कला


निर्देशकको आँखामा आँसु देखेपछि मेरो पनि आँखा रसायो: हरिवंश आचार्य (भिडिओ)

अनि सुटिङभरि हरिवंशले मजाक गरेनन्

अनिल यादव
बैशाख ६ , काठमाडौँ

एउटा अमेरिकी सहरमा नेपाल हुँदै अमेरिका आइपुगेका भुटानी शरणार्थीको कथामा बनेको फिल्म ‘भूठान’को वर्कसप हुँदै थियो। फिल्मको प्रमुख पात्र निर्वाह गर्दै थिए, हरिवंश आचार्य। हो, तिनै हरिवंश जो हास्यव्यंंग्यको दुनियाँमा चर्चित छन्।

उनलाई भेट्नेहरूलाई थाहा हुनुपर्छ, उनको बोलीमा यति ‘ह्युमर’ छ कि अनौपचारिक गफगाफमा त्यसै मान्छे हँसाइदिन्छन्। तर, यसपटक उनी ‘सिरियस’ भूमिकामा थिए।

निर्देशक विनोद पौडेललाई एउटै चुनौती थियो– हरिवंशलाई उनीभित्रको ‘ह्युमर’ हटाएर ‘भूठान’को पात्रमा घुसाउने। वर्कसपमा विनोद त्यही प्रयास गर्दै थिए। एक्कासि हरिवंशको फोनमा एउटा घन्टी बज्यो। तीन घन्टा लामो ड्राइभ गरेर कोही उनलाई भेट्न त्यहाँ आइपुग्यो। उनी जुरुक्क उठे र चलिरहेको वर्कसप छाडेर ती व्यक्ति भेट्न गए।

यता वर्कसपमा हल्लीखल्ली भयो– हरिवंश दाइ सिरियस नै हुनुभएन, लापरबाही गर्नुभयो।

जब हरिवंश फर्किएर आए निर्देशक पौडेलले गम्भीर मुद्रामा उनलाई भने– ‘दाइ, एउटा कुरा गर्नुछ। मेरो कोठामा गरौँ कि तपाई‌ंकै कोठामा आऊँ?’

हरिवंशले यसो विनोदको मुहार पढे। विषय त गम्भीर देखियो।

जवाफमा उनले भने, ‘तपाईंकै कोठामा आउँछु।’

‘दाइ, म चार वर्षदेखि यो सिनेमाको सपनामा लागिरहेको छु,’ त्यसपछि विनोदले हरिवंशलाई भने, ‘सबै चिज त्यागेर यो सिनेमा गर्दैछु। दाइले वर्कसप छोडेर हिँड्दिनुभयो भनेर अरुले चित्त दुखाइरहेका छन्।’

‘त्यसो भन्दा मलाई पनि चित्त दुख्यो,’नेपालखबरको सो ‘लेट्स टक’मा हरिवंशले त्यो क्षण सम्झिँदै भने, ‘३ घन्टा ड्राइभ गरेर मलाई भेट्न आउने मान्छेलाई मैले १५ मिनेट ब्रेक गरेर भेट्न जान पनि नपाउनु? अलिअलि पारिश्रमिक लिया छु होला। मनमा के लाग्यो भने पैसा सैसा फिर्ता दिएर हिँड्दिम् कि क्या हो? पछि यसो सोचेँ, सबै चिज भताभुंग हुन्छ। फेरि विनोदजीको कन्भिन्स गर्ने शैली अलि फरक छ। उहाँँको आँखामा हेर्दा आँसु देखेँ। मलाई त्यति भन्नलाई उहाँलाई धेरै गाह्रो भयो जस्तो लाग्यो। त्यसपछि मेरो पनि आँखा रसायो। बेकार यत्रो चिज भयो भन्ने लाग्यो। अनि मैले नै सरी भन्दिएँ।’

त्यसपछि त्यहाँ हरिवंशको हँसाइरहने स्वभावको पनि प्रसंग उठ्यो। विनोदले आग्रह गरे– ‘दाइ, यो चलचित्रको सुटिङभरि जोक नगरिदिनुस्, प्लिज। भाउजुसँग पनि जोक नगरिदिनुस्, कोहीसँग नगरिदिनुस्। ’

फेरि हरिवंश झसंग भए। कसैसँग केही नबोली कोठा छेउको भर्‍याङमा गए। लामो समयसम्म एक्लै घोत्लिएर बसे।

‘उहाँको कुरा मानेर भर्‍याङमा गएर एक्लै बसेको थिएँ। त्यसपछि उहाँहरूले भनेजसरी अनुसरण गरेर हिँडेँ,’  उनले भने। 

वैशाख १२ बाट रिलिज हुन लागेको यो फिल्ममा हरिवंशले ६५ देखि ७० वर्षबीचिको वृद्धको भूमिका निर्वाह गरेका छन्, जो भुटानबाट लखेटिएर नेपालहुँदै शरणार्थीका रूपमा संसारकै सपनाको देश भनेर चिनिएको अमेरिका पुगेको छ। उसँग सबथोक छ, तर खुसी छैन। आफ्नै देश फर्किन नपाएको पीडाले बिथोलिएको छ।

यो पात्रको तयारीका क्रममा हरिवंश थुप्रै भुटानी नेपालीको घरमा पुगेका छन्। माटोप्रतिको उनीहरूको प्रेम र तड्पाइ देखेर भावुक पनि भएका छन्।

‘जहाँको सरकारले उनीहरूलाई लखेट्यो, त्यहीँका राजारानीको ग्लास दराजमा राखिरहेको पाएँ। जो भुटानबाट लखेटिएर नेपालको शिविर आइपुग्दा सानो बच्चा थिए र जो शिविरमै जन्मिए, उनीहरूलाई खासै चासो छैन। तर, जो जवान र परिपक्व भएपछि भागेर शिविरमा बस्न बाध्य भए, उनीहरूमा अथाह पीडा छ,’ उनी भन्छन्।

‘मैले निर्वाह गरेको चरित्र मेरै उमेरको मान्छेको हो,’ लगत्तै हरिवंशले थपे, ‘त्यो मान्छेलाई एकदमै धेरै पीडा छ। सरकारले भत्ता दिन्छ, घर छ, गाडी छ, सबैथोक छ तर माटो छैन। जुन सपना छ, त्यो सपना छैन। त्यहाँ पुगेका भुटानी शरणार्थीका युवा पुस्ता १५ वर्षको बीचमा अर्बपति भएकाहरू छन्। उनीहरू खुसी छन्, रमाएर बसेका छन्। तर, मेरो उमेरकालाई सकस छ। अझै पनि फिर्ता जान पाए हुन्थ्यो भन्ने छ। कतिले त्यही कारण सुसाइड गरेका छन्। कति मान्छेले भुटानबाट भाग्नुपर्दा झोलामा माटो लिएर भागेका रहेछन्। त्यहाँ ती मान्छेहरू पनि भेटेँ जो अहिले पनि कोटको खल्तीमा भुटानको माटो बोकेर हिँड्छन्। कोही त्यहाँ बिते भने त्यही भुटानको माटो लाइदिने रहेछन्।’

यो फिल्मका लागि वर्कसप चलेको केही दिनसम्म पनि हरिवंश ठ्याक्कै चरित्रमा पस्न सकिरहेका थिएनन्। एकदिन निर्देशक पौडेलले हरिवंशलाई भने– ‘दाइ, तपाईं कहिल्यै नेपाल फर्केर जान पाउनुभएन भने तपाईको मनोदशा के होला?’

हरिवंश फेरि झसंग भए।

‘म कार्यक्रम गर्न जहाँ जाँदा पनि नेपाल गइहालौँ भन्ने लागिहाल्थ्यो,’ हरिवंश चरित्रमा घुस्दाको क्षण सम्झिँदै भन्छन्,‘बसिरहुँ भन्ने उत्साह मलाई कहिल्यै लाग्दैन। नेपाल नै जान पाए हुन्थ्यो भन्ने हुन्थ्यो। त्यसैले नेपाल जान पाउनुभएन भने भन्ने प्रश्नले म त झसंग भएँ। मेरो परिवार त्यहीँ छ, नातिनी छे, घर छ, साथी छन्, समाज छ। त्यो सोच्दाखेरी म त एकदम भावुक भएँ।’

लगत्तै विनोदले उनको भावुक अनुहार पढे र भने– ‘हो, तपाईंले निर्वाह गर्ने चरित्रलाई अहिले यस्तै भएको छ। तपाईं त फर्केर जान पाउनुहुन्छ तर त्यो चरित्र त कहिल्यै पनि फर्केर जान पाउँदैन।’

‘त्यसपछि म भावुक भएर क्यारेक्टरमा स्वाट्टै पसेँ। मेरो मन चन्चल भएर कतै जान लाग्यो भने म विनोदजीले भनेको त्यही कुरा सम्झिहाल्थेँ,’ हरिवंश सम्झन्छन्।

५० वर्षको कलाकारितामा हरिवंशले पाएको कुरा
धेरैलाई थाहा नहुनसक्छ, हरिवंशको कलाकारिता यात्राले यही साल ५० वर्ष टेकेको छ। विस.२०३१ मा रेडियो नेपालबाट सुरु भएको यो यात्रा ‘भूठान’सम्म आइपुग्दा तितामिठा अनुभूतिका अनेक पहाडहरूले अग्लिएका छन्।

हामीले हरिवंशलाई सोध्यौँ– आज ऐनाअघि उभिएर यो यात्रालाई कसरी समीक्षा गर्नुहुन्छ? के पाउनुभयो, के गुमाउनु, के सिक्नुभयो?

हरिवंशको मुहार हर्षले गमक्क भयो।  

जवाफमा उनले भने, ‘यो क्षेत्रबाट सम्पूर्ण चिज पाएँ। नपाएको केही पनि छैन। इज्जत, मान, प्रतिष्ठा, आर्थिक लाभ, भौतिक सुविधा, विदेश यात्रा, अपार माया। मैले काम सुरु गर्दा देशको जनसंख्या दुइ करोड मात्रै थियो, अहिले १ करोड थपिएछ। योबीचमा मैले नपाएको चिज केही पनि छैन। केही गुमाएको पनि छैन। यो क्षेत्रमा आउनुअघिसम्म मसँग केही पनि थिएन, त्यसैले केही पनि हराइनँ। मान्छेहरू यो क्षेत्रमा आएपछि  प्राइभेसी भएन, प्राइभेट लाइफ हरायो भन्छन्। खासमा त्यो गलत हो। त्यस्तो हो भने यो क्षेत्रमा किन आउने? मान्छेहरूले चिनुन् भनेर काम गर्ने हो। सबैले चिन्ने काम छानेपछि मेरो प्राइभेसी भएन भन्न पाइँदैन। यसबारे यो क्षेत्रमा आउनुअघि नै सोच्नुपर्छ। ’

उनी यत्तिमै रोकिएनन्। लगत्तै भने, ‘बजारमा जाने हो, कहिलेकाँही कुचो पनि किनेर ल्याउने हो। कसैले माया गरेर श्रद्धा गरेर फोटो खिच्न आउँछ भने खिच्दिने हो।’

अनि अस्पतालमा अलि अप्ठेरो हुन्छ भन्छन् नि?

जवाफमा उनले भने, ‘अस्पतालमा अलिकति अप्ठेरो हुन्छ तर रिसाउन पाइँदैन। मेरा आफन्त घिटिघिटी भएका बेला, कोही बितेको बेला पनि अस्पतालमा तस्बिर खिचाउन आउनुहुन्छ। तर, रिसाउनु पाइँदैन। अहिले अलिकति असहज अवस्था छ, पछि खिचौँ न ल भनेर भन्न सक्नुपर्छ।’

धेरैले ‘भूठान’को ट्रेलर हेरेपछि कलाकारितामा हरिवंशको पुर्नजन्म भनिरहेका छन्। हरिवंश ठ्याक्कै त्यसो त भन्दैनन् तर जीवनको उतरार्द्धमा आफूले निर्वाह गर्न चाहेजस्तै चरित्र पाएकोमा गद्गद् छन्।

भन्छन्, ‘हास्यकलाकारका रूपमा मेरो छाप यस्तो बसेको छ कि भूठान हेरेर आउने मान्छेले पनि हास्यकलाकार नै भन्छन् होला। भोलि यही फिल्मबाट केही पाएँ भने पनि स्टेजमा बोलाउँदाखेरी कार्यक्रम संचालकले पनि हास्यकलाकार नै भनेर बोलाउँछ होला। तर, म केमा पनि ढुक्क छु भने यो फिल्मबाट म हास्यकलाकार होइन, चरित्र अभिनेता भनेर चिनिन्छु, पक्का चिनिन्छु।’

हेर्नुस्, ‘लेट्स टक’ जहाँ हरिवंशले आफ्नो ५० वर्षे कलाकारिता यात्राको तितामिठा अनुभूतिसँगै अनेक पाटा उप्काएका छन् : 

बैशाख ६, २०८२ शनिबार ९:२८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad