कला


जेनजी आन्दोलनमा मैले जे देखेँ, अब कहिल्यै देख्न नपरोस् : सजन श्रेष्ठ (भिडिओ)


अनिल यादव
असोज ३ , काठमाडौँ

‘ए ब्रो, तोडफोड नगरौँ न यार, हाम्रै पैसाले बनाएको प्रपर्टी हो,’ जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको भीडमा पुगेर एक्लै चिच्याइरहेको थिए, कमेडियन सजन श्रेष्ठ। र, उनको यो अनुरोधमिश्रित आवाजले यतिखेर सामाजिक सञ्जालमा खुब चर्चा पाइरहेको छ। 

प्रदर्शनकारीले सार्वजनिक संस्थाहरू तोडफोड र आगजनी गरेर ध्वस्त बनाउँदै गर्दा सजनले ठाउँठाउँमा गएर प्रदर्शनकारीलाई रोक्ने प्रयास गरे। कुपन्डोलदेखि संसद् भवनसम्म हिँडेरै पुगे, प्रदर्शनकारीलाई सार्वजनिक संस्था नजलाउन बारम्बार अनुरोध गरे, तर कसैले सुनेनन्। 

‘मलाई सुरुमा यो आन्दोलन शान्तिपूर्ण होला भन्ने अपेक्षा थियो,’ नेपालखबर सो ‘लेट्स टक’मा आइपुगेका उनले भने, ‘आन्दोलनमा गोली त प्रहार हुन्छ नै तर रबरको होला भनेको त्यो दिन बुलेट प्रहार भा’रैछ,’ उनले आन्दोलनको पहिलो दिनको अनुभव सुनाउँदै भने, ‘११ बजे आन्दोलनमा पुग्दा माहोल पूरै शान्तिपुर्ण थियो। कोही पानी बाँडिरहेका थिए, कोही मास्क बाँडिरहेका थिए, कोही के। त्यस्तो तोडफोड केही थिएन। तर, संसद् भवनमा जब प्रहरीले दमन गर्न थाल्यो, माहोल एकाएक बदलियो। जीवनमा पहिलोपटक म आफैले अश्रु ग्यास खाएँ।’

त्यसदिन जब आन्दोलनमा गोली खाएर एकपछि गर्दै १९ जनासम्म युवाहरूको मृत्यु भएको खबर फैलिँदै गयो, त्यसपछि सजन पूरै स्तब्ध भए। देशभर युवाहरूको मनमा आक्रोशको ज्वाला बेस्सरी दन्किएको थियो। मनमनै सजनलाई लागेकोे थियो– भोलिपल्ट आन्दोलनले झन् उग्र रूप लेला। नभन्दै दृश्य अनुमानभन्दा बाहिर पुग्यो। 

भोलिपल्ट बिहान एक रेस्टुरेन्टमा पुगेका बेला सजनले सुने– प्रदर्शनकारीले नेताहरूको घरदेखि संसद् भवनसम्म जलाउन थाले। एकाएक चकित भए। मनमनै लाग्यो– सार्वजनिक सम्पत्ति त जलाउन दिनु हुन्न, भोलि हामीले नै दुःख पाउने हो। त्यसपछि कुपन्डोल हुँदै बानेश्वरसम्म भ्लग बनाउँदै हिँड्दै गए। 

‘जहाँ हेर्‍यो, त्यहीँ तोडफोड गरिरहेका थिए,’ त्यस दिनको दृश्य सजनको आँखाबाट अझै  अझै हटेको छैन, ‘प्रहरी चौकी, सिंहदरबार, सर्वोच्च अदालत, टाटा कारको सोरुम, सीजी भवन सबका सब जलिरहेका थिए। यस्तो भयानक दृश्य मैले जीवनमा देखेको थिइनँ। दृश्य हेर्दा लाग्थ्यो, म कतै साउथ इन्डियन फिल्म त हेरिरहेको छैन? यस्तो दृश्य सायद यसअघिको पुस्ताले पनि देखेको थिएन, भोलि पनि देख्न नपरोस्।’

आन्दोलनको मूल उद्देश्य भ्रष्टाचारको अन्त्य गर्ने र सामाजिक सञ्जाल प्रतिबन्ध हटाउने भए पनि यसले हिंसात्मक रूप लिएकोमा उनी दुःखी छन्। 

‘जेनजीको नाममा जसरी यो तोडफोड र आगजनी भयो, बिल्कुलै गलत भयो,’ उनले भने,  ‘म बाटोमा हिँड्दै गर्दा कति जना लुटेर ल्याएको रक्सी खाँदै फुटाउँदै थिए, म दाबीका साथ भन्न सक्छु, ती असली जेनजी थिएनन्, असली जेनजीले त्यस्तो गर्दैनन्, आन्दोलनको मर्म पनि त्यस्तो छँदै थिएन। लुटपाट गर्नु, गाडी फोड्नु सबै वाहियात काम हो। त्यो जेनजीले गर्‍या हैन, घुसपैठ नै थियो।’

उनलाई लाग्छ, केपी ओली नेतृत्वको तत्कालीन सरकारले अनुसन्धान नगरी सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेका कारण यो आन्दोलनको परिदृश्य सिर्जना भयो।

‘त्यो हतारको निर्णय थियो,’ उनी भन्छन्, ‘युवाहरू देशको अवस्था र राजनीतिदेखि पहिल्यैदेखि फ्रस्टु थिए। त्यसमाथि सामाजिक सञ्जाल बन्द गरेपछि उनीहरू थप चिढिए। धेरैको मुख्य आम्दानीको स्रोत थियो, सामाजिक सञ्जाल। त्यो नै बन्द भएपछि पनि यहाँसम्मको अवस्था आयो भने लाग्छ।’

बाहिर प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिहरू जलाइरहँदा सजनको मन भने भित्रभित्रै जलिरहेको थियो। उनले पटकपटक प्रदर्शनकारीलाई आग्रह गरे– ए ब्रो तोडफोड नगरौँ न यार, हाम्रै पैसाले बनाएको प्रपर्टी हो। 

‘तर, त्यो भीडमा मेरो आवाज दबियो। सकेसम्म तोडफोड र आगजानी नहोस् भन्ने चाहना थियो मेरो। तर, त्यस्तो आक्रोश र रिसको बेलामा मान्छेहरूलाई सम्झाउन गाह्रो हुने रहेछ,’ सजन भन्छन्।

आन्दोलनका क्रममा प्रदर्शनकारीलाई सम्झाउँदै हिँडेका सजन यतिखेर जलेर ध्वस्त भएको प्रहरी कार्यालय बनाइरहेका छन्। कमेडियन सुमन कार्की, पुजन अधिकारीसहित स्थानीय बासिन्दासँग मिलेर ढल्कु प्रहरी कार्यालय पुनःनिर्माणमा जुटेका छन्। कार्यालयको सरसफाइदेखि रङ लगाउनेसम्मको काममा आफै होमिएका छन्। भवन मर्मतका लागि आवश्यक सिमेन्ट, बालुवा, तार, कलरलगायत सामग्री जुटाइरहेका छन्। 

जेनजी आन्दोलनमा उनले देखाएको यो परोपकारी प्रयासको यतिखेर चौतर्फी प्रशंसा भइरहेको छ।

जेनजी आन्दोलनको दुई दिनमै एमाले–कांग्रेस गठबन्धनको सरकार ढल्यो, संसद् विघटन भयो र देशले अन्तरिक सरकारका रूपमा पूर्वप्रधानन्याधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार पायो। यसप्रति खुसी छन्, सजन। तर, उनलाई कताकता डर छ, कतै यो जेनजी आन्दोलनको उपलब्धि त्यत्तिकै तुहिने त होइन? 

‘मलाई कताकता यो रेभुलुसन त्यसै खेर जाने त होइन भन्ने लागिरहेको छ,’ उनी भन्छन्, ‘फेरि पुरानैको पकडमा देश जाने त होइन? पुरानाहरू यत्तिकै चुप लागेर त बसेका छैनन्, भित्रभित्रै केही षड्यन्त्र गरिरहेका छन् कि भन्ने लाग्छ। त्यसैले युवाहरू एकजुट भइरहनुपर्छ। यत्रो आन्दोलन र बलिदानलाई त्यत्तिकै तुहिन दिनुहुँदैन। ज्यान गुमाएका जेनजी युवाहरूलाई सम्झेर भए पनि यसपटक चुनावमा राइट पर्सनलाई भोट हाल्नैपर्छ।’ 

अन्तरिम सरकार निर्माणकै क्रममा देशभर युवाहरूको भावना काठमाडौँ महानगरका मेयर बालेन शाहको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने थियो। सामाजिक सञ्जालमा उनको पक्षमा व्यापक समर्थन थियो। 

तर, बालेनले सुशीला कार्कीलाई समर्थन गर्दै उनकै नाममा समर्थन जनाए। अब ६ महिनापछिको चुनावमा भने बालेन प्रधानमन्त्रीका रूपमा तयार हुनेगरी आउने धेरैको अनुमान छ। यसमा सजनको पनि पूर्ण समर्थन देखियो। 

‘बालेन शाह यदि आउनुहुन्छ भने मेरो फुली सपोर्ट हो। उहाँ प्रधानमन्त्री बन्नुपर्छ,’ उनले भने। 

सजन स्वयं भने राजनीतिमा आउने सोचमा छैनन्। 

‘म गन्तव्यविहीन मान्छे थिएँ। जीवनमा म के बन्छु, मलाई केही थाहै थिएन,’ उनले भने, ‘म पढाइमा पनि राम्रो थिइनँ। मसँग एक्स्ट्रा त्यस्तो ट्यालेन्ट पनि केही थिएन। अहिले पनि छ जस्तो लाग्दैन मलाई। कुनैबेला साहुको गाडी कुदाइरहेको थिएँ, साथीहरूलाई हसाउँदाहसाउँदै यहाँसम्म आइपुगेँ। राजनीति गर्न सक्ने ज्ञान छैन। म यहीँ ठिक छु।’

सजनको हास्यचेत वरिपरिका साधारण घटनाहरूबाट प्रेरित हुने गरेको उनी बताउँछन्।  उनी प्लस टु पढ्दापढ्दै पढाइ छाड्ने निर्णयलाई जीवनकै सबैभन्दा ठूलो गल्ती मान्थे। 

‘अहिले युट्युब र कमेडीमा सफल भएपछि भने सही निर्णय गरेँ कि भन्ने लाग्छ,’ उनी हाँस्दै भन्छन्। 

जीवनमा उनीसँग धेरै ठूलो सपना छैन। जे छ, त्यसमा पूर्ण सन्तुष्ट छन्। 

भन्छन्, ‘मैले जीन्दगीमा जे पाएको छु, खोजेभन्दा बढी पाएको छु। बाँकी केही अपेक्षा छैन। लाइफ, जस्ट गो विथ द फ्लो नै हो।’

हेर्नुहोस् सजनसँगको लेट्स टक :

फोटो/भिडिओ : सरोज नेपाल

असोज ३, २०८२ शुक्रबार १९:३२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad