नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले सम्पादन गरेको ‘नेपालको कुटनीतिक अभ्यासः राजदूतहरुको अनुभव’ नामक पुस्तक मंगलबार सार्वजनिक भएको छ। पुस्तकमा विभिन्न राष्ट्रमा अनुभव संगालेका विभिन्न उमेर समूहका राजदूतको अनुभव समेटिएको छ।
३० सालपछिका २० राजदूतको अनुभव संकलन गरेर पुस्तक प्रकाशन गरेका रिजाललाई नेपालखबरले ५ प्रश्न गरेको छः
‘नेपालको कुटनीतिक अभ्यासः राजदूतहरुको अनुभव’ लाई २० राजदूतहरुको कथा भन्न मिल्छ?
मैले धेरै पुरानादेखि पछिल्लो समयका राजदूतहको अनुभवलाई पुस्तकमा समेटेको छु। ४ पटक नेपालको राजदूत हुने एक मात्र ब्यक्ति झरेन्द्रनारायण सिंह जसको गत वर्ष निधन भयो, लिखित रुपमा उहाँका अनुभवहरु खोज्ने हो भने अहिले केही पनि पाइँदैन। त्यस्तै ३ पटक राजदूत हुने पदमबहादुर खत्री, यदुनाथ खानाल, भेषबहादुर थापाको बारेमा पनि हामीसँग धेरै अभिलेखहरु छैनन्। यस्ता पुराना र कमल कोइरालाजस्ता पछिल्ला केही राजदूतको अनुभवलाई समेटेर पुस्तक तयार पारिएको छ। लामो समय (पञ्चायतकालमा) दरबारले मन पराएको मान्छे, दरबारसँग निकट हुने मान्छे, शाही नातेदारहरु राजदूत हुने अवस्था थियो। तर, त्यसरी छान्दा पनि हिजो गुणस्तरलाई चाहिँ गिर्न दिइएको रहेनछ। ब्यक्तिको शैक्षिक पृष्ठभूमि, उसको अनुभवजस्ता कुरालाई असाध्यै महत्व दिइँदोरहेछ। मैले उहाँहरुको अनुभवलाई पनि सिलसिलाबद्ध रुपमा पुस्तकमा समेटेको छु।
पञ्चायत कालका राजदूतहरुको सन्दर्भ पनि उल्लेख गर्नुभएको छ। त्यसपछिका राजदुतबारे पनि खासै लिखित दस्तावेज छैनन् भनेर आफै भन्नुभयो। यस्तो अवस्थामा तथ्यांक संकलन कसरी सम्भव भयो?
यसमा प्रत्यक्षदर्शीहरुको बयान समेटिएको छ। विगतमा नेपालले धेरै अन्तर्राष्ट्रिय मञ्चहरुमा नेतृत्वदायी भूमिका पनि निर्वाह गरेको छ। दुई पटक संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्जस्तो अति महत्वपूर्ण निकायको अस्थायी सदस्य राष्ट्रमा निर्वाचित भएको छ, सार्कको स्थापनामा हाम्रो उत्तिकै महत्वपूर्ण भूमिका छ। यी सबै काम गर्दा सम्बन्धित ब्यक्तिले कसरी भूमिका निर्वाह गर्नुभयो भन्ने विषय पुस्तकमा छ। सन् १९८३ मा राजा वीरेन्द्रले अमेरिकाको राजकीय भ्रमण गरेयता कुनै पनि नेताको राजकीय भ्रमण भएको छैन। निर्दलिीय व्यवस्था भएको बेला पनि भ्रमण कसरी सम्भव भयो? अथवा, उहाँ सन् १९९९ मा भारतको गणतन्त्र दिवसको प्रमुख अतिथि बन्नुभयो, त्यो कसरी सम्भव भयो? यस्ता विषयमा समारोहमा संलग्न ब्यक्तिको मुखबाट नै बयान लिइएको छ। यसक्रममा संकलन भएका तथ्यलाई पुनः जाँच गर्ने काम पनि गरेको छु। त्यस्तै, दोहोरोपनलाई हटाउन मैले जानेको पत्रकारिताको सीप पनि प्रयोग गरेको छु।
पुस्तकमा राजदूत र उनीहरुको काम–कारबाहीका सकारात्मक पाटाहरु मात्र केलाइएको छ कि नकारात्मक पाटाहरु पनि छन्?
प्राप्त तथ्यांकलाई जस्ताको त्यस्तै राखेको छु। धेरै पुराना कुराहरु भएको हुनाले त्यो बेला राजा, दरबारसँग जोडिएका विषयहरु पनि छन्। अनुभवहरु संकलनका क्रममा भनिएका सकारात्मक र नाकारात्मक जे–जे कुराहरु थिए मैले त्यसलाई जस्ताको तस्तै राखेको छु। किन कि इतिहासका नकारात्मक पाटोलाई मेट्ने भन्दा पनि त्यसलाई संरक्षण गरेर त्यसबाट सिक्ने कुरा महत्वपूर्ण हुन्छ। समग्रमा भन्नुपर्दा परराष्ट्र नीतिका कमजोरीहरु, राजदूतहरु चुक्नुभएका प्रशंग, त्रुटीबारे पनि पुस्तकमा समावेश गरिएको छ।

पुस्तक कसले, किन पढ्ने? यसको दायरा के हो?
यसको दायरा अलि फराकिलो छ। कुटनीतिसँग सरोकार राख्ने, नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे थाहा पाउन चाहने विद्यार्थी, अध्यता र अभ्यासकर्ताले पुस्तक पढ्नु आवश्यक छ जस्तो लाग्छ। तर, कुटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध भनेको कुनै एउटा तहले मात्र बुझेर हुने होइन। राजनीतिकर्मीदेखि विश्वविद्यालय तहसम्म पुस्तकबारे छलफल हुनु जरुरी छ।
पुस्तक प्रकाशन गर्ने मनसाय कसरी बनाउनुभयो र यसका लागि कति समय लाग्यो ?
म विभिन्न कुटनीतिज्ञका किताबहरु पढ्थेँ। भारत, चीन, बेलायत, अमेरिकाका लगायतका देशका कुटनीतिज्ञले प्रकाशन गरेका पुस्तकमा नेपालसँग जोडिएका प्रसंगमा बढी ध्यान जान्थ्यो। हाम्रा कुटनीतिज्ञले पनि यस्ता पुस्तकहरु लेखे हुन्थ्यो नि भन्ने लाग्थ्यो। यसै सन्दर्भमा मैले सन् २०१३ मा नेपालमा राजदूत भइसक्नुभएका भारतीय कुटनीतिज्ञ केपी राजनले सम्पादन गर्नुभएको किताब ‘द एम्बेस्डर्स क्लब इण्डियन डिप्लोमेट एट लार्ज’ पढेँ। नेपालमा पनि यस्तै पुस्तक प्रकाशन गर्न पाए हुन्थ्यो भन्ने लाग्यो। विगत १५ महिनादेखि गृहकार्य गरिरहेको थिएँ। महत्वपूर्ण पुस्तक भएकाले परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानबाट प्रकाशन गर्नेबारे कुरा चल्यो र प्रकाशन पनि भयो।
Shares

प्रतिक्रिया