कला


सुदीप चौलागाईंको कविताः एक मृतकको बकपत्र

सुदीप चौलागाईंको कविताः एक मृतकको बकपत्र

सुदीप चौलागाईं
भदौ ७, २०७६ शनिबार ९:४०,

म त्यो सन्नाटा बस्तीमा जाँदैछु
जहाँ मेरो भेट ती मुर्कुट्टासँग हुनेछ
सबै ती मृत्युबाट हारेका जीवन हुनेछन्
म मरेकै हुनेछु
मलाई मार्न जीवन हुने छैन

म जन्मिएँ, जन्मिँदै मरेथेँ
जन्मनु नै मृत्युको सुरुवात रहेछ
जीवन जीवन होइन
न्वारन गर्नु नै घाटमा ठाउँ सुरक्षित गर्नु रहेछ

अल्पबिरामबाट सुरु भएको जिन्दगी
पूर्णबिराममा गएर अड्कियो
चट्टानजस्ता बोझहरुसमेत
अवशेष भएको छ
खोलाको चौतर्फी बेग आज स्थिर भएको छ
मडारिँदै तहसनहस
राक्षशी रुप धारण गर्ने हावाको झोका
आज दक्षिण फर्केको कोठा जस्तै भएको छ

जीवनकै लागि खोस्टा बचाएँ
खोस्टाले जीवनलाई बचाएन
खरानी मेरो कमाई रहेछ
फोहोरले आफ्नो औकात कहिले बनाएन

हिसाब लगाउँदै अब यति तिर्न बाँकी रह्यो
भन्दै आंैला भाँच्नेहरुसमेत भाटो भाँच्नतिर लागिपरे।
बाससँगै खोज्दै होलान् तामाजस्तो गणित

जलाउनु नै रैछ, जल्नु नै रैछ
र त सजाइदिएँ मेरो दुर्गतिलाई
अनि लगाइदिएँ प्रगतिको पुल्ठो (आगो)
देखाइदिएँ बाटो, भेटाइदिएँ गन्तव्य

छोरोको फिस तिर्न नसक्दा
बाउ हुनुबाट भाँसिए
गरिबीसँगै फेदै लार टाँसिए
मेरो छोरो तँलार्इं हड्डी घोटेर पढाएको हुँ
खिएको हड्डीको चन्दन तँलाईं कसरी लाईदिऊँ
फिससँगै पिसपिस भएको छाती
न बाहिरबाट कसैले देखे न मैले भित्रबाट देखाउन सकेँ

वचनको बाणले
खण्ड मुटुलाई छन्द–छन्द बनाइ दिनेहरु समेत
सहानुभूतिको आँसुले पापी मन पखालिरहे
बाटामा हिँड्दा छिमेकी र साथी त दूर
ढुंगाले पनि मुन्टो बटार्दा
ओजनदार शरीरको थुप्रोले
आफैंलाई किच्याउँदा अब ऐय्या भन्नू नपर्ने भएको छ
मेरो डोब बाटामा नपरोस् अलच्छिन लाग्छ
भन्ने कहीँ कतैबाट सुन्दा जुत्ताले पैताला ढागेको हुँ
त्यो जुत्ता छ म छैन

गोजीमा दुईचार जोर लक्ष्य
अनि मुठ्ठिभरी आत्मविश्वाको पोकोलाई
अब खोलिरह नै परेन
सपनाको सिरक ओडेर कल्पनाको सिरानीमा
लायक बाउको नालायक
लाचारीको पराकाष्ठ ओछ्यानमा पल्टिँदा
खाटले उठ भन्न अब पाउँदैन

बुढा बा–आमाको कोखको बारीमा
कमजोर मुटु भएको बिउले उम्रन पाउँदैन
सकेन मुटु चौडापारी जिन्दगीको सिँचाई गर्न
छोरो तै होस् हाम्रो बुढेसकालको साहारा भन्थे
सारा हारेर केही नभए नि केही न केही छाडेको छु
म मर्नु नै त बचाई राख्नु थियो त्यही दिएको छु

प्यारीले लाउने मेरो अपवित्र
नामको सिन्दुर अब पवित्र बन्नेछ
घुमाउन लग्नु भन्थी
दिन ढलेसँगै बिर्सनु नै पथ्र्यो बिर्संदै जान्थी
साँझ पर्दै जान्थ्यो अनि बोरा टक्टक्याउँदै जान्थी
भोकभन्दा ठूलो धर्म केही नहुने रैछ
खाली पेट रहरले पनि नजन्मिँदै आत्महत्या गर्दो रैछ
बाँचे सँगै बाँच्छौ अनि मरे सँगै
भन्दै अनेकथरी वाचा बन्धन
पट्याक पट्याक
गरी पड्कँदै रापसँगै बिदा भएका छन्

प्यारी हिजो ल्याएथेँ भुर्इं पोलेर
आज जाँदैछु आफैँ पोलिएर
कट्टाने खोला हुनु तिमी, नबस्नु जमेर
जहाँ बग्छौ बगिजानु बाटो बनेर

सारा रोइकराई गरिरहेछन्
तर, आखिर किन मरेपछि?
सायद केही पाउन केही गुमाउँनै पर्छ
परिवारले मलाई गुमायो तर मैले कसैलाई गुमाइन
म महान् छु
मैले जिन्दगीलाई जिन्दगीले गुमाउन नपाउँदै गुमाइदिए
मैले मृत्युलाई जितेको छु तर जीवनले जहिले हारिरह्यो
म मरे पनि परिवार मेरो बाँचिरहोस्
लास त हाँसिदे
हेर त म कति खुसी भएको छु
मेरो खुसीमा बाटोजस्तै सेता दात झिकी
दाउरा माझबाट डिच्च हाँसिदे!

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .