कला


फिल्म ‘एक्लो’को एउटै दृश्य खिच्न लाग्यो ६ घण्टा

फिल्म ‘एक्लो’को एउटै दृश्य खिच्न लाग्यो ६ घण्टा

नेपालखबर
साउन ७, २०८२ बुधबार १२:१४, काठमाडौँ

साइन्स फिक्सन फिल्म ‘एक्लो’को केही महत्त्वपूर्ण दृश्य काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भव्य सेटअप तयार गरी छायांकन गरिएको छ।

निर्देशक प्रदीप शाहीका अनुसार, तीन मिनेट लामो एक सट दृश्य खिच्न विशेष तयारी गरिएको थियो, जसमा विजय लामा र दिया पुनले सर्ट दिए। 

दृश्यमा पाइलट विजय लामाको अगाडि सवारी दुर्घटनाको दृश्य देखिन्छ, जहाँ जम्बीको कारण भिडभाड भएको देखाइएको छ। उक्त दृश्यले फिल्मको कथा अघि बढाउने महत्त्वपूर्ण मोडको प्रतिनिधित्व गर्छ।

छायांकनका क्रममा कलाकारहरू पटकपटक दौडिएर कार र साइकलबीच भएको दुर्घटनास्थलमा पुग्ने दृश्य पुनः अभिनय गर्नुपरेको थियो।

सट बिग्रिएपछि बारम्बार ‘कट’ भन्दै दृश्य दोहोरिनुपर्‍यो। निर्देशकका अनुसार, दुई मिनेट लामो वान सट दृश्य खिच्न झण्डै ६ घण्टा लाग्यो। कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’का अनुसार यस्तो दृश्य खिच्नका लागि उच्च स्तरको योजना र धैर्य आवश्यक पर्छ।

फिल्म ‘एक्लो’ नेपाली चलचित्र क्षेत्रमा दुर्लभ वैज्ञानिक कथामा आधारित चलचित्र हो, जसमा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा छन्। हाल फिल्मको पोस्ट-प्रोडक्सन कार्य लन्डनमा भइरहेको छ र आगामी पुस महिनामा क्रिसमस अवसर पारेर रिलिजको तयारी भइरहेको छ। 

यस फिल्मले यसअघि कान्स फिल्म फेस्टिभल को बजार क्षेत्र (मार्केट) मा आफ्नो उपस्थिति जनाएको थियो, जसले अन्तर्राष्ट्रिय स्तरमा पनि चासो बटुलेको छ। फिल्मको निर्देशन प्रदीप शाहीले गरेका हुन्, जसले यसअघि दुई फिल्म निर्देशन गरिसकेका छन्। लामो समयदेखि बेलायतमा बसोबासरत शाहीले ‘एक्लो’ लाई हलिउडस्तरको प्रविधि र प्रस्तुति दिने लक्ष्यसहित निर्माण गरिरहेका छन्।

प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवनराज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, आरुषजंग सारु मगर, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह तथा बेलायती अभिनेता जेमी बेकनलगायतको अभिनय छ। 

‘एक्लो’ नेपाली फिल्म उद्योगमा वैज्ञानिक कल्पनामा आधारित उच्चस्तरीय प्रस्तुति दिनेतर्फ एक गम्भीर र महत्त्वाकांक्षी प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad