कला


तीन जापानी सहरमा गुञ्जिँदै नेपथ्य

तीन जापानी सहरमा गुञ्जिँदै नेपथ्य

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १२:५४, काठमाडौँ

लोकरक ब्यान्ड नेपथ्यले जापानको नागोया, टोकियो र ओसाकामा शृङ्खलाबद्ध कन्सर्ट गर्ने भएको छ। ब्यान्ड बामे सर्दाका दिनहरूमा अनेक तीतामीठा घटना जोडिएको जापानमा नेपथ्यले दुई वर्षपछि प्रस्तुती दिन लागेको हो।

जापानमा ब्यान्डको शृङ्खलाबद्ध प्रस्तुति नागोया सहरबाट थालनी हुनेछ। ‘नागोया लाइभ्स’ सभागृहमा नोभेम्बर १३ बिहीबार ब्यान्डले नेपाली लोकरक गीतहरू प्रस्तुत गर्नेछ। नागोयामा ब्यान्ड पहिलोपटक कार्यक्रम गर्न लागेको हो। 

पाँच दिनपछि ब्यान्ड राजधानी टोकियोमा प्रस्तुत हुनेछ। १८ नोभेम्बर मङ्गलबार जापानकै प्रसिद्ध ‘टोकियो डोम सिटी हल’ मा नेपथ्य उभिने भएको हो। अन्तर्राष्ट्रिय  पहिचान बनाएको त्यस हलमा ब्यान्ड दोस्रो पटक प्रस्तुत हुन लागेको हो। सात वर्षपहिले पनि त्यस हलमा नेपथ्यको कन्सर्ट भएको थियो। नेपथ्य यसअघि भने ‘तोयोसु पिट’ मा प्रस्तुत भएको थियो ।

नोभेम्बर २४ मा ब्यान्ड ओसाका सहरका दर्शकसामु प्रस्तुत हुनेछ। कन्सर्टका लागि नेपथ्यले त्यहाँको ‘जेप ओसाका बे साइड’ लाई चयन गरेको छ। दुई वर्षअघि भने नेपथ्यले त्यहाँको अर्को हल ‘नाम्बा ह्याच’ मा नेपाली लोकरक गुन्जाएको थियो ।

नेपथ्य जापानमा पहिलोपटक सन् १९९८ मा प्रस्तुत भएको थियो। ब्यान्ड मुलुकबाहिर धेरैपटक उपस्थित भएका देशहरूमा जापान पनि पर्छ।

नेपथ्यको जापान यात्रालाई यसपटक ‘भिजोनिया’ समूहले संयोजन गरेको छ। ‘कन्सर्टलाई भव्य बनाउन पूरा क्षमतामा काम गरिरहेका छौँ,’ भिजोनियाका प्रमुख सुभाष लामिछाने भन्छन्, ‘टिकट बिक्री तीव्र गतिमा भइरहेको छ । जापानका अन्य सहरमा बसोबास गर्ने इच्छुकले विभिन्न माध्यमबाट सम्पर्क गरिरहेका छन् ।’

तीन दशकभन्दा लामो साङ्गीतिक यात्रामा नेपथ्यले जापानसँगका धेरै सम्झनाहरू बोकेको ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ बताउँछन्। उनी थप्छन्, ‘मीठा यादहरूबाहेक अढाई दशकअघि हाम्रो ब्यान्ड त्यसै मुलुकमा पुगेर टुक्रिएको तीतो अनुभव पनि हामीसँग छ।’
आफूहरू जुनसुकै परिस्थिति र स्वरूपमा पुग्दा पनि जापानका दर्शकले नेपथ्यलाई सदैव न्यानो हृदयसाथ स्वागत गर्दै आएको अमृत सुनाउँछन्।

विशेषतः आर्थिक उपार्जनका लागि लामो समयदेखि रोजगारी वा बसोबास गर्ने नेपालीमाझ जापान आकर्षक गन्तब्य रहँदै आएको छ। पछिल्लो समय भने यो मुलुक उच्च शिक्षाका लागि पनि उल्लेख्य सङ्ख्यामा नेपाली विद्यार्थी पुग्ने थलो बन्दै गएको छ। आफूसँगै नेपाली पहिचान पनि बोकेर उता पुग्ने तन्नेरीहरूले नेपाली लोक भाकामा आधारित रक सङ्गीत प्रस्तुत गर्ने नेपथ्यका गीतहरू मन पराउँदै आएका छन्।

नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार मञ्चमा प्रस्तुत हुने छ कलाकारका अलावा व्यवस्थापन र प्राविधिक फाँटका आठ थप सदस्य सहितको टोली जापान पुग्दै छ। ‘प्राविधिक हिसाबले ब्यवस्थापन गर्न नेपालबाटै टोली लिएर जाँदा बढी प्रभावकारी हुन्छ,’ श्रेष्ठ भन्छन्।

जापानका मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad