साउन १ गते रिलिज हुने फिल्म ‘गौँथली’ को ट्रेलरलाई रूचाइएको छ। चार दिनअघि सार्वजनिक गरिएको ट्रेलर सिनेमातर्फ ट्रेन्डिङ चार्टको दोस्रो स्थानमा छ।
यो चलचित्रको बजारमा बढ्दो हाइप र ट्रेलरमा देखिएको भावनात्मक गहिराइले ‘गौँथली’ ले बक्सअफिसमा राम्रो व्यापार गर्ने संकेत देखाएको छ।
ट्रेलर हेरेर दर्शकले निकै मन छुने भन्दै व्यापारिक सफलताको शुभकामना दिइरहेका छन्। युट्युबमा ट्रेलर हेरेर अकेन्द्र ठकुरी लेख्छन्, ‘यो चलचित्रले पूर्णबहादुरको सारङ्गीको रेकर्ड तोड्नुपर्छ।’
‘पूर्णबहादुरको सारङ्गी’ नेपाली सिनेमा उद्योगमा हालसम्मकै सबैभन्दा धेरै पैसा कमाउने चलचित्र हो।
चलचित्र ‘गौँथली’ मा अटिजम भएको युवकको भूमिकामा रहेका अरुण क्षेत्री र उनको अपोजिटमा रहेकी सिम्रन खड्को अभिनयको धेरैले प्रशंसा गरिरहेका छन्। यससँगै उनीहरूले प्रचारका क्रममा गरेको मेहनतको पनि प्रशंसा भइरहेको छ।
ट्रेलरमा विशेषगरी अरुणको निर्दोषपन र सिम्रनले बिना कारण भोगिरहेको दुःखले दर्शकको मन जितिरहेको छ। अटिजमबाट पीडित युवकसँग भर्खरै विवाह गरेकी दुलहीले झेलिरहेको समस्या, उनले पढ्नका लागि गरेको संघर्ष, परम्परागत मान्यता र विश्वासमा अडिरहेको सोच र त्यसले भत्काइरहेको सुन्दर सपनाको प्रस्तुतिलाई दर्शकले मन पराइहेका छन्।
डा. कपिल रिजालको निर्देशन रहेको फिल्ममा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताको रूपमा रहेका छन्।
चलचित्रलाई हरि हुमागाईंले खिचेका छन्। मिलन श्रेष्ठले सम्पादन गरेका छन्। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ।
यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्। डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ।
‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि चलचित्र निर्माण गरेका थिए। उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ। ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो।
अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका हुन्।
Shares

प्रतिक्रिया