कला


चुनावका बेला विदेशमा कलाकार : एलिनादेखि सज्जनसम्म कन्सर्टमा व्यस्त

चुनावका बेला विदेशमा कलाकार : एलिनादेखि सज्जनसम्म कन्सर्टमा व्यस्त

लक्ष्मी बलायर
फागुन २०, २०८२ बुधबार १७:३०, काठमाडौँ

फागुन २१ गते हुने चुनावलाई लक्षित गरेर मौन अवधि सुरू भइसकेको छ। यही अवधिमा मंगलबार गायिका एलिना चौहानले मंगलबार एक स्टाटस लेखिन्।

हाल अस्ट्रेलियामा रहेकी उनले यसपटकको मतदानमा सहभागी हुन नसक्ने बताइन्।

‘देशप्रतिको माया प्रमाणित गर्न कसैलाई कराउन वा देखाउन पर्दैन। त्यो मनभित्रको कुरा हो। यसपटक म मतदानमा सहभागी हुन सकिनँ, किनकि धेरै अगाडि नै गरेका जिम्मेवारीहरू थिए। तर, त्यसले मेरो देशप्रतिको सोच, चासो र समर्थन कहिल्यै कम हुँदैन,’ उनले लेखेकी छिन्, ‘म जहाँ भए पनि, असल सोच र सही व्यक्तिको पक्षमा सधैँ उभिएको छु। हामी सबैको परिस्थिति फरक हुन्छ। बाहिरबाट देखिएको एउटा क्षणले कसैको देशप्रेम मापन गर्न मिल्दैन।’

खासमा एलिना सांगीतिक कार्यक्रमको लागि अस्ट्रेलिया पुगेकी हुन्। मार्च ७ मा सिड्नीमा होली मेलामा उनले प्रस्तुति दिनेछिन्।

हिमालयन हार्मोनिका आयोजक रहेको यस कार्यक्रममा दीपक बज्राचार्य पनि सहभागी हुनेछन्।

२१ गते हुने चुनावका लागि यतिखेर कलाकारहरू मतदान गर्न आफ्नो घर फर्किरहेका छन्। तर, एलिना र दीपकजस्तै केही कलाकारहरू भने चुनावको मुखैमा विदेशका कार्यक्रममा व्यस्त छन्। कार्यक्रम पूर्वनिर्धारित हुँदा उनीहरू चुनाव नजिकिँदा पनि विदेश जान बाध्य भएका हुन्।

‘झलिको’ गीतको चर्चासँगै गायक अर्जुन सापकोटा पनि होलीकै कार्यक्रमका लागि यतिखेर अस्ट्रेलियामा छन्। स्वदेशपछि अर्जुन ‘झलिको टुर’ लिएर फागुन १६ गतेदेखि विदेश यात्रामा निस्केका थिए। एडिलेडमा फागुन १६ र १७ गते पर्थमा उनले प्रस्तुति दिइसकेका छन्। एडिलेड नेपाल आईएनसीको आयोजना रहेको टुरमा अस्ट्रेलियाका अन्य स्थानमा समेत प्रस्तुति दिने कार्यक्रम तय भएको छ।

उनी नेपाल फर्किएर लगत्तै बहराइन जानेछन्, जहाँ इदको अवसरमा चैत ६ (मार्च २०) मा हुने कार्यक्रममा प्रस्तुति दिनेछन्। नेपाली नयाँ वर्षको अवसरमा उनी युरोप टुरमा निस्किनेछन्।

‘द भ्वइस अफ नेपाल ६’ का विजेता तथा गायक प्रोशेस पाण्डे पनि अस्ट्रेलियामा छन्। प्रोशेस सांगीतिक प्रस्तुतिको लागि अर्जुनसँगै अस्ट्रेलिया गएका हुन्।

त्यसैगरी, चर्चित गायक सुजन चापागाईं पनि यतिखेर विदेशकै कार्यक्रममा व्यस्त छन्। विगत एकडेढ महिनादेखि सुजन आफ्नो ब्यान्ड ‘सुजन चापागाईं एन्ड द इन्फिनिटी’ मार्फत युरोपका देशमा प्रस्तुति दिइरहेका छन्। जसमध्ये उनको ब्यान्ड फिनल्यान्ड, बेल्जियम, पेरिस, जर्मनी, डेनमार्क, पर्चुगलका नेपालीमाझ गुञ्जिसकेको छ। र, अन्य देशहरूमा पनि कार्यक्रम तय भएको छ।

सज्जनराज वैद्य पनि विदेशमै छन्। फ्रेबुअरी १८ मा हङकङको प्रस्तुतिका लागि विदेशमा रहेका उनको मार्च १० अर्थात फागुन २६ गते जापानमा कन्सर्ट तय छ।

वैद्यले आफ्नो ब्यान्डसहित पहिलोपटक जापानमा भव्य ‘लाइभ कन्सर्ट’ गर्ने भएका छन्। जापानको राजधानी टोकियोस्थित योयोगी राष्ट्रिय रंगशालामा हुने यो कन्सर्ट नेपाली संगीत इतिहासकै लागि महत्वपूर्ण क्षणका रूपमा हेरिएको छ। करिब ५ हजार दर्शक अटाउने उक्त रंगशालामा नेपाली कलाकारको एकल कन्सर्ट हुन लागेको आयोजकले जनाएको छ।

टोकियोको कन्सर्टसँगै उनको ब्यान्डले जापानका अन्य प्रमुख सहरहरूमा पनि प्रस्तुति दिने कार्यक्रम तय भएको छ। टुरअन्तर्गत नागोया, फुकुओका र ओसाकामा समेत वैद्यको ब्यान्ड गुञ्जिनेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad