वसुन्धरा-मान प्रज्ञा-प्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने भएको छ।
प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीका अध्यक्षतामा आइतबार बसेको बैठकले चन्दलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उत्कृष्ट आधुनिक कथा, नाटक र निबन्धको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तथा गरिमामय बनाउन विशिष्ट योगदान पुर्याएकाले चन्दलाई पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ।
विश्व समुदायमा नेपाली भाषा र साहित्यको स्थान तथा पहिचान उच्च र अक्षुण्ण राख्न योगदान दिएकाले वरिष्ठ साहित्यकार चन्दलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका सदस्य-सचिव कृसु क्षेत्रीले बताए।
१९९७ सालमा बैतडीमा जन्मिएका वरिष्ठ साहित्यकार चन्द पूर्वप्रधानमन्त्री पनि हुन्। चन्दका ‘विसर्जन’, ‘हिउँको तन्ना’, ‘बाह्रौँ खेलाडी’, ‘अपराजिता’ र ‘नेताका साथी’लगायत कृति प्रकाशित छन्।
यसैगरी, प्रतिष्ठानको बैठकले यस वर्षको मानश्री पुरस्कार स्वामी आनन्द अरुणलाई प्रदान गर्ने निर्णय गरेको छ। नेपाल तथा विश्वका विभिन्न मुलुकमा योग, ध्यान र आध्यात्मिक दर्शन तथा साहित्यको विकास र विस्तारद्वारा नेपाली वाङ्मय तथा सभ्यताको उन्नयनमा महत्त्वपूर्ण योगदान दिएकाले स्वामी आनन्द अरुणलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका सदस्य-सचिव क्षेत्रीले बताए।
२००१ सालमा जनकपुरमा जन्मिएका आनन्द अरुणका ‘अन्तरयात्रा’, ‘सन्तगाथा’, ‘सन्तदर्शन’ र ‘अचम्म जे देखेँ मैले’ लगायतका कृति प्रकाशित छन्। आनन्द अरुणका कृतिहरू अङ्ग्रेजी, हिन्दी, जापानी र रुसी भाषामा समेत अनुदित छन्।
दुवै पुरस्कारको राशि जनही ७५ हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ।
Shares

प्रतिक्रिया