केही समयदेखि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ को पारिश्रमिकको कुरा चर्चामा छ। चलचित्र ‘माग्ने राजा’मा ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भन्दै उनी मंहगो अभिनेता बनेको भनेर चर्चा चलेको थियो।
तर, घिमिरेले भने प्रचार गरिए जस्तो आफूले पारिश्रमिक नलिएको दाबी गरेका छन्। आइतबार राजधानीमा आयोजित मिसेस नेपाल वर्ल्ड २०२५ को पत्रकार सम्मेलनमा उनले फिल्मको प्रचार र फण्डाको लागि निर्माताले बोल्न भनेको र आफूले बोलेको भन्दै त्यस खबरको खण्डन गरे।
‘मैले त्यो रकम लिएको होइन, कति रकम लिएको भन्ने कुरा सार्वजनिक रुपमा भन्न चाहन्नँ,’ घिमिरेले भने, ‘निर्माता मुनाल घिमिरेजीले बोल्न भनेपछि मैले बोलेको हुँ।’
झण्डै एकमहिनाअघि ‘माग्ने राजा’ को एक कार्यक्रममा निर्माता मुनाल घिमिरेले केदारलाई ६१ लाख रुपैयाँ दिएको मिडियासामु बताएका थिए। त्यसपछि घिमिरेलाई अहिलेसम्मकै मंहगो कलाकार भनेर खबर फैलिएको थियो।
केदारको मुख्य भूमिका रहेको यो फिल्म भदौ ६ गतेबाट रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया