कविता : मेरो विद्रोहले समाज बिगार्यो!
म ‘सहनुपर्ने’ दमाईं
म ‘दबिनुपर्ने’ कामी
म ‘मिल्नुपर्ने’ सार्की
म ‘केनैभयो’ बादी
म ‘बिस्तारैहट्छ’ डोम।
यो समाज मिलाउने ठेक्का हाम्रो हो!
हामी चुपचाप बस्नुपर्छ
देखेर पनि नदेखेझैं गर्नुपर्छ
दुःखलाई लुकाउनुपर्छ
आँसु पुछेर हाँस्नुपर्छ
भोगाइ भुलेर रम्नुपर्छ
गालीगलोज सहजै स्वीकार्नुपर्छ
अझ यसलाई आशीर्वाद सम्झनुपर्छ
समाजको अर्ती उपदेश भन्नुपर्छ
थिचोमिचो अत्याचार अन्याय सहनुपर्छ
बिस्तारै हट्छ भनेर मन बुझाउनुपर्छ
नत्र, यो समाज भाँडिन्छ
सदभाव भाइचारा मेलमिलाप भत्किन्छ
सदियौंदेखि मिलेको समाज टुक्रिन्छ।
यो समाजका मान्छेको मन राख्ने काम हाम्रो हो!
मेरो आवाजले धेरैको मन दुख्छ
मेरो विचारले विचलन ल्याउँछ
मेरो विद्रोहले विवेकहीनता देखाउँछ
मेरो वेदनाले बदनाम बनाउँछ
मेरो र कानुनको जितले सत्यता मासिन्छ
मेरो पीडाले धेरैलाई शान्ति मिल्छ
मेरा रुवाइले, भोगाइले मान्छेलाई मजा दिन्छ
यस्तै गर्नुपर्छ, सिक्नुपर्छ, सहनुपर्छ
चुपचाप डर-त्रासलाई यस्तै त हो भन्नुपर्छ
अनि यो समाज मिल्छ, एक हुन्छ
मान्छे खुसी हुन्छन्
नत्र समाजको सत्यानास हुन्छ।
यो समाज सुधार्ने जिम्मा हाम्रो हो!
मेरो विद्रोहले आज समाज बिगार्यो
पहिला यो समाज स्वर्ग थियो
मैले जदौ मालिक भन्नुन्जेल समाज ठीक थियो
मैले आँगनको डिलमा खाँदा सब ठीकठाक थियो
छेउको धारो भुलेर कोस हिँडेर पानी थाप्दासम्म राम्रो थियो
मेरो एक मुठ्ठी माटो थिएन तब सब सही थियो
जब मेरा लागि स्कुल शत्रु थियो तब असल थियो
मेरो केही नहुनु यिनका लागि सब थियो
मेरो हार यिनको जित थियो
यिनको सेवा गरुन्जेल सब मिलेको थियो
तब समाज सुध्रेको थियो, एक थियो।
आज एकाएक मैले समाज बिगारें!
जब म पढ्न थालें, बोल्न थालेँ
ठीक बेठीक बुझ्न थालेँ
यो होइन, यो हो भन्न सुरु गरेँ
यो अन्याय हो, यो अत्याचार हो भन्न थालेँ
विद्रोह कसरी हुन्छ त्यो सिक्न थालेँ
तब समाज, सदभाव, सत्य सब हल्लिन थाल्यो
बिग्रिन थाल्यो, भत्किन थाल्यो
समाज टुक्रिन थाल्यो।
अब म यो समाज बचाउँछु!
चुपचाप बस्छु
विभेद सहन्छु
डर मान्छु
पर बस्छु
मृत्यु सहज स्वीकार्छु
बलात्कारलाई नजरअन्दाज गर्छु
दलित मर्दा के हुन्छ र
विभेद सहँदा के हुन्छ र
यो त बिस्तारै हट्छ
यो सब मान्छु, अझ ठीक भन्छु
कसरी हुन्छ समाजलाई खुसी दिन्छु
अनि यो समाज एक हुन्छ
सब बराबर हुन्छन्
मान्छे खुसी हुन्छन्
यिनको धर्म-संस्कार चल्छ
आरक्षण जोगिन्छ
विभेद पन्छिन्छ।
अनि समाजमा सदभाव कायम हुन्छ!
Shares

प्रतिक्रिया