रोश्नी कार्कीको बाल्यकाल सुखद हुन सकेन। सधैँजसो पारिवारिक समस्या अनि आर्थिक अभाव रहिरह्यो। सानै उमेरमा अप्ठ्यारो परिस्थितिबाट गुज्रिएकी उनलाई खुसी चाहिएको थियो। अझ भनौँ, घरबाट टाढा गएर उनी पखेटा फैलाउन चाहन्थिन्। सपना देख्न पाइयोस्, काममा आनन्द लिन सकियोस् अनि सन्तुष्टि पनि प्राप्त होस्।
त्यही चाहना पछ्याउँदै २०७१ सालतिर रोश्नी काठमाडौँ आइन्। इलाममा छँदा उनी चलेकै डान्सर थिइन्। काठमाडौँमा नृत्य सिक्ने र प्लस टु पढ्ने उनको योजना थियो। तर, यहाँ जीवन धान्न सहज थिएन। नृत्य सिक्ने सपना बिर्सेर उनी पढाइतर्फ लागिन्।
इलामकै चिनेका दाइ संयोग गुरागाईं, जो मण्डला थिएटरमा काम गर्थे। उनलाई भेट्न बेलाबखत मण्डला पुग्थिन् रोश्नी। जहाँ उनले ठूला–ठूला कलाकारलाई समेत देख्न पाइन्। संयोगले चिया-डोनट समेत खुवाउँथे। पैसा नहुँदा कहिलेकाहीँ त त्यसकै भरमा दिन कटाउँथिन् उनी।
एक दिन रोश्नीले तिनै संयोगको नाटक हेर्ने अवसर पाइन्। नाटक थियो: ‘जिरो जिरो जेड’। जसमा नाजिर हुसेन मुख्य भूमिकामा थिए। टिकट किन्ने पैसा उनीसँग थिएन, त्यसैले कन्ट्रोल रुमबाट छिरेर पहिलोपटक नाटक हेरिन्। नाटकले उनलाई यसरी लठ्यायो, आफू रमाउने ठाउँ थिएटर नै हो भन्नेमा ढुक्क भइन्।

‘अलिकति खुसी कहाँ भइन्छ होला, के गर्दा आनन्द आउँछ होला, सोचिरहेकी थिएँ। मैले आफू बिर्सेर रमाउने ठाउँ, थिएटर भेट्टाएजस्तो महसुस भयो,’ उनले भनिन्, ‘त्यतिखेरसम्म म सास मात्र फेरिरहेको जस्तो लाग्थ्यो। थिएटरको माहोलमा आउँदा भने बाँचेजस्तो लाग्न थाल्यो। त्यो माहोलमा मेरो आत्मा रमाएको पाएँ। सायद बाल्यकालमा देखेको दुःखहरू भुल्ने बाटो खोजेर अभिनयतिर आएजस्तो लाग्छ।’
११ सकेपछि रोश्नीले मण्डलामा औपचारिक रुपमा अभिनय सिक्ने सोच बनाइन्। छात्रवृत्ति पाउँदा उनलाई निकै सजिलो भयो। तर, कलेज र थिएटरको समय जुध्यो। जसकारण उनले बीचमा पढाइ छोड्ने बाध्यता आयो। र उनी पूर्णतया थिएटरतिरै लागिन्। झण्डै एक वर्षको कोर्सपछि टिमबाट नाटक गर्ने पालो आयो।
‘अन्धोयुग’ रोश्नीले खेलेको डेब्यु नाटक थियो। पहिलो नाटकमा लिड रोल देखिने इच्छा थियो। लिड रोल त कहाँ हो कहाँ, न अनुहार देखाउन पाइन्, न संवाद बोल्न। मुखौटो लगाएको उनको क्यारेक्टरले गीत मात्र गाउने सिन थियो।
‘एकछिन त फलानोले लिड रोल पायो, मैले पाइनँ भनेर निकै दुःख लाग्यो। तर, त्यो कुराले पनि सिक्नुपर्छ र गर्नुपर्छ भन्ने भयो। म एकदिन लायक बनेर देखाउँछु भन्ने आयो। सुरुमै राम्रो पाएको भए म घमण्डी हुन्थेँ होला। त्यस्ता कुराले धेरै सिकाउँछ,’ उनले भनिन्।
अनि म्युजिक भिडिओमा चलिन् रोश्नी
थिएटरमा खासै कमाइ नहुँदा दैनिकी चलाउन पनि हम्मेहम्मे भइरहेको थियो। भाडा तिर्नुपर्यो, त्यसमाथि भाइबहिनीको जिम्मेवारी सम्हाल्नुपर्ने। त्यसपछि उनी म्युजिक भिडिओ खेल्न थालिन्।
सुरुमा रोश्नीले दीपक बज्राचार्यको गीत ‘अल्लारे’ मा अभिनय गर्ने अवसर पाइन्। जुन गीत राम्रो चलेको थियो। त्यसपछि उनले आठदसवटा म्युजिक भिडिओ खेलिन्। कसैकोमा सित्तैँमा खेलिन् त कसैले कम पैसा दिए।
तर, कोरोना महामारीताका आएको एक गीतबाट भने रोश्नी धेरैको नजरमा परिन्। लकडाउन भएकाले टिकटकको निकै माहोल थियो। गायक देवेन्द्र बब्लुसँग सहकार्य गरेको गीत ‘म हाँसे हास्छौँ र?’ निकै चल्यो। रोश्नीले निकै चर्चा कमाइन्। त्यस गीतपछि राम्रो प्रतिक्रिया आउनुको साथै कामहरू पनि आउन थालेको सुनाउँछिन् उनी।

