कला


‘पूर्ण बहादुरको सारंगी’को अति दबाब भए पनि मेरो ध्यान रेकर्डतिर छैन : ‘कोशेढुङ्गा’ निर्देशक पौडेल

‘ट्रेन्ड फलो गरेर फिल्म बनाउनुहुँदैन, डुबिन्छ’
‘पूर्ण बहादुरको सारंगी’को अति दबाब भए पनि मेरो ध्यान रेकर्डतिर छैन : ‘कोशेढुङ्गा’ निर्देशक पौडेल

लक्ष्मी बलायर
भदौ ११, २०८२ बुधबार २२:०, काठमाडौँ

गतवर्ष रिलिज भएको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले बक्सअफिसमा रेकर्ड राख्यो। फिल्मले ४६ करोड कमाउँदै सर्वकालीन ब्लकबस्टर हुँदा निर्देशक सरोज पौडेल पनि एकाएक चर्चामा आए।

हुन त सरोजले यसअघि ‘वेलकम टु हेम्जाकोट’ बनाएका थिए। तर, डेब्यु फिल्म नचले पनि ‘पूर्ण बहादुरको सारंगी’ले भने उनको जीवन नै कायापलट गरिदियो।

तिनै ब्लकबस्टर फिल्मका निर्देशक सरोज ‘कोशेढुङ्गा’ मार्फत झण्डै १० महिनापछि दर्शकमाझ आउँदैछन्। उनको निर्देशन र कथा रहेको यो फिल्म बिहीबार रिलिज हुँदैछ। निर्देशक सरोज पौडेलसँग ब्लकबस्टर फिल्मको दबाब र ‘कोशेढुङ्गा’बारे गरिएको कुराकानी:

तपाईंको फिल्म ‘कोशेढुङ्गा’ रिलिज हुँदैछ, कस्तो महसुस भइरहेको छ?
सबैलाई जस्तो मिश्रित महसुस भइरहेको छ। दर्शकहरूलाई रिझाउने वा उहाँहरूको चित्त बुझाउने खालको जुन प्रेसर हुन्छ, त्यो खालको प्रेसर फिल गरिरहेको छु। तर, सिनेमा र कन्टेन्टको हिसाबले त ट्र्याकमा छौँ जस्तो लाग्छ। विगतको बक्सअफिसको रेकर्डले गर्दा दर्शकले अलि बढी अपेक्षा राख्नुभएको छ। जसकारण अलिकति बढी प्रेसर फिल भइरहेको छ।

‘पूर्ण बहादुरको सारंगी’ ऐतिहासिक कमाइ गर्न सफल भयो, जसकारण निर्देशक र लेखकका हिसाबले नयाँ फिल्म ल्याउँदा कत्तिको भारी हुँदोरहेछ?
एकदमै! भारी र गह्रुँगो बोकेको महसुस भइरहेको छ। तर, यो भन्दैमा सधैँ एउटै, उस्तै अपेक्षा राखेर काम गर्न त भएन। त्यो रेकर्डलाई भन्दा पनि दर्शकलाई चित्त बुझाउनुपर्छ र कन्भिन्स गर्नुपर्छ भन्ने खालको हाम्रो अपेक्षा छ। त्यसमा हामी पूर्ण विश्वस्त छौँ।

‘कोशेढुङ्गा’मा कस्तो कथालाई केन्द्रमा राख्नुभएको छ?
फिल्मको कथा देशको वर्तमान परिस्थिति, बेरोजगारीको समस्याले पिल्सिएको एउटा मध्यमवर्गको घरपरिवार कथामा आधारित छ। बेरोजगारीको कारणले जनताले कुन हदसम्म दु:ख पाइरहेका छन्? उनीहरुको सपना कसरी टुटिरहेको छन्? यो विषयलाई मैले सामाजिक एउटा सिस्टमसँग जोड्न खोजेको छु।

धेरै कलाकारहरुको महत्त्वपूर्ण भूमिका छ, कथाको केन्द्रमा सुरक्षा पन्त हुनुहुन्छ। फिल्मले अहिलेका युवाको मनस्थिति समेट्छ। सिनेमाको डाइनामिक पूर्णबहादुरको सारंगीभन्दा अलिकति फरक छ। दर्शकहरुको अपेक्षा पूरा गर्नुपर्छ भनेर काम भएको छ।

रिलिजअगावै नत्र भने जिन्दगी व्यर्थ छ’ गीतले राम्रो चर्चा पाएको छ। गीतले हाइप बढाउँदा तपाईंलाई चाहिँ फिल्म कत्तिको चल्छ भन्ने आशा छ?
हाम्रो पहिलो कन्टेन्ट तीज विशेष गीत थियो। जुन हाम्रो सिनेमाको मेरुदण्ड पनि हो। यो गीत सिनेमामा पनि दर्शकले हेर्न पाउनुहुनेछ। यो गीत युट्युबमा पनि करोड नजिक छ। टिकटकमा पनि भाइरल छ। त्यसले हामीलाई निकै सपोर्ट गरेको छ। त्यो पब्लिसिटीका लागि नभएर कथाले मागेको गीत हो। हाम्रो जे कन्टेन्टहरु आएका छन् ती सबै कथासँग सम्बन्धित छन्।

यसो नियाल्दा तपाईंको फिल्ममा सारंगी छुट्दैन्, अघिल्लो फिल्म सारंगीकै वरिपरि छ। र, यस फिल्ममा समावेश हे बरै’ मा पनि सारंगी छ। तपाईं र सारंगीबीचको कनेक्सन के हो?
व्यक्तिगत रूपमा पनि सारंगी मेरो प्रिय बाजा हो। सारंगीसँग सम्बन्धित सिनेमाले मलाई चिनाएको पनि छ। त्यो बाजा अझै प्रिय लाग्छ। सारंगीले सफलता प्राप्त गरेपछि सारंगीका राजा आदरणीय झलकमान गन्धर्वलाई सम्झिएर र उहाँलाई समर्पित गरेर एउटा सिर्जनालाई राख्न पाए हुन्थ्यो लाग्थ्यो। भन्दाभन्दै स्क्रिप्टले पनि सही ठाउँमा त्यो गीत माग गर्‍यो। मेरो परिचय र सिग्नेचर जस्तो होस् भनेर पनि सारंगी राखेको हुँ। आगामी दिनमा पनि सकेसम्म त्यो चिजलाई राखिराख्न पाऊँ भन्ने अपेक्षा हो।

‘पूर्ण बहादुरको सारंगी’ पछि रुवाउने फिल्महरु आउने ट्रेन्ड चलिरहेको छ। तपाईंलाई पनि दर्शक रुवाएर पैसा कमायो भन्ने आरोप छ। अब तपाईं त्यो आरोपबाट बच्न कत्तिको सचेत हुनुहुन्छ नि?
म एकदमै सचेत छु। पूर्णबहादुरको सारंगी बनाउँदा यसरी रुवाउँछौँ, यसरी चल्छ भन्ने आशा थिएन। इमोसनल कन्टेन्टमा काम भएको छ। यत्तिको फिल्मलाई दर्शकले मन पराउँछन् होला भन्ने मात्रै भरोसा थियो। तर, त्यो फिल्मले हाम्रो अपेक्षाभन्दा धेरै माथि पुगेर दर्शकलाई छोयो। जुन रुनुभयो नि, त्यो रियलमै रोएर सिनेमा नै भाइरल भएको हो। त्यो नियोजित रुपमा रुवाउन खोजेको होइन। त्यस्तो गर्नु पनि हुँदैन।

अर्को, म त्यस्तै फिल्म बनाउनेहरुलाई पनि एउटा ट्रेन्ड फलो गरेर फिल्म बनाउनुहुँदैन, डुबिन्छ भन्न चाहन्छु। किनभने फिल्ममार्फत कतै दर्शकलाई हँसाउनु पनि पर्छ, कहीँ नचाउनुपर्छ। सिनेमा भनेको एउटा जिन्दगी हो। सधैँभरि राम्रा पाटो मात्रै हुँदैन। त्यो खालको नियोजित दर्शक हसाउँछु वा रुवाउँछु भनेर काम गर्नु हुँदैन। मनोरञ्जन दिन्छु भन्ने हिसाबले काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो। म विभिन्न जनरामा काम गर्न तयार छु। सामाजिक कथामा हरेक चिजहरु आउनुपर्छ, एउटै चिज आउनुहुँदैन भन्ने मेरो मान्यता छ।

आगामी फिल्महरूबारे के कस्तो तयारी छ?
तयारीहरु भइरहेको छ। अहिले चाहिँ यो फिल्म रिलिजको तयारीमा भएको हुनाले सबै फोकस यतैतिर लगाइरहेको छु। यसको रिजल्ट हेरेपछि त्यहीअनुसार अरु फिल्म गर्नेबारे सोचिरहेको छु। अझै राम्रो छनोट गरेर काम गर्ने कोसिस रहनेछ। दर्शकलाई पनि राम्रो आउँदैछ भन्ने होस् भनेर सोचिरहेको छु।

अन्त्यमा, दर्शकहरुलाई फिल्मबारे के भन्न चाहनुहुन्छ?
आज मात्रै हाम्रो चलचित्रले सेन्सर पास भएर युनिभर्सल सर्टिफिकेट पाएको छ। सेन्सर समितिले हेरेर दिएको शब्द सापटी लिएर बोल्नुपर्दा उहाँहरुले यस फिल्मलाई पूर्णबहादुरको सारंगीभन्दा राम्रो बनेको प्रतिक्रिया दिनुभएको छ। प्राविधिक रुपमा पनि बलियो भन्नुभएको छ। हामीले मेहनत पनि गरेका छौँ। पहिलो प्रतिक्रिया सेन्सरबाट नै एकदमै राम्रो पाएका छौँ।

दर्शकहरुलाई पनि पूर्णबहादुरको सारंगीका निर्देशकले अर्को फिल्म कस्तो बनायो भन्ने उत्सुकता छ। हेर्नलायक सिनेमा बनेको छ, आएर ढुक्कले हेर्दा हुन्छ। एउटा राम्रो चलचित्र बनेको छ भन्न चाहन्छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad