आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ लाई प्रिमियर सोमा सकरात्मक प्रतिक्रिया पाएको छ। बुधबार भएको प्रिमियर सोमा कलाकार, लेखक, समाजसेवीलगायतले फिल्मलाई मन पराएका छन्।
फिल्म सकिएलगत्तै कलाकार कर्मा शाक्यले भाइ कुन्दुनलाई अँगालो हालेर कामको प्रशंसा गरे। उनले निर्देशक शर्माले फिल्मलाई जसरी निर्माण गरे त्यसको सराहना गर्दै फिल्मको कथाले आफूलाई एकदमै छोएको बताए।
लुनिभा तुलाधरले सामान्य मान्छेको कथालाई सशक्त रुपमा पर्दामा उतारिएको बताइन्। उनले भनिन्, ‘सबैभन्दा मन परेको मेन्टल हेल्थको कुरा गर्छ। त्यसको आवश्यक छ। काठमाडौँजस्तो शहरमा सबै कुरा छिटो भैरहेको छ। इन्टरनेट र मिडियाबाट मानिसहरू यसरी प्रभावित भैरहेका छन् कि त्यसले उनीहरूको मेन्टल हेल्थमा समस्या पारिरहेको छ। सामाजिक सञ्जालमा हेरेर रातारात आफूसँग नभएको इच्छा आकांक्षा राख्छन्, त्यस्तो अवस्थामा यो एकदमै रिलेटेड फिल्म हो । यसले हँसाउँछ पनि रुवाउँछ पनि, मलाई एकदमै मन पर्यो।’
कलाकार हेना नगरकोटीले फिल्म हेरेपछि त्यहाँ भएका पात्रका रुपमा आफूलाई पनि काम गर्न मन लागेको बताइन्। ‘आजकल ठूला बजेट र प्रचार–प्रसार भएका फिल्महरूले मात्र ध्यान पाउँछन्। तर कहिलेकाहीँ वास्तविक कला यस्ता साधारण तर गहिरो सिर्जनामा पाइन्छ — जसलाई हेर्दा दर्शकको मन छुन्छ,’ उनले भनिन्, ‘यति राम्रो कामलाई अझ धेरै मौका मिल्नु पर्छ भन्ने मेरो प्रबल चाहना हो । यदि दर्शकहरूले तडकभडक, डान्स गाना, हिरोको फाइट मात्र खोज्ने होइन, बरु आफ्नो जीवनलाई ऐनामा हेरेझैँ आत्मनिरीक्षण गर्दै हेर्ने फिल्म रोज्ने हो भने ‘ताराहरू’ साँच्चै उत्कृष्ट चलचित्र हो ।’
त्यस्तै, कलाकार इस्टु कार्कीले फिल्म एकदमै रिलेटेड लागेको बताइन्। उनले भनिन्, ‘फिल्मले नोस्टाल्जिक बनायो । आफूलाई अगाडि बढ्नका लागि मोटिभेट गरेको छ । साँच्चै फिल्म एकदमै उत्कृष्ट बनेको छ।’
निर्देशनसँगै यसपटक एउटा नाटकलाई नै ठूलो पर्दामा ल्याएको बताए। रंगमञ्चबाट भनिएको ‘साथी, साथी आइदेऊ न’ नाटकको कथालाई पुनः चलचित्रको माध्यममा ल्याउन विषयवस्तुले प्रभाव पारेको उनले बताए ।
मानसिक स्वास्थ्यको विषयवस्तु समेटेको फिल्ममा शर्मासँगै मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय रहेको छ।
Shares

प्रतिक्रिया