नेपाली डकुमेन्ट्री फिल्म ‘को-हजबेन्ड’ फ्रान्सको पेरिसमा आयोजना हुने १२ औँ एथनोग्रा फिल्म महोत्सवमा छनोट भएको छ। अमेरिकामा रहेको फिल्मको आधिकारिक वितरण संस्था डक्युमेन्ट्री एजुकेशनल रिसोर्सेजले फिल्म छनोट भएको जानकारी दिएको निर्देशक गणेश पाण्डेले जानकारी दिए ।
उनको अनुसार अप्रिल २ देखि ५ सम्म पेरिसमा हुने महोत्सवमा सहभागी हुन विशेष निम्तो समेत आएको छ। विश्वभर नेपाली डकुमेन्ट्री सिनेमालाई चिनाउँदै आएको यो फिल्म यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा पुरस्कार र प्रशंसा प्राप्त गरिसकेको छ।
नेपाल अन्तर्राष्ट्रिय फ़िल्म महोत्सव (निफ)मा प्रथम पुरस्कार जितेपछि विश्वका प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुनु नेपाली डकुमेन्ट्री क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।
बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो। घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा प्रस्तुत गरेका हुन्।
यसले अन्तर्राष्ट्रिय दर्शक र अनुसन्धानकर्तामाझ नेपाली समाज र संस्कृतिबारे थप बहस र चासो बढाउने अपेक्षा गरिएको छ।
Shares

प्रतिक्रिया