ad ad

रोचक


हिरोसिमामा आणविक बमले पनि नढालेको भवन भत्काइँदै

हिरोसिमामा आणविक बमले पनि नढालेको भवन भत्काइँदै

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ९:४१,

जापानको हिरोसिमामा सन् १९४५ मा अमेरिकाले आणविक बम खसाउँदा पनि नभत्केका दुई पुराना भवन सरकारले भत्काउने भएको छ।

यी दुई भवन सन् १९१३ मा बनाइएका थिए। पहिले यसलाई सैन्य बर्दी उत्पादन कारखानाको रुपमा प्रयोग गरिएको थियो। पछि छात्रावास पनि बनाइएको थियो।

बम पड्केको बेलामा भने यसलाई अस्पतालको रुपमा प्रयोग गरिएको थियो।

हिरोसिमामा पड्काइएको आणविक बमका कारण तत्काल ८० हजार जनाको ज्यान गएको थियो भने ३५ हजार घाइते भएका थिए। बम विस्फोटसँग सम्बन्धित रोगका कारण ज्यान गुमाउनेको संख्या समेत जोड्दा जम्मा एक लाख ४० हजारको मृत्यु भएको थियो।

hiroshima34.jpg

बमले लगभग पूरै सहर ध्वस्त बनाएको थियो। बम खसाइएको ठाउँबाट ५ किलोमिटर वरिपरि मात्र ८५ भवन बचेका थिए। यी भवन विशेष कंक्रिटबाट बनेकाले ध्वस्त भएका थिएनन्। यी भवनमा बम विस्फोटका बेला पुगेको सामान्य क्षति अझै पनि देख्न सकिन्छ।

सन् २०१७ मा परीक्षण गरी हेर्दा यी भवन ठूलो भूकम्प आए भत्किन सक्ने देखिएको थियो।

त्यसैले स्थानीय सरकारले २०२२ सम्ममा तिनलाई भत्काउने निर्णय गरेको थियो। त्यसैले सार्वजनिक स्वामित्वमा रहेका भवन अहिले सर्वसाधारणका लागि खुला गरिएको छ।

सँगैको तेस्रो भवन भने संरक्षण गरिने अधिकारीहरुले बताएका छन्।

स्थानीयले भने ती घर भत्काउन नहुने, बरु मेमोरियलको रुपमा संरक्षण गरिनुपर्ने माग राख्दै आएका छन्।

hiroshima12.jpg
हिरोसिमामा बम विस्फोटमा बचेको सबैभन्दा प्रसिद्ध मेमोरियल गेन्बाकु गुम्बज हो, जुन विश्व सम्पदा सूचीमा समेत छ।

इवाओ नाकानिसी सहरमा बम पड्किँदा तिनैमध्ये एक घरभित्र थिए। ८९ वर्ष पुगेका उनी ती भवनको संरक्षण हुनुपर्ने बताउँछन्।

‘यसको ऐतिहासिक महत्वलाई हेर्ने हो भने भवन भत्काउने निर्णयलाई हामी कदापि स्वीकार्न सक्दैनौँ। त्यो दुःखान्तबारे भविष्यको पुस्तालाई बताउन यी भवन काम लाग्छन्,’ उनी भन्छन्।

यी भवन आणविक हतियार नष्ट गर्ने मागलाई प्रबद्र्धन गर्न उपयोग हुने नाकानिसीको भनाइ छ। बीबीसी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .