ad ad

कला


जब इन्द्रचोकमा विपिनलाई भरिया सम्झेर फ्रिज लगिदिन भनियो

जब इन्द्रचोकमा विपिनलाई भरिया सम्झेर फ्रिज लगिदिन भनियो

यज्ञराज जोशी
साउन २४, २०७७ शनिबार १०:२८,

काठमाडौंको पुरानो बजार इन्द्रचोक। यो भरियाहरुको कर्मथलो पनि हो। त्यही इन्द्रचोकमा टि–सर्टमाथि इस्टकोट, कट्टु, प्लास्टिकको चप्पल लगाएर नमिलेका कपालसहित नाम्लो बोकेर बसेका थिए, अभिनेता विपिन कार्की।

त्यतिबेलै एक जना उनकाे नजिक आएर सोधिहाले, ‘मेरो फ्रिज पुर्याईदिने हो?’

अभिनेता विपिन र त्यहाँ छायाँकन चलिरहेकोबारे अनजान ती व्यक्तिले आफूलाई साँच्चिकै भरिया ठान्दा विपिन मनमनै गदगद् भए। किनकि ‘रिल’मा उनले अभिनय गर्न लागेको पात्रलाई मान्छेले ‘रियल’ ठानेका थिए।

‘मेकअप गरेर म मन्दिर परिसरमा बसेको थिएँ। विभिन्न व्यक्तिहरु आएर कामकै अफर गर्नुभयो,’ विपिनले भने, ‘म अभिनय गरिरहेको पात्रलाई उहाँहरुले साँच्चिकै ठानेर कामका लागि बोलाउँदा निकै खुसी लाग्यो। मैले गरेको काम साकार भएजस्तो ठानेँ।’

त्यसदिन विपिनलाई फ्रिज बोक्नेमात्रै हैन, कपास लाने र थान कपडा थहिटीसम्म पुर्याइदिने प्रस्ताव पनि आएका थिए।

‘त्यहाँ भरियाहरु अरु पनि थिए। मानिसहरुले खै के ठानेर मलाई नै कामका लागि बोलाए,’ विपिनले थपे, ‘साँच्चिकै बोक्नुपरेको भए म सक्दिन थिएँ होला। काम दिने मान्छेहरुलाई अप्ठ्यारो नलागोस् भनेर म अभिनय गरिरहेको छु भनेर भनिन। बरु ज्याला बढी मागेर उहाँहरुलाई अरुकोमा जान बाध्य बनाएँ।’

No description available.

बिहीबारमात्रै सार्वजनिक भएको निकेश खड्का निर्देशित ‘डर छैन’ गीतको म्युजिक भिडियो छायांकन हुँदा अभिनेता विपिनले माथिको अनुभव भोग्नुपरेको थियो। सन्तोष लामाको स्वर, हरि लम्सालको संगीत, नारायण गौतमको शब्द रहेको यसै गीतको म्युजिक भिडियोमा विपिनले गरेको भरियाको जीवन्त अभिनय चर्चा सुरु भइसकेकाे छ।

म्युजिक भिडियोमा विपिनले दिनभर भारी बोकेर बिहान–बेलुका छाक टार्नुपरेको, पैसा अभावमा ग्यास सकिँदा भिजाएको चामल नुनसँग खाएको दृश्यले धेरैको मन छुन्छ। यस्तै सँगै काम गर्ने अर्का भरियाको निधनपछि दुःखमा सहभागी हुन नपाई काममै जानुपरेका पीडालाई पनि विपिनले ज्वलन्त रुपमा प्रस्तुत गरेका छन्।

काम नहुँदाको छटपटी
चैतमा सरकारले लकडाउन घोषणा गर्नुअघि विपिनलाई म्युजिक भिडियोमा काम गर्ने कुनै रुचि थिएन। म्युजिक भिडियोको प्रस्ताव गर्नेहरुलाई पनि उनले विभिन्न बाहना बनाएर टारिरहेका थिए।

‘म्युजिक भिडियोमा पनि फिल्मकै जत्तिकै मेहनत लगाउनुपर्छ। त्यतिकै मेहनत फिल्ममा लगायो भने आधा काम त भैसकेको हुन्छ,’ विपिन भन्छन्, ‘फिल्ममा जस्तो म्युजिक भिडियोमा संवाद नबोल्नु एउटा कुरा हो। तर, क्यारेक्टरमा काम गर्दा दुबैमा उत्तिकै इफोर्ट लगाउँनुपर्छ।’

अर्कातिर विपिनलाई फिल्मको पनि अभाव थिएन। चैत्र १० गतेबाट उनको नयाँ फिल्म ‘के घर के डेरा’ छायाङकनमा जाने तयारी थियो। तर, सुटिङमा जाने भनेको अर्कोदिनबाट लकडाउन घोषणा भयो। यो काम रोकिएसँगै गतवर्ष आएको ‘सेल्फी किङ’पछि उनी झण्डै एकवर्ष फुर्सदमा रहे।

No description available.

नियमित कलाकारितामा ब्यस्त विपिनलाई सरकारले पूर्ण लकडाउन गरेको झन्डै तीन महिना घरमै बस्दा निकै छटपटी हुन थाल्यो। सोच्दासोच्दै मनोगत समस्या नै आउँछ कि भन्ने सम्मको अनुभव उनको रह्यो।

‘सेल्फी किङपछि केही समय आराम गर्छु भनेर नयाँ काम लिएको थिइनँ। झण्डै एक वर्षपछि नयाँ फिल्म सुरु गर्न लाग्दा एक्कासी लकडाउन भयो,’ विपिन भन्छन्, ‘सधैँ काम गरिरहने मान्छेलाई लामो समय यसै बस्दा छटपटी हुँदोरहेछ। काम गर्न नपाएर आफैँलाई चिथारौंजस्तो जस्तो लागिसकेको थियो। अब जे भए पनि गरिदिऊँ, जे आएपनि खाइदिऊँ भन्ने लाग्न थाल्यो।’

म्युजिक भिडियोमा काम नगर्ने सोच बनाएका विपिनलाई यही सोचले पुनः म्युजिक भिडियोमा फर्काएको हो।

‘लकडाउन भएपछि यस्तो तनाव हुनथाल्यो कि अब जे भएपनि गर्नुपर्छ भन्ने लाग्यो,’ विपिनले थपे, ‘काम गर्न नपाएपछि दिमागमा धेरै कुरा आउँदो रहेछ। धेरै सोच्न थालेपछि मनोगत रोगै होला भन्ने चिन्ता पनि लाग्थ्यो। यसैले मेरो मनस्थिति पनि परिवर्तन गरिदियो।’

‘डर छैन’ले थपेको ऊर्जा
निर्देशक निकेश खड्काले यसअघि पनि विपिनलाई म्युजिक भिडियोका लागि प्रस्ताव गरिसकेका थिए। तर, उनले नखेल्ने भनेर कन्भिन्स गरेका थिए।

लकडाउन खुकुलो भएपछि पुनः निकेशले ‘डर छैन’ गीतको प्रस्ताव लिएर गए। यसपटक भने विपिनले सिधैँ फर्काएनन्। एकपटक गीत सुनौं न त भने। गीतका शब्दहरु चित्त बुझेपछि उनले ‘ग्रीन सिंग्नल’ दिए।

निकेशले तीनवटा स्क्रिप्ट तयार गरेर विपिनलाई दिएका थिए। दुबैबीचको छलफलपछि भरियाको कथा गर्ने तय भयो। तर, संक्रमणको जोखिम बढिरहेका बेला पब्लिक फिगर विपिनलाई लिएर व्यस्त इन्द्रचोकमा छायाङकन गर्नु कम्ता चुनौति थिएन।

‘कन्सेप्टलाई न्याय गर्ने स्थान नै त्यही भएकाले सुरक्षित भएर इन्द्रचोकमै काम गर्ने निधो भएको थियो,’ निकेश भन्छन्, ‘विपिन पब्लिक फिगर भएकोले भीडभाड होला भन्ने डर थियो। तर, उहाँ भरियाकै गेटअपमा बसेकाले होला धेरैले उहाँलाई भरिया नै ठाने, हामीले भीडभाडको सामना गर्नुपरेन।’

म्युजिक भिडियो सार्वजनिक भएको दुई दिनमै युटुयुबमा ३ लाख ६५ हजार बढीले उक्त गीत हेरिसकेका छन्। भिडियोमा आएका १६ सय बढी कमेन्टमा अधिकांशले विपिनको अभिनयको तारिफ गरेका छन्।

विपिनले पनि यो म्युजिक भिडियो बाहिर आएसँगै ऊर्जा थपिएको महसुस गरेका छन्। उनी भन्छन्, ‘सबैले निकै राम्रो प्रतिक्रियाहरु दिइरहनु भएको छ। तारिफ गरेर मलाई फुर्काइ दिनुभएको छ। यसले काम गर्ने ऊर्जा थपिएको महसुस गरेको छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .