सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘वरिष्ठ बलराम’ आगामी भाइटीकाको दिन (कात्तिक ६ गते) रिलिज हुँदैछ। यस फिल्ममा दयाहाङ राई, विजय बराल र समृद्धि अर्याल मुख्य भूमिकामा छन्।
अभिनेता दयाहाङ राईले ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदा व्यक्तिबीचको संघर्षको कथा भएको बताए। पत्रकार सम्मेलनमा बोल्दै आफ्नो इज्जत र प्रतिष्ठा बचाइराख्न खोज्ने स्थापित व्यक्ति र त्यसलाई टक्कर दिँदै आफू स्थापित हुन खोज्ने उदाउँदो व्यक्तिबीचको कथा ‘वरिष्ठ बलराम’मा रहेको उनको भनाइ छ।
‘मान्छे जस्तो सुकै होस् आवरणमा भने समाजमा ऊ वरिष्ठ र प्रतिष्ठित हुन चाहन्छ, यो मानवीय स्वभाव हो। यो चलचित्रमा यही कुरा छ। मेरो चरित्र पनि त्यही हो,’उनले भने।
अर्का अभिनेता विजय बरालले ‘वरिष्ठ बलराम’ सामान्य व्यक्तिबाट वरिष्ठ हुन चाहना राख्ने सोचको कथा भएको सुनाएँ। व्यक्तिमा रहेको सोचबीचको टकराब सिनेमाको मुख्य विषय भएको बताउँछन्।
‘वरिष्ठ बलराम’का मुख्य दुई पात्र दयाहाङ र विजयको टकराबमा आफू बले पात्रका रूपमा रहेको उनले बताए।
‘सिनेमाको नाम कसको नाममा रह्यो, कसको नाम बलराम हो भन्ने सिनेमा रिलिज भएपछि र त्यसअघि ट्रेलरमा केही कुरा थाहा होला। तर, चलचित्रमा मलाई बले भनेर भनिएको छ । त्यसैले वरिष्ठ बलराम को हो नभनौँ तर बले भनेर मलाई बोलाइएको छ।’
उनले सिनियर कलाकार दयाहाङसँग सिनेमामै भए पनि घम्साघम्सी र टकराब लिन केही कठिन भएको अनुभव सुनाए। ‘अग्रज र मैले मान्ने भएकाले दाइ के गरौँ, कसरी गरौँ भन्थेँ। दाइले अफ्ठ्यारो नमान्, यसरी गर भनेपछि, म गर्थें। अग्रज र सधैँ सम्मान गर्ने कलाकार भएकाले केही अड चाहिँ हुनेरहेछ।’
दयाहाङ भने सेटमा व्यक्ति भन्दा पनि चरित्र हुने भएकाले को सिनियर र जुनियर भन्ने नहुने बताउँछन्। आफूले पनि ‘दासढुंगा’मा गुरु अनुप बरालसँग यस्तै रोलमा काम गरेको उनले स्मरण गरे।
अभिनेत्री समृद्धि अर्याललले आफू सिनेमामा शो पिस मात्रै नरहेको बताउँछिन्। दुई अग्रज र अब्बल कलाकारको बीचमा आफ्नो पनि राम्रो रोल रहेको उनको भनाइ छ ।
‘म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ। दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका छ।’
‘वरिष्ठ बलराम’को क्यारेक्टर’ले आफ्नो सिने करियरमा सहयोग गर्ने उनको भनाइ छ ।
यस फिल्ममा दयाहाङ, विजय र समृद्धिसहित पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ। निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन्।
Shares

प्रतिक्रिया