कला


दिवंगत छोरीको स्मृतिमा नयाँ कलाकारलाई रागिनीले जुराइदिएको अवसर

जसले एउटी छोरी गुमाइन्, हजारौँ छोरीको सपना पूरा गराउन लागिन्
दिवंगत छोरीको स्मृतिमा नयाँ कलाकारलाई रागिनीले जुराइदिएको अवसर

नेपाल कला परिषद्को प्रदर्शनीकक्षमा प्रतिभा खड्काको चित्र अवलोकन गर्दै दर्शकहरू। तस्बिर: सरोज नेपाल


आयुषा ढकाल
बैशाख ११, २०८२ बिहिबार १८:३३, काठमाडौँ

एउटा माछा काँडेतारको बीचमा फसेको छ। अनि पृष्ठभूमि चुक घोप्टिएजस्तो कालो र अन्धकार। त्यो माछा चल्मलाउँदा पनि सुख छैन, नचल्मलाएरै बस्न पनि सक्दैन।

माछा आफैमा चुप लागेर एक ठाउँमा बस्न सक्ने प्राणी होइन। तर, यो माछा निस्कन खोज्दा काँडेतारले चिथोर्छ। नचट्पटाई बस्दा पनि उसले पीडाको महसुस गर्छ।

नेपाल कला परिषद्, बबरमहलको प्रदर्शनी कक्षको भित्तामा टाँगिएको यस चित्रमा प्रतिभा खड्काले आफ्नो जीवनको अनुभूति माछाको विम्बमार्फत उतारेकी हुन्।

जीवनका विभिन्न चरणमा यस्तै अनुभूति हुने गरेको उनी बताउँछन्। अहिलेकै परिस्थितिसँग पनि यसरी अर्थ्याउँछिन् उनी, ‘म पेन्टिङ नबनाइकन बस्न पनि सक्दिनँ र पेन्टिङ बनाउने कोसिस गर्दा सोचेजस्तो नबनेको घडीमा पनि मलाई पीडा हुन्छ।’

यसरी आफ्नो अनुभूतिलाई कलामा उतार्न प्रयासरत खड्काले पहिलोपल्ट सार्वजनिक प्रदर्शनीमा ल्याउने अवसर पाएकी छन्। काठमाडौँको ललितकला क्याम्पसमा स्नातक तह दोस्रो वर्ष अध्ययनरत खड्काका लागि यो अवसर जुराइदिएको हो, शिवाता लभ फाउन्डेसनले।

कटारी, उदयपुरकी उनी बाल्यकालदेखि नै पेन्टिङमा रुचि राख्थिन्। ‘अहिले त्यसमा जोस थपिएको छ र जुनुनमा परिणत भएको छ,’ चित्रकला प्रदर्शनी ‘शिवाता ३०’ को सिलसिलामा कला परिषदमै भेटिएकी उनले भनिन्।

उनलाई चित्रकलामै केन्द्रित हुनुपर्छ भन्ने अठोटमा भने कोरोनाकालले पुर्‍याएको थियो। रुचिको विषयमा काम गर्दै जाँदा आफू अब यसैमा लाग्नुपर्छ भन्‍ने सोच आएको खड्का बताउँछिन्।

‘शिवाता ३०’ प्रसिद्ध कलाकार एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्यायकी दिवंगत छोरी शिवाताका नाममा आयोजित प्रदर्शनी हो।

उपाध्यायले छोरी गुमाएपछि उनकै नाममा शिवाता फाउन्डेसन स्थापना गरी विपन्न, जेहेन्दार, पिछडिएका क्षेत्रका बालबालिकाको शिक्षामा काम गरिरहेकी छिन्।

यो प्रदर्शनी पनि युवा कलाकारलाई प्रोत्साहन गर्न आयोजना गरिएको उपाध्यायको भनाइ छ। वैशाख १० गते कार्यक्रम उद्घाटनका क्रममा उनले भनिन्, ‘शिवाता आज यस संसारमा भएको भए ३० वर्षको पुग्थिन्। उनीजस्ता थुप्रै छोरीहरू र युवाहरूलाई हौसला प्रदान गर्न वार्षिकरूपमा यस प्रदर्शनीको आयोजना गर्दै आएका हौँ। यो कार्यक्रम पनि यसैको निरन्तरता हो।’

खड्का पनि उपाध्यायको प्रेरणा र हौसलाबाट अगाडि बढ्न सहज भएको बताउँछिन्।

उनी भन्छिन्, ‘रागिनी म्यामको छोरी पनि एउटा कलाकार हुनुहुन्थ्यो। शिवाता लभ फाउन्डेसनको माध्यमबाट आफ्नो छोरीजस्तै ठानेर हामीलाई मौका दिनुभयो। मलाई निकै खुसी लागेको छ।’

अघिल्लो वर्षको प्रदर्शनीमा स्वयंसेवकको रूपमा खटिएकी खड्का अहिले आफ्नै सिर्जनासहित सहभागी भएकी छिन्। ‘हामी कलामै जीवन बिताउन चाहनेका लागि उहाँ (रागिनी) एक आदर्श पात्र हो’ उनी भन्छिन्, ‘प्रदर्शनीकै सिलसिलामा कुन कलालाई कहाँनिर राख्‍न सकिन्छ, कसरी कला हेर्न आउने दर्शकलाई मोहित बनाउन सकिन्‍छ भन्‍ने पनि सिक्न पाएँ।’ 

नवकलाकारहरूका साथ रागिनी उपाध्याय

फाउन्डेसनले स्थापनाको ८औँ वर्ष पुगेको सन्दर्भमा ‘शिवाता ३०’ प्रदर्शनी गरेको हो। वैशाख १३ सम्म चल्ने प्रदर्शनीमा ३० जना युवा कलाकारका रचना राखिएका छन्। यस फाउन्डेसनमा शिवाता जति वर्षकी हुन्छिन्, कलाकारहरू पनि उति नै थपिँदै जान्छन्। आफ्नो छोरीले यो संसार छोडेर गएको भए तापनि उनीजस्तै हजारौँ छोराछोरीको सपना पूरा गर्ने उद्देश्य राखी उपाध्यायले फाउन्डेसन स्थापना गरेकी हुन्। उनी स्वयंले कलामा बिताएको समय नै ५ दशक बितिसकेको छ।

‘मेरा लागि कला भगवानको देन हो। बाल्यकालदेखि नै लगाव थियो। आफ्नो जीवनमा आफूले हासिल गर्नुपर्ने धेरै कुरा भइसक्यो। अब भने शिवाता लभ फाउन्डेसनको माध्यमबाट भर्खरै सुरुवात गर्ने युवा र तिनका रचनालाई समय दिइरहेकी छु,’ उनी भन्छिन्।

जुन किसिमको संघर्ष गरेर आफूले आफ्ना कला बेच्नुपरेको थियो, त्यति संघर्ष नयाँ पुस्ताका कलाकारले गर्नु नपरोस् भनेर यसरी खटिएको उपाध्यायको भनाइ छ।

‘कला डक्टर, इन्जिनियरको पेसाजस्तो होइन, कलामा काम गर्न र सफलता प्राप्‍त गर्नको निम्ति समय लाग्छ नि त,’ उपाध्याय प्रस्ट्याउँछिन्।

प्रदर्शनीमा अर्का कलाकार अमन रौनियार लाखेको चित्रसहित सहभागी छन्।

वीरगन्जका अमन काठमाडौँको संस्कृतिसँग भिजेका मात्र छैनन्, इन्द्रजात्रामा हुने लाखे नाच साह्रै मन पराउँछन्। उनी नाखे नाच हेर्न कहिल्यै छाड्दैनन्। त्यसैलाई आधार मानेर उनले लाखेको पेन्टिङ बनाएको उनी बताउँछन्।

हुन पनि चित्रमा उनले लाखेलाई निकै सुन्दर रङहरूको माध्यमबाट रंग्याएर जात्राको समयमा खुसी हुँदै नाचेको भावमा प्रस्तुत गरेका छन्, जसरी जात्रामा दुःखलाई भुलेर रमाइलो गरिन्छ।

हिमालय माध्यमिक विद्यालय, न्युरोड, काठमाडौँमा कक्षा १० पढ्दै गरेका रौनियार पढाइमा पनि अब्बल छन्। छात्रवृत्तिमा पढ्ने अवसर पाइरहेका उनले विद्यालयस्तरका चित्रकला प्रतियोगिताहरूमा विभिन्‍न पुरस्कार जितेका छन्।

कुनै बेला रौनियार वसन्तपुरमा अरूले बनाएको स्केच तथा पेन्टिङ हेर्न जान्थे र घरमा आएर त्यस्तै बनाउने अभ्यास गर्थे। अहिले उनी चित्र बनाउँछन्, पुरस्कृत हुन्छन् र अरूले उनको नक्कल गर्ने प्रयास गर्छन्।

उनीसँग बालेन्द्र शाह (बालेन), सुनीता डंगोल र कुलमान घिसिङको चित्र बनाएर उनीहरूलाई नै हस्तान्तरण गरेको अनुभव पनि छ। उनी स्केच, चित्र आदि बनाएर इन्स्टाग्राममा राख्छन् र बेच्छन् पनि। 

‘तर, यसरी बेच्दा पनि चित्रको लागत मात्र उठ्छ, धेरै पैसा भने दिँदैनन्,’ खुसी र गुनासो एकसाथ सुनाउँछन् उनी, ‘मेरो कला कसैले मन पराएर किन्दा खुसी लाग्छ। तर, सामानमा लागेको खर्च मात्रै उठ्छ। मेरो मेहनतको पैसा लिन पाएको छैन।’ 

भविष्यमा उनी मेहनतको पनि पैसा पाइनेमा भने ढुक्क छन्। सानैमा बुवा गुमाएका उनी भविष्यमा पेन्टिङ बेचेर आमाको खुसीका लागि खर्च गर्न चाहन्छन्। आफ्नो खुट्टामा उभिन उनको आफ्नै सूत्र छ, ‘मलाई अरूजस्तो बन्‍नु छैन। बस्, म आफैँमा एउटा राम्रो कला र क्षमता भएको व्यक्ति बन्‍न चाहन्छु।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad