‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६’ अमेरिकाको मेरिल्यान्ड राज्यको सिल्भर स्प्रिङस्थित एएफआई सिल्भर थिएटरमा जुन २५ देखि २८ सम्म हुँदैछ। यसैबीच महोत्सवमा प्रदर्शन हुने फिल्महरूको सूची सार्वजनिक गरिएको छ।
महोत्सवको उद्घाटन नेपाली मूलकी भारतीय निर्देशक त्रिवेणी राई निर्देशित चलचित्र ‘सेप अफ मोमो’ (छोराजस्तो) प्रदर्शनबाट हुनेछ। अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा प्रशंसा पाएको उक्त चलचित्र जुन २८ मा रेड कार्पेट कार्यक्रमपछि प्रदर्शन गरिने छ।
यस्तै नानी सारा वाकर निर्देशित चलचित्र ‘शक्ति’ महोत्सवको समापन चलचित्रका रूपमा प्रदर्शन गरिने छ। नेपाल-अमेरिका फिल्म सोसाइटीद्वारा आयोजना हुने महोत्सवमा ११ देशका ३८ वटा फिचर चलचित्र तथा छोटा फिल्महरू देखाइने छ। प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिने छ।
महोत्सवका लागि आवेदन परेका चलचित्रहरूलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको हो। चलचित्र प्रदर्शनसँगै महोत्सवमा फिल्मकर्मीहरूसँग अन्तरक्रिया, राउन्डटेबल छलफल, चलचित्र निर्माणसम्बन्धी मास्टरक्लास तथा विभिन्न कार्यक्रमहरू सञ्चालन हुनेछन्।

प्रतिक्रिया