लेखक नयनराज पाण्डेको नयाँ किताव ‘जियरा’ सोमबारबाट बजारमा आएको छ। गत चैतमै पुस्तक बजारमा पठाउने तयारी रहेको भए पनि कोरोना महामारीका कारण रोकिएको थियो।
पाठकलाई नयाँ फ्लेबर दिन फाइनप्रिन्टले पाण्डेको नयाँ कृति ‘जियरा’ बजारमा ल्याएको जनाएको छ। निषेधाज्ञाका कारण कुनै सार्वजनिक कार्यक्रम नगरी पुस्तक बजार पठाइएको हो।
यस सङ्ग्रहमा पाण्डेले पछिल्लो समयमा लेखेका १३ ओटा लामा कथा समावेश छन्।
‘जति किताब लेखिसके पनि आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा लेखक उत्साहित नै हुन्छ, म पनि उत्साहित छु,’ लेखक पाण्डेले भने, ‘यो उत्साहमा पाठकको प्रतिक्रिया बुझ्ने मेरो हुटहुटी पनि मिश्रित छ। मैले एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक र बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले आख्यानको एउटा बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको छु।'
‘जियरा’मा संग्रहित कथा पढ्दा पाठक एकसाथ यथार्थ र स्वप्नमय संसारमा पुग्ने उनको भनाइ छ।
मधेसको पृष्ठभूमिमा लेखिएका कथाहरूको सङ्ग्र्रह ‘जियरा’मा लेखक पाण्डेले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक् र प्रयोगमूलक शैली अपनाएका छन्।
जादुयी यथार्थवादी कथाहरूको मानक बनेर आएको पाण्डेको सङ्ग्रह पुँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना रहेको प्रकाशन गृह फाइनप्रिन्टका अजित बरालले बताए।
पुस्तकको मूल्य ४७५ रुपैयाँ रहेको छ।
Shares

प्रतिक्रिया