कला


समाजसेवी थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’को विशेष प्रदर्शनी

आजबाट देशभर प्रदर्शनमा
समाजसेवी थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’को विशेष प्रदर्शनी

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १५:५४, काठमाडौँ

प्रेरणादायी व्यक्तित्व उज्वल थापाको जीवनीमा आधारित वृतचित्र “दिमाग घोच्ने मान्छे” को विशेष प्रदर्शनी (प्रिमियर) पुस २३ ( जनवरी ७) मा ललितपुरस्थित क्यूएफएक्स लबिम मलमा गरिएको छ। योसँगै आजदेखि देशभरका विभिन्न चलचित्र हलहरुमा समेत प्रदर्शन भइरहेको छ।

नेपाली नागरिक चेतना, वैकल्पिक राजनीति, उद्यमशीलता र सामाजिक रूपान्तरणको नयाँ बाटो देखाउने उनको जीवनीमा आधारित १ घण्टा ५० मिनेटको वृत्तचित्रको प्रिमियर कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्रीहरु प्रदीप पौडेल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। 

यो वृत्तचित्रले उज्वल थापाको बाल्यकाल, वैदेशिक शिक्षाको यात्रा, स्वदेश फर्किएपछिको नागरिक जागरण अभियान तथा वैकल्पिक राजनीतिमा उनले पुऱ्याएको योगदानलाई समग्र रूपमा प्रस्तुत गरेको छ।

उनका परिवार, साथीभाइ र सहयात्रीहरूसँगका अन्तर्वार्ता तथा उनले सञ्चालन गरेका अभियानहरूको दस्तावेजीकरणमार्फत तयार पारिएको यस वृत्तचित्रले एक व्यक्तिको सक्रियताले पनि समाजमा अर्थपूर्ण परिवर्तन सम्भव हुन्छ भन्ने सशक्त सन्देश दिन्छ।

यस वृत्तचित्र निर्माणका लागि सर्वसाधारणहरुबाट ५ देखि ५ लाखसम्मको आर्थिक सहयोग प्राप्त भएको थियो। वृत्तचित्रको प्रदर्शनी अवधि सम्पन्न भएपछि प्राप्त सम्पूर्ण आम्दानी तथा खर्चको विवरण पारदर्शिताका साथ उज्वल थापा फाउन्डेसनको वेबसाइटमार्फत सार्वजनिक गरिने जनाइएको छ।

उज्वल थापा फाउन्डेसनद्वारा निर्माण गरिएको यस वृत्तचित्र दिमाग घोच्ने मान्छे ड्रिम विजार्डको प्रस्तुति छ भने यसको निर्देशन सुदीप भाजुले गरेका हुन्।

प्रिमियरमा सहभागी भएकी प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम सुनेरै कार्यक्रममा आउन मन लागेको बताइन्।

‘मलाई मन परेको मान्छेमध्य उज्वलजी पनि एक हो। मानिसमा विवेकशीलता जगाउनलाई विवेकशील राजनैतिक दल पनि खोल्नुभयो । उहाँले धेरै युवा नेतृत्व विकास पनि गर्नुभएको छ। उहाँ नभएको खालीपन सदैव रहनेछ, आजको राजनीतिक अवस्थामा पनि उहाँ जस्तो मान्छे रहनु पर्ने हो’, उनले भनिन्। 

सञ्चार मन्त्री जगदीश खरेलले वृत्तचित्रले दिमाग मात्रै नभई मन पनि घोचेको बताउँदै थापा आफ्नै सर्कल, परिवार र समुदायभन्दा माथि देशलाई राख्न सक्ने चेतनाको प्रतिनिधि व्यक्ति भएको बताए।

गृहमन्त्री ओमप्रकाश अर्यालले उनको जीवनबाट नयाँ पिँढीले धेरै कुरा सिक्न जरुरी रहेको उल्लेख गरे।

‘उहाँ हाम्रो नेतृत्व निर्माण गर्न सक्ने क्षमतावान् व्यक्तित्व हुनुहुन्थ्यो। उहाँकै सहयात्रीहरु अहिले धेरै ठाउँमा नेतृत्व तहमा हुनुहुन्छ’, उनले भने।

आज पुस २५ बाट दिमाग घोच्ने मान्छे वृत्तचित्र देशभरका विभिन्न चलचित्र हलमा सञ्चालन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad