काठमाडौं विश्वविद्यालय (केयू) मा स्नातकोत्तर तहमा फिल्म विषयमा अध्ययन हुने भएको छ। केयूको स्कुल अफ आर्टसअन्तर्गत भाषा तथा आमसञ्चार विभागले नेपालमै पहिलोपटक ‘मास्टर इन फिल्म स्टडिज’ पढाईको सुरूवात गरेको हो।
वरिष्ठ फिल्म निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा सोमबार आयोजित कार्यक्रममा यस अध्ययनको औपचारिक घोषणा गरियो। जसअनुसार, स्नातकोत्तर तहमा चलचित्र अध्ययनलाई संस्थागत रूपमा अघि बढाउने र यस पहलअन्तर्गत चलचित्र विकास बोर्डले अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्नेछ।
नेपाली चलचित्र क्षेत्रलाई औपचारिक शिक्षासँग जोड्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको हो। जुन दुई वर्षे (६६ क्रेडिट) कार्यक्रम फेब्रुअरीदेखि सुरु हुने बताइएको छ।
कार्यक्रममा बोल्दै भाषा तथा आमसञ्चार विभागका प्रमुख प्राध्यापक निर्मलमणि अधिकारीले फिल्म अध्ययन कार्यक्रमको शुभारम्भ काठमाडौं विश्वविद्यालयका लागि सिर्जनात्मक शिक्षातर्फको एउटा महत्वपूर्ण फड्को भएको बताए। यस कार्यक्रमले चलचित्रलाई मनोरञ्जनको माध्यमका रूपमा नभई गहिरो शैक्षिक, सैद्धान्तिक तथा अनुसन्धानमुखी विषयका रूपमा स्थापित गर्ने लक्ष्य लिएको उनको भनाइ छ।
विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने फिल्मको अध्ययन कार्यक्रममा चलचित्रको सिद्धान्त, इतिहास, सौन्दर्यशास्त्र, सांस्कृतिक अध्ययन, फिल्म निर्माण, पटकथा लेखन, छायांकन, ध्वनि डिजाइन, सम्पादन, अभिनय, फिल्म समीक्षा, अनुसन्धान तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहित चलचित्रसम्बन्धी आधुनिक विषय समेटिएका छन्।
निर्देशक खरेलले काठमाडौं विश्वविद्यालयको यो कदम दूरदर्शी भन्दै प्रशंसा गरे। ‘फिल्म केवल मनोरञ्जन मात्र नभई क्यामेरा, लाइटिङ, एआई, विज्ञान, संस्कृति र नवप्रवर्तनको समिश्रण हो। नेपालमा पहिलो पटक यसलाई स्नातकोत्तर तहमा शैक्षिक मान्यता दिनु आफैँमा ऐतिहासिक हो,’उनले भने।
यसले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा बोर्ड र विश्वविद्यालयले गरेका छन्। कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश डीसीले चलचित्रलाई मनोरञ्जनको माध्यमका रूपमा सीमित नराखी शैक्षिक तथा अनुसन्धानमुखी विषयका रूपमा विकास गर्न केयूसँग सहकार्य गरिएको बताए।
फिल्मका विद्यार्थीलाई प्रोत्साहन गर्न बोर्डको तर्फबाट छात्रवृत्तिको व्यवस्था गरिने चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसीले जानकारी दिए। यस्ता कार्यक्रमले दक्ष जनशक्ति उत्पादन, अनुसन्धान प्रवद्र्धन तथा नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने आधार तयार गर्ने उनको भनाइ छ।
Shares

प्रतिक्रिया