वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा नेपालकै होचो ठाउँ झापाको कचनकवलदेखि सगरमाथाको चुचुरोसम्मको रोचक, साहसिक र ऐतिहासिक यात्रालाई समेटेर निर्माण गरिएको छ।
सञ्चारकर्मी प्रेम बानियाँले पहिलो यात्रीका रुपमा यात्रा थालेका थिए। त्यससँगै १८ पटक सगरमाथा आरोहण गरिसकेका टेण्डी शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, आरोही, तथा लेखक कोन्राड एन्कर, आङपासाङ शेर्पा लगायतको यात्रा यसमा समावेश छ।
कचनकवलदेखि सुरु भएको यात्रा इलामको कन्याम, श्रीअन्तु, धनकुटाको नाम्जे, हिले बजार, भोजपुरको मुन्धुम ट्रेल, खोटाङको हलेसी हुँदै , ओखलढुंगा, सोलुखुम्बुको पातले, सल्लेरी, बुप्सा, थामडाँडाहुँदै सुर्के, फाक्दिङहुँदै मञ्जो, नाम्चे बजार, खुम्जुङ, त्याङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरखक्षेपपछि कालापत्थर र बेसक्याम्प क्याम्पसम्म पुग्छ।
त्यसपछि क्याम्प १, क्याम्प २, क्याम्प ३, क्याम्प ४ (साउथकोल), हिलारी स्टेप हुँदै शिखरमा पुगेर यात्रा सम्पन्न हुनेछ।
‘यो केवल वृत्तचित्रमात्रै होइन। देश चिनाउने हाम्रो अठोट हो। समुद्री सतहबाट ५८ मिटरमा रहेको कचनकवललाई खनेर समुद्री सतह बराबर बनाउन सकिन्छ र त्यहाँ एउटा गाउँ बसाल्न सकिन्छ, जहाँबाट सगरमाथासम्मको यात्रा गर्न सकिन्छ भन्ने अवधारणा हामीले यसमार्फत अघि सारेका छौँ। नेपालका लागि यो इतिहासको एक गौरव क्षण हो र संसारकै लागि एउटा रोचक नयाँ अध्ययाको आरम्भ हो। यो अवधारणालाई पूरा गर्ने हाम्रो लक्ष्य छ,’ पत्रकार प्रेम बानियाँले भने।
उनका अनुसार मानिसको जीवन पनि जिरोबाट सुरु हुन्छ र बिस्तारै बाल्यकाल, किशोरावस्था, वयस्क हुँदै अघि बढ्छ। यो यात्रा मानव जीवनको एउटा यात्राको संकेत पनि हो झन्डै ५ सय १० किलोमिटर दूरीको पदयात्रा पूरा गर्न झन्डै ९० दिन लागेको पनि उनले बताए। निर्देशक निरञ्जन पाण्डेले देशका लागि केही गरौं भन्ने हुटहुटीले वृत्तचित्र निर्माणमा प्रेरित गरेको सुनाए।
जलवायु परिवर्तन अध्ययनका लागि पनि यस गन्तव्य विशिष्ट हुने उनले बताए। त्यस्तै भूगर्भ पर्यटनको अध्ययन केन्द्र समेत बन्नसक्ने धारणा राखे। वृत्तचित्रलाई निर्देशकद्वय निरन्जन पाण्डे र बलराम बुढाथोकीले मिलेर सम्पादन तथा छायाँकन गरेका हुन् ।
श्री वाग्ले कार्यकारी निर्माता रहेको वृत्तचित्रमा उमंग शाही सहायक छाँयाकार छन्। त्यस्तै प्रोडक्सन टिममा कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाह छन्। वृत्तचित्रमा समावेश सगरमाथा शिखरका दृश्य सुजन गुरुङ र दोजी शेर्पाले छायाँकन गरेका हुन्। उनीहरु दुबै यसका लागि शिखरमा पुगेका थिए ।
Shares

प्रतिक्रिया