कलाकार सन्तोष पन्तले फिल्म बनाउनुभन्दा फिल्म चलाउन निकै गाह्रो रहेको बताएका छन्। मंगलबार आफू अभिनीत ‘हर्ष’ को ट्रेलर रिलिज कार्यक्रममा बोल्दै उनले फिल्म चलाउन सिक्ने तरिका सिक्न नयाँमेकरहरूलाई सुझाव दिएका हुन्।
तीनवर्षअघि पन्तले आफ्नो चर्चित टेलिभिजन सिरियल ‘हिजो आजका कुरा’ नाममा फिल्म बनाएका थिए। उनी स्वयम फिल्ममा मुख्य भूमिकामा देखिएका थिए। तर, फिल्म व्यवसायिक रुपमा सफल हुन सकेन। फिल्म नचल्नुको उनले कारण समेत खुलाए।
कार्यक्रममा बोल्दै उनले भने, ‘फिल्म बनाउन जति गाह्रो छ, चलाउन झन महा गाह्रो छ। त्यसैले फिल्म चलाउनका लागि पहिला तिकडम सिक्नुहोस्। त्यो तिकडम नसिकेर म डुबेँ।’
उनले ‘हर्ष’की निर्देशक एकता पौडेललाई आफू हराएको फन्डा गरेर भए पनि फिल्म चलाउन सुझाव दिए। ‘फिल्म त जसरी पनि चलाउनुस् तर तिकडम चाहिँ गर्नुस्। त्यसलाई कसरी गर्ने। रुवाबासी राखेर हुन्छ कि हंगामा राखेर हुन्छ कि। मलाई मारिदिएर। मलाई बरु अस्ट्रेलिया पठाइदिनुस् र हरायो भन्नुस्, त्यसपछि हंगामा हुन्छ अनि फिल्म चलाउनुस्। तिकडम नगरी फिल्म चल्दैन।’
पछिल्लो समय फिल्म चलाउनको लागि विभिन्न फन्डाहरू गरिन्छ। उनको यस व्यंग्यात्मक टिप्पणी सुनेसँगै हलको माहोल हासोमय भएको थियो।
Shares

प्रतिक्रिया