त्यसपछि नवराज विकको घटनामा आधारित ‘धोको भो’ गीत पनि राम्रो चलेको थियो। जसले रोश्नीलाई म्युजिक भिडिओ बनाउनेमाझ चिनायो। त्यसपछि भने रोश्नीले कहिल्यै फर्किएर हेर्नुपरेन।
उनले बब्लुसँग ‘म त पर्खेको पर्ख्यै छु’, प्रकाश दुतराजसँग ‘जाम भो माइली’ लगायत दुई सय म्युजिक भिडिओ खेलिसकेकी छिन्। जसले धेरै दर्शकमाझ चिनाउनुका साथै आर्थिक रुपमा सहज बनाएको उनको भनाइ छ। तीन–चार वर्ष पढाइ छाडे पनि रोश्नी सोसल वर्क विषयमा स्नातक सकिसकेकी छिन्।
सहायक भूमिकादेखि लिड रोलसम्म
रोश्नीले फिल्म ‘परदेशी २’ मार्फत ठूलो पर्दामा पाइला चालिन्। सहायक भूमिकामा देखिएकी उनी फिल्ममा केकी अधिकारीको साथी बनेकी थिइन्। जुन फिल्मले बक्सअफिसमा राम्रो कमाइ गरेको थियो। ‘ब्लाइन्ड रक्स’मा पनि उनी सहायक भूमिकामा देखिइसकेकी छिन्।
रोश्नीमा धैर्य थियो, जसले छिट्टै फलको आशा राखिनन्। बरु जे–जे काम आयो, मनबाटै गरिन्। यद्यपि, उनलाई लिड रोलमा देखिने दिन आउँछ भन्ने लागेको थियो।
उनले भनिन्, ‘जहिले पनि म धेरै सपना देख्दिनँ। म एकदमै तलबाट आएको मान्छे हो। मसम्म जे आइपुगेको छ र जे पाएकी छु त्यसको लागि धन्य छु। सहायक रोल खेल्दा हिरोइन बन्ने र चर्चित हुन मन लागेन। जहिल्यै सिक्नुपर्छ भन्ने लाग्थ्यो। केकी दिदीले निकै सहयोग गर्नुभयो।’
एक वर्षअघि रोश्नीलाई ‘लालिमा’ को लागि अफर आयो। त्यो पनि लिड रोलमा। सुरुमा निकै उत्साहित भए पनि मुख्य भूमिका भनेपछि डर लागेको उनको अनुभव छ।
‘लिड रोलभन्दा एकछिन निकै उत्साहित भएँ। त्यसपछि डर लाग्न थालिहाल्यो। लिड क्यारेक्टर, बढी जिम्मेवारी महसुस हुन थाल्यो। कसरी गर्ने होला भन्ने भयो,’ उनले भनिन्।

‘लालिमा’ मा उनले निर्वाह गर्नुपर्ने क्यारेक्टर थियो यौनकर्मी। यौनकर्मीको मनोदशाबारे थाहा नभए पनि उनले संवेदनशील र महिलाको विषय भएकाले स्क्रिप्ट नहेरी ‘ठिक छ’ भनिन्।
‘लालिमा’ पात्र निर्माणका लागि उनले यौनकर्मी भेट्नुपर्ने थियो। निर्माण टिमको सम्पर्कमा रहेका १० यौनकर्मी भेटेर उनीहरूको कुरा सुनिन्।
‘उहाँहरूसँग कुरा गर्दा एकछिन त म कलाकार हो भन्ने कुरा पनि बिर्सिएछु। सूचना लिन आएको भन्ने कुरा नै बिर्सेँ। उहाँहरूको कुरा सुनेर रोएँ पनि। तीन–चार घण्टाको दौरानमा उहाँहरूको मनस्थिति बुझ्ने मौका पाएँ। मानसिक रुपमा गाह्रो हुँदोरहेछ उहाँहरूलाई,’ उनले भनिन्।
रोश्नीका अनुसार धेरैजसो महिलाहरू आर्थिक अवस्था कमजोर हुँदा घर धान्नुपर्ने बाध्यताले यौनकर्मी बन्ने रहेछन्। अरु पेसाभन्दा सजिलो छ र कमाइ पनि धेरै भएकाले उनीहरूले यो बाटो रोज्ने गरेको उनको बुझाइ छ। तर, भित्रबाट उनीहरू खुसी नभएको बताउँछिन् रोश्नी।
भन्छिन्, ‘उहाँहरू कति जना यो काम गर्नुपर्यो भनेर खुसी हुनुहुन्न। भित्रभित्रै उहाँहरूलाई एकदमै असर भइरहेको हुन्छ। हामीले हेर्दा रमाइलो छ सोच्छौँ। तर, उनीहरूको जीवन केही रमाइलो छैन। यो फिल्मले देखाउन खोजेको कुरा नै यही हो। उनीहरूको मनस्थिति र मानसिक अवस्था फिल्मभित्र छ।’
यौनकर्मीको भूमिका भएकाले निर्वाह गर्दा निकै चुनौती भयो। जज हुने खालको र आफूभन्दा टाढाको क्यारेक्टर भएकाले उनीहरूको मुड र मनस्थितिभित्र छिर्न असाध्यै गाह्रो भएको रोश्नीले सुनाइन्।
यो फिल्म चुनावलगत्तै फागुन २९ बाट नेपालभरिका हलमा लाग्दैछ। फिल्म चल्नुभन्दा पनि दर्शकले फिल्मले भन्न खोजेको कुरा बुझिदिऊन् भन्ने चाहन्छिन् रोश्नी।

‘फिल्म राम्रो बनेको छ। चलिदिए हुन्थ्यो त लाग्छ। तर सबैसामु देखाउन खोजेको कुरा बुझिदिए हुन्थ्यो जस्तो लाग्छ। यो फिल्म हेरेर यौनकर्मीलाई हेर्ने दृष्टिकोण बदलियोस् भन्ने छ। जुन तरिकाले हेरिन्छ, त्यसरी नहेरियोस् भन्ने हो। दया र मायाको दृष्टिकोणले हेरियोस् भन्ने हो। त्यो हुँदा त सफलताको कुरा हुनेछ,’ उनले भनिन्।
आफू कलाकारितातिर लागेकोमा सन्तुष्ट छिन् रोश्नी। उनी देवेन्द्र बब्लुसँग आगामी फिल्म ‘बुकी’ मा देखिँदैछिन्। साथै अन्य फिल्महरूको अफर आएको पनि उनले सुनाइन्।
आगामी करिअरबारे के सोच्नुभएको छ त भन्ने प्रश्नमा रोश्नीले रोचक जवाफ दिइन्, ‘म त लालिमाजस्तै हो। अब निस्किन नसक्ने। ऊ फसिसकी। म पनि कलाकारितामा फसिसकेँ। अब निस्किने बाटो छैन। निखार्दै, सिक्दै लैजाने भन्ने छ। लामो समय दिएर काम गर्न मन छ। जहाँनिर फरक–फरक किसिमको परीक्षण गर्न पाइयोस्। टाइपकास्टभन्दा पनि भर्सटाइल तरिकाले काम गर्न मन छ।’
Shares

प्रतिक्रिया