लेखक भीम न्यौपानेको पहिलो संस्मरणात्मक पुस्तक ‘बादलमुनिको बागलुङ’ लोकार्पण गरिएको छ।
वरिष्ठ चलचित्रकर्मी नीर शाह, लेखक नयनराज पाण्डे, कवि तथा लेखक एलबी क्षेत्री, लेखक अभियन्ता राधा पौडेल, लेखक र उनकी आमा पल्लबी न्यौपानेले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि शाहले लेखक भीमलाई पहिलोपटक नेपाल चलचित्र कलाकार संघमा भेटेको सम्झिए।
पचासको दशकमा संघको सदस्यता लिन पुगेका युवा भीमको स्मरण गर्दै उनले भने, ‘उद्यमशीलतामा हात हालेपछि त्यसलाई पार लगाउन सक्ने क्षमतावान् व्यक्तिका रूपमा लिन्छु भीमजीलाई।’
अनि पुस्तकबारे उनले भने, ‘तत्कालीन राष्ट्रिय मनोविज्ञान, पितृसत्तात्मक सामाजिक मनोविज्ञानसँग जोडिएको गहन पुस्तक हो बादलमुनिको बागलुङ।’
कुनै समय बागलुङको चिरपानीकाे भोजमा जाँदा आफू हुर्किएको गाउँ पुगेको अनुभूति सुनाएका शाहले पुस्तकले अनेक विशेषता बोकेको बताए।
‘म जुन किताबलाई पनि सिनेम्याटिक दृष्टिकोणबाट पढ्ने गर्छु। सिनेमा मबाट अलग गरिदिएमा म म नै हुँदिनँ र याे किताब पढ्दा सिनेमा हेरेजत्तिकै भयो।’
बादलमुनिको बागलुङलाई शाहले बागलुङ मात्र नभएर सिंगो नेपालकै दृश्य आँखामा आउने किताब भने।
लेखक नयनराज पाण्डेले भने, ‘यो किताबबाट म प्रभावित हुनुको कारण आम मान्छेको कथामा पनि साहित्य चेत भयो भने संस्करणात्मक पुस्तक बन्न सक्दोरहेछ। यो पुस्तकको बलियो पक्ष भनेको मौलिकता हो, मिहिन प्रस्तुति हो।’
त्यसैगरी अर्का वक्ता लेखक तथा अभियन्ता राधा पौडलले पनि पुस्तकबारे बोलिन्।
‘कालीगण्डकीको सेरोफेरोमा बोलिने मौलिक भाषा सिक्नका लागि नयाँ पुस्ताले च्याट जीपीटी होइन यो किताब पढे हुन्छ', उनले भनिन्, 'पुस्तकले आम मान्छेको अभाव र संघर्षको कथा भन्छ र आम मान्छे सफल कसरी हुन सक्छ भन्न यो किताब पढ्नपर्छ।’
पौडेलले बादलमुनिको बागलुङ पढ्नेलाई सामाजिक न्याय र समानताका लागि लड्न बल पुर्याउने बताइन्।
कवि तथा लेखक एलबी क्षेत्रीले पुस्तक मानवीय संवेदनाले भरिएको बताए।
भीम लेखकका साथै चलचित्र निर्माता पनि हुन्।
उनले ‘बाटोमुनिको फूल-२' ‘दोख’, ‘सुनकेशरी’जस्ता फिल्म निर्माण गरेका छन्।
अस्ट्रेलियाको मेलबर्नमा बस्ने भीम ट्राभल व्यवसायी पनि हुन्। प्रकाशक किताब किरोले प्रकाशन गरेको किताबको मूल्य ७९५ छ।
Shares

प्रतिक्रिया