चीनका २९ वर्षीय एक युवकले काम नगरी 'रिल्याक्स' जिन्दगी बाँच्ने प्रण गर्दै पालमुनिको बास रोजेका छन्।
कम्पनीको जागिर छाडेर उनले आफ्नो सबै सम्पत्ति पनि बेचेर एक पार्किङस्थलमा पालमुनि बस्न सुरु गरेका हुन्। ली सु नामका ती युवक सिचुवान प्रान्तको एक कम्पनीमा जागिर गर्थे।
दैनिक एकै किसिमको घिटिपिटी जिन्दगीदेखि बिरक्तिएर उनले काम नगरी बाँच्ने योजना बनाए। जागिर छाडेर बचत रकमबाट बाँच्न सुरु गरे।
खर्च कटौती गरे। तर अपार्टमेन्टको भाडा तिर्नपर्दा चाँडै बचत रकम सिद्धिने भन्दै उनले सडकमै बस्ने योजना बनाए। त्यसपछि आफ्नो सबै सम्पत्ति बेचेर उनले पार्किङमा पाल टाँगेर बस्न सुरु गरेका हुन्।
७ महिनादेखि पार्किङ क्षेत्रमै पाल टाँगेर बसेका उनले त्यहीँ बाँकी जीवनयापन गर्ने सोच बनाएको बताएका छन्।
'यो मेरो छनोट हो,' उनले भनेका छन्, 'जब तपाईं अपूर्ण काम छाड्नुहुन्छ, विस्तारै शान्ति महसुस गर्नुहुन्छ। अहिले म एकदमै हलुंगो महसुस गरिरहेको छु।'
चिनियाँ पत्रकारसँग उनले आफू जागिर खान योग्य भएको र साथीहरूले पनि सहयोग गर्न खोजिरहेको भए पनि आफू सडकमै सामान्य जीवनयापन गर्ने सोचमा रहेको बताएका छन्। उनी कहिलेकाहीँ आफूसँग भएको स्टोभमा बिफ पनि पकाउँछन्। भन्छन्, 'यो पाल मसँग भएको मेरो सबैभन्दा महँगो सम्पत्ति हो।'
उनीसँग भएको सेकेन्ड ह्यान्ड पालको मूल्य ४ सय युयान रहेको छ, जसको नेपाली रूपैयाँ ७ हजार ५०० हुन आउँछ।
प्रतिक्रिया