेताले भने, ‘शुक्रराज दाइ र ध्रुव दाइ (ध्रुव वाग्ले) को नामको चर्चा चल्नु अस्वभाविक होइन, तर उहाँहरुलाई व्यवस्थापन गरिन्छ।’

समानुपातिकको दोस्रो नम्बरमा बसेका तनहुँका ध्रुव वाग्ले, कास्की क्षेत्र नम्बर २ ‘ख’का उम्मेदवार गण्डकीका बहालवाला कानुनमन्त्री विन्दुकुमार थापा पनि मुख्यमन्त्रीको रुपमा चर्चा गरिएका नाम हुन्।

तर, एमालेको जस्तो गठबन्धनको तर्फबाट अहिलेसम्म यही मुख्यमन्त्री भनेर तोकिएको छैन।

प्रत्यक्षतर्फ १३ ठाउँमा उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रले पनि चुनावी परिणामपछि मुख्यमन्त्रीको दाबी गर्ने सम्भावना उत्तिकै छ। यो कुरा अहिलेदेखि नै माओवादीका नेताहरुले चर्चा गरिरहेका छन्। 

यसअघि माओवादीको तर्फबाट संसदीय दलका नेता हरिबहादुर चुमान अहिले पनि प्रदेशमा चुनाव लडिरहेका छन्। माओवादीले दाबी गरे उनी स्वभाविक मुख्यमन्त्रीका दाबेदार हुन्।

एमाले संसदीय दलका नेता पृथ्वीसुब्बाको सरकार ढलेपछि उनले पनि मुख्यमन्त्रीमा दाबेदारी पेश गरेका थिए।

तर अन्तिममा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपाली मुख्यमन्त्री बने। मुख्यमन्त्रीका रुपमा काम गर्न आफू सक्षम र इच्छुक रहेको उनले लुकाएका छैनन्।  

एमालेले गण्डकीका ३६ निर्वाचन क्षेत्रमध्ये ३४ वटाबाट उम्मेदवारी दिएको छ। मनाङको ‘ख’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई छाडेको एमालेले बागलुङ क्षेत्र २ ‘क’मा स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश घर्तीलाई सघाएको छ।

२०७४ सालको चुनावमा एमाले-माओवादी गठबन्धन हुँदा प्रत्यक्षतर्फ एमालेले १०, कांग्रेसले ६, माओवादीले ३ , नयाँशक्ति १ र जनमोर्चाले २ सिट जितेका थिए।  

यो पटक माओवादी केन्द्रले पर्वतको क, म्याग्दीका दुवै, नवलपुर २ को क, स्याङ्जा १ को क, गोरखा, कास्कीको ३, तनहुँको २ लिएको छ।

गोरखा २ 'क' डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई गएको छ। नवलपुर २ 'ख' माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पोल्टामा परेको छ।

समग्रमा गठबन्धनमा माओवादीले १३ सिटमा प्रत्यक्ष चुनाव लडेको छ। कांग्रेस २१ ठाउँ लिएर प्रत्यक्ष चुनावमा होमिएको छ। 

गठबन्धन कसिलो भए मुस्ताङबाहेक सबै निर्वाचन क्षेत्रमा कांग्रेस-माओवादीका उम्मेदवार  बलियो देखिएका छन्।

तर, एमालेले हार मानेको छैन। गठबन्धनलाई कमजोर बनाउँदै उनीहरुकै मत चोर्ने एमालेको अभियान छ।

समानुपातिकमा आफ्नो मत नघट्ने र प्रत्यक्षतर्फ पनि २२ सिट जित्ने दाबीसहित चुनावमा होमिएको एमालेले २०७४ सालको चुनावमा समानुपातिकतर्फ ३ लाख ७३ हजार ५०१ मत ल्याएको थियो।

त्यसबेला कांग्रेसले ३ लाख ६४ हजार ७९७, माओवादीले १ लाख १९ हजार ५२८, नयाँ शक्ति नेपालले २४ हजार ६२४, राष्ट्रिय जनमोर्चाले १६ हजार ५९२ र राप्रपाले १५ हजार ६४९ मत प्राप्त गरेका थिए।

सिट बाँडफाटमा कांग्रेस र एमालेले ९–९, माओवादीले ३, जनमोर्चाले १ र नयाँशक्तिले २ सिट पाएका थिए। उम्मेदवारहरुले घरदैलो अभियान सुरु गरिसकेका छन्।

भनेजस्तै भयो भने, आउँदो मंसिर ४ गतेपछि संघीय मन्त्री र सांसद रहिसकेका खगराज अधिकारी प्रदेशसभामा देखिने छन्। राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई पनि गण्डकी प्रदेशसभामा देख्न पाइने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .