करिब एक दशकअघिको कुरा हो। त्यतिबेला स्वस्तिमा खड्का ‘मिस टिन’ सकेर मोडलिङ सुरु गर्दै थिइन्। हल्का फोटोसुट पनि गर्थिन्। त्यसबेला हिरोइनका लागि खासै अडिसन गर्ने प्रचलन थिएन। धेरैजसो फेसबुक/इन्स्टाग्रामबाटै अभिनेत्री छान्ने चलन थियो।
भर्खरभर्खरै स्वस्तिमाको दोस्रो म्युजिक भिडिओ ‘कुच्ची कुच्ची’ रिलिज भएको थियो। थापाथली इन्जिनियरिङ क्याम्पसबाट डिप्लोमा गरिरहेकी १९ वर्षीया स्वस्तिमालाई एकदिन फेसबुकमा साथी रहेका निर्माता सुनिल रावलबाट एक्कासि फिल्मको अफर आयो। उनी हच्किइन्। यति सानो उमेरमा त्यति ठूलो ब्यानरको हिरोइन!
‘म त्यतिबेला १९ वर्षकी थिएँ,’ नेपालखबरको सेलिब्रेटी सो लेट्स टकमा आइपुगेकी स्वस्तिमाले भनिन्, ‘फिल्म गर्नेबारे सोच्नु त एकदमै ठूलो कुरा लाग्थ्यो मलाई त्यतिबेला। म बच्चै थिएँ, अहिले पनि त्यो फिल्म हेर्दा आफूलाई बच्चै देख्छु। त्यतिबेला ‘होस्टेल रिटर्न्स’ होइन ‘लभ नम्बर’ भन्ने फिल्म बन्ने तयारी थियो। मैले नगर्ने कि भनेकी थिएँ उहाँलाई।’
तर, निर्माता रावलले उनलाई एकपटक वर्कसप भए पनि हेर्न आउन निम्ता दिए। भोलिपल्टै वर्कसप हेर्न पुगिन्।
‘खासमा उहाँसँग भेटौँ भन्ने सोचले पुगेँ, तर वर्कसपको माहोल देख्नेबित्तिकै लोभ लाग्यो,’ स्वस्तिमाले सम्झिइन्, ‘फेरि कुनै समयमा फिल्म गर्छु भन्ने नै थियो। तर, यति चाँडै अफर आउला भनेर सोचेको थिइनँ। त्यसैले होला, त्यही दिन मैले फिल्म गर्छु भनिदिएँ।’
यो फिल्ममा उनले निर्वाह गरेको पात्र हो– एलिना। त्यतिबेला उनको कलेजको अन्तिम परीक्षा चलिरहेको थियो। हरेक दिन २ बजे परीक्षा हुन्थ्यो, त्यो सकेर उनी वर्कसपमा पुग्थिन्। सबै संवाद कण्ठ गर्थिन्।
‘वर्कसप पनि विद्यालयजस्तै थियो, सुनिल रावल सर वार्डेनजस्तै कडा स्वभावको हुनुहुन्थ्यो। त्यसैले होला पहिलो फिल्मले नै मलाई सेटको अनुशासन सिकायो,’ स्वस्तिमाले भनिन्।

स्वस्तिमा पहिलो फिल्मसँग जोडिएको एक दशक पुगेको छ। रिलिजको संघारमा छ उनी अभिनीत अर्को फिल्म ‘वसन्त’। ‘होस्टेल रिटर्न्स’देखि ‘वसन्त’सम्म आइपुग्दा स्वस्तिमाले अनेक पात्रहरू बाँचिन्। ग्ल्यामर दुनियाँको पत्रपत्र केलाइन्। सुख देखिन्, दुःख देखिन्। तर, फर्केर हेर्दा यो १० वर्षलाई उनी मिठो सम्झनाहरूको भकारी मात्रै ठान्छिन्।
‘मिठो सम्झनाहरू धेरै छन्,’ उनी भन्छिन्, ‘मेरा लागि १० वर्ष रमाइलोसँग बित्यो। जीवनमा अप्स एन्ड डाउन्स हुन्छ नै। जीवनका अप्ठेरा पाटोलाई पनि म सकारात्मक रूपमा लिन्छु। मलाई संघर्षको बढाइँ गर्न खासै मन लाग्दैन। नमिठा पल होलान् तर मिठा सम्झना नै धेरै छन्। फर्केर हेर्दा यो बीचमा मैले जे कमाएको छु, जस्तो बनेको छु, त्यो कामकै कारण छु जस्तो लाग्छ।’
यो बीचमा कामले नै उनलाई सिकाएको छ, मान्छे जति लचिलो हुन सक्यो, जीवन त्यति नै सहज हुने रहेछ।
‘सानोमा बुबाले हामीलाई चप्पल किन लैजाँदा त्यो कति लचिलो छ भनेर चेक गर्नुहुन्थ्यो, त्यो जति लचिलो भयो, त्यति नै राम्रो भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘अहिले सम्झँदा जीवन पनि त्यस्तै त रहेछ। हामीले वरिपरिका कुराहरूलाई जति सहज रूपमा लिन सक्यो, जीवन त्यति सहज हुने रहेछ। अझ कलाकारको जीवन, आज के हुन्छ, भोलि के थाहा नै हुन्न। नियतवश नगरेका गल्तीहरूको कारण पनि आरोप खेप्नुपर्ने हुनसक्छ। तर, त्यसलाई सहज रूपमा लिन सकिएन भने गाह्रो हुन्छ। त्यसैले मैले यो बीचमा सबैभन्दा सिकेको भनेकै जीवनलाई जटिल बनाउनु हुँदैन, सकेसम्म सहज हुन सक्नुपर्छ।’
स्वस्तिमाको करिअरग्राफलाई हेर्ने भने उनले ‘चुलबुले’, ‘रोमान्टिक’देखि गम्भीर पात्रहरू पनि जीवन्त बाँचेकी छन्। ‘छक्का पञ्जा’, ‘नाइँ नभन्नु ल’जस्ता फिल्मको चरित्रमा कसरी काम गर्ने? वा ‘चिसो मान्छे’, ‘बुलबुल’ र ‘वसन्त’जस्तो फिल्मको पात्रमा कति मेहनत गर्ने? अभिनयको यो यात्रामा उनले सबै खुट्याउन जानिसकिन्। उनको त्यही परिपक्वता फिल्मको पर्दामा पनि पोखिन थालेको छ।
अन्तरजातीय प्रेम र जातीय विभेदको कथामा प्रकाश सपुतले बनाएको फिल्म ‘वसन्त’मा स्वस्तिमा कथित उपल्लो जातकी युवतीको भूमिकामा छिन्। ट्रेलर हेर्दा पनि अनुमान गर्न सकिन्छ, उनी कथित दलित समुदायका युवासँग प्रेममा छिन्। ट्रेलरको एक दृश्यमा उनलाई जनयुद्ध लडेको लडाकुको रूपमा देखिन्छ।

यद्यपि यसबारे विस्तृत फिल्म हेरेपछि नै थाहा हुन्छ।
‘ट्रेलरमा कहिलेकाहीँ झुक्याउन पनि खोजिन्छ,’ स्वस्तिमा भन्छिन्, ‘तर, यो फिल्मको कथा ट्रेलरले संकेत गरेअनुसारकै छ। उपकथाहरू धेरै छन् यो फिल्ममा। प्रायः दलित समुदाय या निम्न वर्गको कथाभन्दा शक्तिशाली वर्गलाई नेगेटिभ देखाइन्छ। फिल्ममा मैले निर्वाह गरेको पात्र पनि कथित उच्च वर्गकै होला तर उसको सोच प्रगतिशील नै छ।’
यो फिल्मको सुटिङताका स्वस्तिमा थुप्रै पटक भावुक भएकी थिइन्। आफ्नो भन्दा पनि अरुको सिन देखेर।
‘सिनेमा यर्थाथपरक भएकाले सुटिङमा अरु पात्रले भोगेको विभेद देख्दा उसले जस्तो मैले भोग्नुपरेको भए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो,’ स्वस्तिमाले भनिन्, ‘म त विभेद मान्दै मान्दिनँ। कसैले मेरो अगाडि उसले छोएको पानी खाँदिनँ भनेको मैले देखेँ भने म त्यसले छोएको पानी चाहिँ खाँदिनँ होला।’
स्वस्तिमाले आफ्नो जीवनमा सधैँ सम्झिरहने पात्र हो– ‘बुलबुल’की रणकला। उनी सधैँ भन्ने गर्छिन्– ‘अरुले पैसा तिरेर फिल्म पढ्छन्/सिक्छन् होला तर, बुलबुल त्यस्तो फिल्म हो, जहाँ मैले पैसा लिएर फिल्म सिकेको छु।’
‘बुलबुल’लाई उनी फिल्मभन्दा पनि सिकाइकोे रूपमा लिन्छिन्। भलै अहिले आफैँले कमाएको पैसाले किनेको गाडी चढेर हिँड्छिन् तर यो फिल्ममा टेम्पो चालकको भूमिका निर्वाह गरेकी उनले जीवनमा पहिलोपल्ट ड्राइभिङ यसबाटै सिकेको हो।
‘मलाई ड्राइभिङ सजिलोसँग सिक्न त्यही अनुभवले सहयोग गर्यो,’ स्वस्तिमा भन्छिन्, ‘म बिहानै टेम्पु सिक्न जान्थँे। ९/१० बजे अस्कर कलेज पुग्थेँ। खाना त्यहीँ खान्थेँ। दिनभर वर्कसप हुन्थ्यो। बुलबुलको त्यो सबै प्रक्रिया एकदमै रमाइलोसँग बिताएँ।’
फिल्म प्रदर्शनपछि जीवनको पहिलो अन्तर्राष्ट्रिय अवार्ड पनि उनलाई यही फिल्मले दिलायो। यही फिल्मबाट उनले उत्कृष्ट अभिनेत्रीका रूपमा नेसनल अवार्ड पाइन्।
‘खासमा मैले बुलबुलअघि अरु फिल्म पनि गरेको थिएँ। तर, यो फिल्म यसरी मानक बनिदियो कि यो भन्दा राम्रो गर्नुपर्छ भन्ने चुनौती थपिदियो,’ स्वस्तिमा भन्छिन्।
लकडाउनको समयको कथामाथि बनेको ‘चिसो मान्छे’की हेर्नेहरूलाई पक्का पुष्पा पात्र याद हुनुपर्छ। त्यही पुष्पा, जो ‘चिसो मान्छे’मा बेलाबेला आँखा झिम्काइरहन्छे। तर, धेरैलाई थाहा नहुन सक्छ, त्यो उनले निर्देशकलाई थाहै नदिई गरेकी थिइन्।
खासमा अधिकांश नेपाली फिल्ममा महिलाको शारीरिक समस्या देखाउन खोजिँदैन। अनुहारमा कुनै खोट नभएको देखाउन खोजिन्छ। तर, संसारमा सबै मान्छे त्यस्तै हुन्छ र? स्वस्तिमालाई त्यस्तै अनुभूत भएपछि यो फिल्मको चरित्रको ‘म्यानरिजम’का लागि उनले बेलाबेला आफ्नो आँखा झिम्काइरहिन्।

‘पुरुष कलाकारले चरित्रमा यस्तो किसिमको ‘म्यानरिजम’मा काम गर्दा निर्देशकले सहजै स्वीकार्छन्,’ स्वस्तिमा भन्छिन्, ‘मैले एउटा फिल्ममा एउटा चरित्रका लागि त्यस्तो गर्दा निर्देशकले तिमी अभिनेत्री हौ, त्यस्तो नगर भन्नु भएको थियो। विपिन कार्की, सौगात मल्लका चरित्रहरूमा यस्तो पक्षमा काम भएकै कारण उहाँहरूको चरित्रमा लेयर देखिन्छ। तर, हामी महिला अभिनेत्रीलाई चरित्रका लागि त्यस्तो अभ्यास नै गर्न दिँदैनन्।’
त्यसैले स्वस्तिमालाई डर थियो– ‘चिसो मान्छे’मा पनि निर्देशक दीपेन्द्र के खनाललाई भन्यो भने पक्का गर्न दिँदैनन्।
‘तर, जब हामी सुटिङ गर्दै मलेखु पुग्यौँ, साँझतिर सुटिङ सकिएपछि दीपेन्द्र दाइले– स्वस्तिमा तिमीले आँखा झिमझिम गरिरहेको छौ नि। त्यसमा काम गरिरहनु है। राम्रो भा’को छ भन्नुभयो। म त चकित पनि भएँ अनि ढुक्क पनि। खासमा उहाँलाई झुक्काएर गरिरहेको थिएँ, तर क्यामेरालाई त झुक्याउन नसकिने रहेछ।’
पात्र तयारीमा स्वस्तिमा कतिसम्म गहिरिएर काम गर्छिन्, यो एक उदाहरण पनि हो।
लेट्स टकमा स्वस्तिमालाई हामीले सोधेका थियौँ– ‘तपाईंबारे आएको एउटा त्यस्तो हल्ला जुन गलत थियो, तर तपाईंले सुनेर रमाइलो महसुस गर्नुभयो?’
जवाफमा स्वस्तिमाले भनिन्, ‘स्वस्तिमा र निश्चलको डिभोर्स भयो, स्वस्तिमा गर्भवती भइन् जस्ता हल्ला बाहिर आउँदा हामी हाँसिरहेका हुन्छौँ।’
विवाहित हिरोइनहरूलाई फिल्म क्षेत्रमा के फाइदा रहेछ त?
उनी भन्छिन्, ‘नयाँनयाँ फिल्ममा नयाँनयाँ एक्टरसँग त्यत्तिकै नाम जोड्ने काम हुँदैन। विवाह गरेपछिको धेरै फाइदाहरू रहेछन्।’
स्वस्तिमाले हामीसँग आफ्नो फिल्म करिअरको समीक्षादेखि आफ्ना बाल्यकाल, सम्बन्ध र राजनीतिमा आउने सम्भावनाबारे पनि खुलेर कुरा गरेकी छन्।
बाँकी भिडिओमै हेर्नुहोस् :
फोटो/भिडियोः सरोज नेपाल/सौगात दाहाल

प्रतिक्रिया