नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’ र गायक प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ को शीर्ष १० मा पुग्ने हरेक प्रतिस्पर्धीले जनही रु तीन लाख पुरस्कार पाउनेभएका छन्।
नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्ने उद्देश्यका साथ सुरू गरिएको दुई प्रतियोगिताका आयोजक इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले अन्तिम प्रतिस्पर्धा हुने दुवै कार्यक्रमका प्रतियोगिलाई सम्मानस्वरूप उक्त पुरस्कार दिइने घोषणा गरेमन हुन्।
उनले भने, ‘आफ्नो माटोको सुगन्धसहितको मौलिक संस्कृतिलाई भावी पुस्तामा पुर्याउने अभियानले नेपालीको सांस्कृतिक राष्ट्रवाद अझ मजवुत बनाएको छ। नेपाली जातिको पहिचान अझ सशक्त बनाउन र संस्कृतिका माध्यमबाट नेपाली जातिलाई एकताबद्ध बनाउन गायन र नृत्यका कार्यक्रम गरिरहेका छौँ।’
उनले नेपाली संस्कृतिका प्रतिभा जन्माउने र उनीहरूलाई प्रशिक्षित गरी तिखार्ने अभियानमा लाग्नु हुने सम्पूर्ण प्रशिक्षकमा अभार व्यक्त गर्दै यसमा राज्यले निरन्तर साथ दिनुपर्ने धारणा राखे।
विश्वभरका अडिसनबाट गायनमा १२० र नृत्यमा १२० छनोट गरेर अन्तिम प्रतिस्पर्धा काठमाडौँमा गराइने छ। यी कार्यक्रमले विश्वभरका नेपाली जातिका प्रतिभालाई एक ठाउँमा ल्याउने उद्देश्य राखेको छ।
अमेरिका, बेलायत, पोर्चुगल, अष्ट्रेलिया, जापान, हङगकङग, थाइल्याण्ड, दुवाई, कतार, सिलगुडी, मुम्बई, पोखरा, नेपालगञ्ज, विर्तामोडलगायतका ठाउँमा अडिसन सम्पन्न भइसकेको र काठमाडौँमा चैत १६ र १७ मा हुने आयोजकले जानकारी दिएको छ।
दुवै प्रतियोगिताका विजेताले एक/एक करोड पुरस्कार पाउने छन् भने उपविजेताले २५ लाख तथा तृतीय हुनेले १० लाख पुरस्कार पाउने छन्। यसबाहेक समूह नृत्य प्रतिस्पर्धाका विजेताले २० लाख, उपविजेताले १० लाख र तृतीय हुनेले पाँच लाख पाउने जानकारी पनि कार्यक्रममा दिइएको थियो।
Shares

प्रतिक्रिया