बिरालो मर्नु खासै ठूलो कुरो होइन।
तर अर्थर नामको बिरालोले भने मरिसकेपछि पनि यतिबेला साहसी, नायक, बहादुरजस्तो उपमा पाएको छ।
कारण यस बिरालोले दुई बच्चालाई सर्पको आक्रमणबाट जोगायो।
अस्ट्रेलियाको नाइन न्युजका अनुसार क्युन्सल्यान्डस्थित सनसाइन कोस्टमा रहेको घरमा हालै एउटा विषालु सर्प प्रवेश गरेको थियो।
त्यसबेला त्यस घरका दुई बच्चा खेलिरहेका थिए। बच्चा खेलिरहेको स्थानमा विषालु इस्टर्न ब्राउन सर्प आइपुगेको थियो।
अर्थरले सर्पलाई देखेपछि त्यसलाई झम्टिएर मार्यो। तर बिरालोलाई पनि सर्पले टोक्न भ्यायो।
त्यहाँको पशु आपतकालीन सेवाका अनुसार उक्त घटनापछि उनीहरुलाई खबर गरिएको थियो।
उनीहरुका अनुसार घटनाको दिन बिरालोको अवस्था सामान्य थियो। बिरालाेलाई सर्पले टोक्यो भनेर कसैले थाहा पाएनन्।
अर्थर
तर जब भोलिपल्ट बिहान भयो। परिवारले बिरालोलाई बिरामी देखे। त्यसपछि तत्काल उनीहरुले अर्थरलाई पशु अस्पतालमा लगेका थिए।
तर सर्पको विष शरीरभर फैलिएकाले उक्त बिरालोको मृत्यु भयो।
यतिबेला यो समाचार बाहिरिएपछि अर्थरको निकै प्रशंसा भइरहेको छ।
मरेर भएपनि बच्चाको ज्यान जोगाएकोमा आफूहरु बिरालोप्रति आभारी भएको तर बिरालो मारेकोमा आफूहरु दुःखी भएको उक्त परिवारले बताएको छ।
बिरालो त्यहाँ नभएको भए सर्पले आफ्नो बच्चाहरुलाई डस्ने उनीहरुको भनाइ छ।
सन्तानको ज्यान जोगाउने बिरालो अर्थरलाई आफूहरुले सँधै सम्झिरहने उनीहरुको भनाइ छ।
Shares

प्रतिक्रिया