निर्माता छविराज ओझा र शिल्पा पोखरेलविरुद्ध बहुविवाहको जाहेरी दर्ता भएकाे छ।
छवीकी पत्नी हेमाले प्रहरी परिसर काठमाडाैंकाे महिला सेल कालिमाटीमा बहुविवाहकाे जाहेरी दरखास्त दिएकी हुन्। प्रहरीले जाहेरी लिएकाे छ। जाहेरी रूजुपछि कानून अनुसार थप कारबाही अघि बढाउने तयारीमा प्रहरी छ।
हेमाले आफूसँग सम्बन्ध बिच्छेद नगरी बहुविवाह गरेकाे भन्दै छवी र शिल्पाविरुद्ध जाहेरी दिएकी परिसरका प्रवक्ता डिएसपी हाेविन्द्र बाेगटीले बताए।
मुलुकी अपराध संहिता, २०७४ काे परिच्छेद –११ अनुसार बहुविवाह कसुर ठहर भएमा छबी र शिल्पालाइ एकवर्ष देखि पाँच वर्षसम्म कैद हुन सक्नेछ।
हेमा छविकी पहिलो श्रीमती हुन्। छवी र हेमाबीच २०३७ मा विवाह भएकाे थियाे। सम्बन्धमा दरार आएपछि सम्बन्धविच्छेद नगरी अंगबन्डा गरेर बसेका थिए।
छविले यसबीचमा गीताञ्जली, रेखा थापा र शिल्पा पोखरेलसँग बिहे गरे। गीताञ्जलीको निधन भइसकेको छ भने रेखा थापासँग उनले सम्बन्धविच्छेद गरेका छन्।
नयाँ संहिता अनुसार बहुविवाहमा यस्ताे कानुनी व्यवस्था छ:
१७५. वहुविवाह गर्न नहुनेः (१) विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन। (२) कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नु हुँदैन। (३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पति पत्नीले कानून बमोजिम अंशवण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछ।
(४) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ। (५) उपदफा (१) बमोजिमको विवाह स्वतः बदर हुनेछ। (६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिता लागू हुनुअघि तत्काल प्रचलित कानून बमोजिम भएको विवाहको हकमा यस दफामा लेखिएको कुनै कुराले असर पारेको मानिने छैन। १७६. हदम्यादः यस परिच्छेद अन्तर्गतको कसूरमा कसूर भए गरेको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।

प्रतिक्रिया