गुलियो जेरी हौ
तिमी त मेरी हौ
मायालाई पानको पात
झण्डै तीन महिनाअघि सार्वजनिक भएको ‘मायालाई पानको पात’ बोलको गीत निकै चल्यो। क्याची शब्दकै कारण यस गीतमा लाखौँ टिकटकदेखि रिल्स बने। तीन महिना नपुग्दै गीतले युट्युबमा पनि ३ करोड भ्युज पाइसकेको छ।
नेत्र अर्यालको शब्द रहेको गीतमा खेम सेन्चुरी र दीपिका मगरको स्वर सुन्न सकिन्छ। गीतको भिडिओमा अभिनेता पल शाहसँगै मोडल अञ्जना पुन मगरले कम्मर मर्काएकी छिन्। जसबाट अञ्जनाले चर्चासँगै नयाँ पहिचान पाएकी छिन्। त्यसैले त उनलाई दर्शकहरूले ‘मायालाई पानको पातवाली’ भनेर चिन्न थालेका छन्। अञ्जना पनि निकै दंग छिन्।
खुसी हुँदै भन्छिन्, ‘मायालाई पानको पात गीतलाई सबैजनाले मन पराइदिनुभएको छ। एकदमै खुसी लागिरहेको छ। यस गीतमा टिकटक र रिल्स भिडिओहरू देखेर रमाइलो लागिरहेको छ। अहिले धेरै मलाई मायालाई पानको पातवाली भनेर चिन्नुहुन्छ। त्यो सुन्दा आफूले गरेको काम चिनिएको महसुस हुन्छ।’
हुन त अञ्जनाले यस गीतअघि पल शाहसँगै दुईवटा म्युजिक भिडिओ खेलिसकेकी थिइन्। तर, नाच सुहाउँदो यस गीतका शब्दका कारण दर्शकहरूको रोजाइमा परेको सुनाउँछिन् उनी।

पोखराको लेखनाथमा जन्मेकी अञ्जना १ कक्षामै पढ्दा बुवाआमासँग हङकङ गइन्। जसकारण उनको पढाइ र हुर्काइ हङकङस्थित जोर्डनमै बित्यो। विदेश बसे पनि अञ्जनामा नेपालप्रति बिछट्टै माया थियो। र, नेपाललाई कर्मथलो बनाएर यतै बस्न चाह थियो उनमा।
बालबालिका साह्रै मनपराउने अञ्जनाको शिक्षक बन्ने सपना थियो। साथै मिस नेपाल बन्ने रहर पनि। त्यस रहरकै कारण अञ्जनालाई ब्युटी पेजेन्टप्रति रुचि बढ्दै गयो।
उनको आइडल थिइन् सन् २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठ। सृष्टिबाट प्रभावित अञ्जनाले मोडलिङदेखि फेसन सोमा सहभागी हुन थालिन्। र, सन् २०१४ मा मिस मगर हङकङको उपाधि जित्न सफल भइन्।
प्लस टुमा होटल म्यानेजमेन्ट पढेकी अञ्जनाले टिचिङ असिस्टेन्ट भएर स्कुलमा पाँच वर्ष काम गरिन्। शिक्षक बने पनि अञ्जनामा मिस नेपाल बन्ने हुटहुटी बाँकी थियो। त्यसैको तयारीका लागि सन् २०२३ मा अञ्जनाले मिस हङकङ नेपालमा भाग लिइन्। र, विजेता पनि बनिन्।
टाइटल होल्डरले मिस नेपालको टप १३ मा सिधै इन्ट्री पाउने व्यवस्था छ। सन् २०२४ को मिस नेपालमा प्रतिस्पर्धा गर्न उनी नेपाल आइन्।
मिस नेपालको टाइटलको लागि प्रतिस्पर्धामा भिडिन्। तर, अञ्जनाको मिस नेपाल बन्ने सपना भने पूरा हुन सकेन। उनले मिस पपुलर च्वाइस र मिस एचडीआई डिलाइटफुल ह्याप्पी इन्टेलिजेन्स अवार्डमै चित्त बुझाउनुपर्यो।

‘म चाहिँ जे हुन्छ राम्रोकै लागि हुन्छ भन्ने सोच्छु। मिस नेपाल नबने पनि मैले दुइटा सबटाइटल अवार्ड पाएँ। हात खाली भएन। त्यो साढे २ महिनाको यात्रामा धेरै कुराहरू सिक्न पाएँ। त्यो नै मेरो लागि ठूलो कुरा हो,’ उनले भनिन्।
नेपाललाई कर्मथलो बनाउँछु भनेर फर्किएकी अञ्जना यतै रमाउन थालिसकेकी थिइन्। सोहीबीच एकदिन पल शाहले चन्द्रज्योति मगरमार्फत म्युजिक भिडिओ खेल्न अफर गरे। अञ्जना काठमाडौँमा चन्द्रज्योतिसँगै बस्छिन्। गीत थियो: मैले भन्दा माया (बधाई छ तिमीलाई)।
अञ्जना अभिनेता पल शाहको ठूलो फ्यान। ‘हनी बनी’बाट फलो गर्दै आएकी अञ्जनालाई पलसँग म्युजिक भिडिओ खेल्ने रहर थियो।
‘म चाहिँ पल शाहको फ्यान भएर उहाँसँग म्युजिक भिडिओमा खेल्ने रहर थियो। उहाँको सुरुको हनी बनी हेरेको थिएँ। त्यो बेलादेखि फलो गर्दै आएको थिए। उहाँले नै अफर गरेपछि भगवानले अझै गर भनेको जस्तो लाग्यो।’

त्यसपछि उनले पलसँगै लगातार तीनवटा भिडिओ खेलिन्। तर, सुरुका दुइटा गीत राम्रै चले पनि ‘मायालाई पानको पातबाट’ नसोचेको सफलता पाएको सुनाउँछिन् अञ्जना।
महोत्सवमै प्रिमियर गरिएको यस गीतले पलको व्यस्तता पनि बढायो। साथसाथै अञ्जनाले पनि यस गीतपछि आफूलाई थुप्रै अफरहरू आइरहेको बताइन्।
‘यो गीत पूरै डान्सिङ प्याटर्नमा छ। तर, मलाई डान्स आउँदैन भन्ने पलजीलाई थाहा थियो। त्यसैले उहाँले मेरो डान्सको लागि विक्रम चौहान कोरियोग्राफर राख्नुभएको थियो,’ उनी भन्छिन्, ‘मेहनत गरेझैँ गीत पनि निकै चल्यो। व्यस्तता पनि बढेको छ। पानको पातपछि धेरै अफरहरू आइरहेको छ।’

हङकङ हुँदादेखि नै नेपाली फिल्म हेर्न मन पराउने अञ्जनालाई विपिन कार्की र स्वस्तिमा खड्का निकै मनपर्ने अभिनेता/अभिनेत्री हुन्। एक्टर स्टुडिओमा अभिनय सिकिरहेकी अञ्जनाले आफूलाई माझ्दै लगिरहेकी छिन्। भविष्यमा अभिनेत्री बन्ने इच्छा रहेको उनको भनाइ छ।
उनले सुनाइन्, ‘नेपालमा केही गर्छु भन्ने थियो। तर, अभिनय नै भन्ने सोचेको थिइनँ। अब चाहिँ भगवानले अभिनय नै गरेर खा भनेजस्तो लाग्छ। तर, त्यसको लागि आफै पनि स्किलफुल हुनुपर्यो। अहिले डान्स र एक्टिङ क्लास लिइरहेकी छु। मेहनत गरिरहेकी छु, अवसर आउँदा पक्रिहाल्छु भन्ने छ। मलाई अभिनेत्री बन्न मन छ। र, आफ्नै घर बनाएर नेपालमै बस्न मन छ।’

प्रतिक्रिया