आईएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण यही पुस १४ र १५ गते भर्चुअल रूपमा पोखरामा आयोजना हुने भएको छ।
शनिबार आयोजक संस्था बुकवर्म फाउन्डेसनले पोखरामा पत्रकार सम्मेलन गरी फेस्टिभलबारे जानकारी दिएको हो। फेस्टिभलको पूर्वसन्ध्यामा पुस १३ गते भने शुभारम्भ साँझ हुनेछ। उक्त साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ।
फेस्टिभलको यो संस्करणमा १६ सेसन र ४० जनाभन्दा बढी वक्ता रहने र सबै सत्रहरू भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति नरहने बताइएको छ। फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवम् फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुनेछन्। नवौं संस्करणको फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्व वक्ताका रूपमा रहन आयोजकले जनाएको छ।
फेस्टिभलका निर्देशक अजित बरालले कोभिड कहरका कारण लामो समयसम्म आफूहरू फेस्टिभलको नवौं संस्करण आयोजना गर्ने कि नगर्ने भन्ने अन्योलमा रहेको बताए। ‘भर्चुअल रूपमै भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने आवाज उठेपछि फेस्टिभल आयोजनामा हामी जुटेका हौं’, पत्रकार सम्मलेनमा बरालले भने।
फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले पनि कोभिड–१९ को संक्रमणकालीन समयमा भौतिक रूपमा फेस्टिभल आयोजना गर्न आफूहरू असमर्थ भएको बताए। भर्चुअल रूपमै भए पनि फेस्टिभललाई निरन्तरता दिनुपर्छ भन्ने लागेर आफूहरू अघि बढेको उनको भनाइ छ।
‘भौतिक रुपमा दर्शक एवम् श्रोताको उपस्थितिमा फेस्टिभल आयोजना गर्ने धोको थियो,’ उनले भने, ‘तर, कोभिडको बढ्दो संक्रमण र सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपरेकाले त्यो सम्भव भएन।’
यसैगरी सहआयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यका माध्यमबाट पोखरालाई चिनाउनु फेस्टिभल र आफूहरुको प्रयास रहेको बताए। ‘पोखरा माछापुच्छ«ेले चिनिन्छ। फेवातालले चिनिन्छ,’ उनले भने, ‘अहिले आएर साहित्यले पनि चिनिन थालेको छ। फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने नै हो।’
फेस्टिभल आयोजक संस्थाकी सदस्य अनीकर्माले भनिन्, ‘आइएमई नेपाल लिटरेचर फेस्टिभलसँग मेरो धेरै पुरानो नाता छ। म आबद्ध बुक क्लब, ह्वाट द बुक क्लबको स्थापनाको श्रेय पनि आईएमई नेपाल लिटरेचर फेस्टिभललाई नै जान्छ। किनकि यही एक मात्र साहित्यिक जमघटका कारण हामीले हालको समयमा पोखरेली युवाहरूमा पठन संस्कृति विकास गर्न सफल भएका छौं।’
आईएमई नेपाल लिटरेचर फेस्टिभलजस्ता कार्यक्रमले युवाहरूलाई साहित्यप्रति जागरुक गराएको उनको भनाइ छ। ‘यसले एकै छानामुनि आफूलाई मनपर्ने साहित्यकार एवम् कलाकार र विशिष्ट व्यक्तित्वसँग भेट गर्ने अवसर जुराउँछ,’ उनले भनिन्, ‘हाल कोभिड–१९ का कारण यो अवसर जुट्न नसके पनि हामी यो वर्ष देश तथा विदेशमा रहेका साहित्यप्रेमी तथा शुभचिन्तकसँग युट्युब लाइभबाट जोडिनेछौं।’
सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको लिटरेचर फेस्टिभल नवौं संस्करणसम्म आइपुग्दा यसले ठूलो उचाइ हासिल गरिसकेको छ। ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजको अनुभव छ ।
साहित्य र संवादलाई एकैसाथ प्रवद्र्धन गरिरहेको महोत्सवले पोखरामा पर्यटनको सम्भावनालाई समेत ऊर्जा दिइरहेको आयोजकले बताएको छ।
दुई वर्षदेखि फेस्टिभललाई व्यावसायिक ग्रुप आईएमईले प्रायोजन गरेसँगै महोत्सवको नाम (आईएमई नेपाल लिटरेचर फेस्टिभल) मात्र नभई थप उत्साह र ऊर्जा पनि थपिएको आईएमई ग्रुपले जनाएको छ।
Shares

प्रतिक्रिया