कला


गढवा कला केन्द्र पञ्चेबाजा संरक्षणमा सक्रिय

गढवा कला केन्द्र पञ्चेबाजा संरक्षणमा सक्रिय

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार १३:४५, दाङ

नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ। दाङ जिल्लाको गढवा गाउँपालिका-६ परिचोकस्थित गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको हो।

पछिल्लो समय जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रम, भेला तथा सम्मेलनमा पञ्चेबाजा बजाउन केन्द्रका प्रतिनिधि सहभागी हुन थालेका केन्द्रका अध्यक्ष दयाराम थापाले बताए। परम्परागत महत्व बोकेको पञ्चेबाजा संरक्षण र प्रवर्द्धन गर्दै युवापुस्तामा सीप र कला हस्तान्तरण गर्ने उद्देश्यले बाजा संरक्षण अभियानमा जुटेको उनले उल्लेख गरे।

जिल्लामा आयोजना हुने प्रायः विवाह, व्रतबन्ध, चौरासी, विभिन्न सभासमारोहमा बाजा बजाउने जनशक्ति अभाव हुन थालेपछि केन्द्रको सक्रियतामा सीप सिकेर अभियान सञ्चालनमा ल्याइएको अध्यक्ष थापाले जानकारी दिए। यसले युवामा चासो बढ्नुका साथै कला नयाँ पुस्तामा हस्तान्त्रण समेत हुन थालेको उनको भनाइ छ।

‘केन्द्रमा सबै उमेर समूहका व्यक्तिहरु आवद्ध भएका यसले नयाँ पुस्तालाई बाजा बजाउन सीप प्रदान गर्नुका साथै कला, संस्कृति संरक्षण हुने विश्वास लिएका छौं’, अध्यक्ष थापाले भने, ‘सबैले सहयोग गरिरहनुभएकाले पनि हामी सक्रिय भउर बाजा संरक्षण र प्रवर्द्धन अभियानमा जुटेका हौँ।’

लोप हुन लागेको परम्परा बोकेको पञ्चेबाजा संरक्षणमा स्थानीय युवा पनि सक्रियाताका साथ जुटेको देख्दा खुसी लागेको ६३ वर्षीय थापाको भनाइ छ। बुढेसकालमा अरु गर्न नसके पनि आफूले जानेको सीप युवालाई सिकाउँदै बाजा संरक्षण, परम्परा जगेर्नाका साथै आयआर्जनमा पनि सहयोग पुगेको उनले बताए।

गढवा–६ बालापुर निवासी अध्यक्ष थापाले विसं २०७६ देखि स्थापना भएको पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्रले अहिले पनि सक्रियताका साथ अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिए। ‘पहिला मादल पनि बजाउन आउँदैनथ्यो, विस्तारै सबै सिक्दै जानेको हुँ’, उनले भने,  ‘यहाँका ज्येष्ठ नागरिकको पहलमा बाजा बजाउन लागेका छौँ, यसले समाजमा सकारात्मक सन्देश दिने अपेक्षा छ।’

पञ्चेबाजा बजाउनकै लागि केन्द्रका प्रतिनिधि दाङसहित काठमाडौँ, बर्दिया, चितवनलगायत अन्य जिल्लाहरुमा पनि जाने गरेको केन्द्रका अध्यक्ष थापाले अनुभव सुनाए।

गढवा–६ का ओमप्रसाद आचार्यले बुढापाकाले सञ्चालन गरेको पञ्चेबाजा संरक्षण अभियानमा युवापुस्ताले पनि सहयोग गर्दै आएका बताए । समूहमार्फत काम गर्दै आएकाले यसले पुस्ताहस्तान्त्रण हुँदै गएको उनको बुझाइ छ । ‘कहिलेकाही पञ्चेबाजाको माग धेरै ठाउँबाट एकै पटक आउने गरेको भन्दै आचार्यले पहिलोपटक हेर्न आउनेले ब्राह्मणले बाजा बजाएको देखेर अनौठो मान्नुहुन्छ’, उनले भने।

केन्द्रका सदस्य माधवी नेपालीले समूहका ज्येष्ठ नागरिकबाट पञ्चेबाजा बजाउन सिकेको भन्दै उनीहरुसँग विभिन्न कार्यक्रममा सहभागी भएर आम्दानी पनि गर्दै आएको बताए । तेइस वर्षीय नेपालीले आफूले सिकेको सीप भाइबहिनीहरुलाई पनि सिकाएर पञ्चेबाजा पुस्तान्तरण अभियानलाई निरन्तरता दिने उल्लेख गरे।

गढवा-६ हासिँपुरका थानेश्वर आचार्यले लोप भएको बावालाई संरक्षण गर्न अभियान सुरु गरेको बताए। केन्द्रका सदस्यसमेत रहेका उनले सुरुमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत रु दुई लाखको बजेटमा पञ्चेबाजा बजाउने तालिम लिएको जानकारी दिए।

उनका अनुसार उक्त तालिममा १२ जना स्थानीयको सहभागिता थियो। स्थानीय सरकारले परम्परागत कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सीप विकाससम्बन्धी तालिम, अनुदानलगायत व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।

केन्द्रका सदस्य चुडामणी खनालले बाजा बजाएबापत समूहले जिल्लाभित्र एक पटकको  २५ हजार र जिल्ला बाहिर जाँदा ३० हजार लिने गरेको जानकारी दिए। उक्त रकममध्ये पाँच हजार कोषमा जम्मा गर्ने र बाँकी बाजा बजाउने समूहका सदस्यले पारिश्रमिकस्वरुप लिने गरेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad