झन्डै १५ किलो (१४.८ किलो) सुनसहित पक्राउ परेकी कन्नड अभिनेत्री रान्या रावलाई अदालतले १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई बेंगलुरु अन्तर्राष्ट्रिय विमानस्थलबाट १४.८ किलो सुनसहित राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) ले सोमबार (मार्च ३) साँझ पक्राउ गरेको हो। तर यो जानकारी बुधबार (मार्च ५) मात्र सार्वजनिक भएको हो।
अभिनेत्री रान्या कर्नाटक प्रहरी आवास निगमका प्रहरी महानिर्देशक (डीजीपी) रामचन्द्र रावकी सौतेनी छोरी हुन्। उनले कन्नड चलचित्रहरू माणिक्य र पत्कीमा अभिनय गरेकी छन्।
डीआरआईका अधिकारीहरूका अनुसार रान्या राव सोमबार दुबईबाट एमिरेट्सको उडानबाट भारत फर्किएकी थिइन्। पछिल्लो १५ दिनमा उनी चारपटक दुबई गएकी थिइन्। त्यसैले सुरक्षा एजेन्सीहरूले पहिले नै उनको गतिविधि निगरानी गरिरहेका थिए।
डीआरआईको दिल्ली टोलीलाई सुन तस्करीमा रान्याको संलग्नता पहिले नै थाहा थियो। त्यसैले मार्च ३ मा अधिकारीहरू उनी चढेको विमान अवतरण हुनुभन्दा दुई घण्टा अघि नै विमानस्थल पुगे।
रान्या राव विमानस्थलमा अवतरण गर्नेबित्तिकै उनले आफूलाई कर्नाटकका डीजीपीकी छोरीका रूपमा परिचय दिइन्। उनले स्थानीय प्रहरीलाई पनि सम्पर्क गरेर विमानस्थलबाट बाहिरिने प्रयास गरिन्। तर डीआरआई टोलीले उनलाई सोधपुछका लागि बेंगलुरुस्थित डीआरआई मुख्यालयमा लग्यो।
अनुसन्धानका क्रममा रान्याले आफ्नो लुगामा सुन लुकाएको पत्ता लाग्यो। सुन अवैध सुन पुष्टि भएपछि उनलाई मार्च ३ साँझ ७ बजे पक्राउ गरियो।
डीआरआई अधिकारीहरूले उनी ठूलो तस्करी नेटवर्कको हिस्सा हुन सक्ने आशंका गरेका छन्। यो पहिलोपटक हो वा उनी पहिले पनि सुन तस्करीमा संलग्न थिइन् भन्ने कुरा पत्ता लगाउने प्रयास अनुसन्धानकर्ताले गरिरहेका छन्।
Shares

प्रतिक्रिया