वर्षा राउत र जोयस पाण्डेको मुख्य भूमिका रहेको फिल्म ‘हिउँको गीत’ को छायांकन सकिएको छ। पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा अन्तिम दृश्य खिँचेसँगै फिल्मको सुटिङ सकिएको हो। जोयस ‘साँघुरो’ का निर्देशक हुन्।
ओहायो राज्यको क्लिभल्याण्ड सहरमा हलिउडका चलचित्र छायाँकन गरिने सुविधा सम्पन्न स्टुडियोमा छायांकन गरिएको थियो। जोयश पाण्डेयसँगको संयुक्त लेखनमा तयार फिल्मलाई विमल सुवेदीले निर्देशन गरेका हुन्।
यस फिल्ममा नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा समेटिएको छ। भुटान, नेपाल र अमेरिकामा जन्मे हुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा र संघर्षको कथा प्रस्तुत गरिएको निर्माण समूहले जनाएको छ।
एउटा परिवार तर फरक पुस्ता, परिवेश र अनुभव बोकेका सदस्यमार्फत् फिल्मले समग्र नेपालीभाषी भुटानीको आफ्नै देशबाट लखेटिनुअघि सरकारबाट योजनाबद्ध बर्बर यातनादेखि लखेटिएपछि नेपालको शरणार्थी शिविर र अमेरिका आइसकेपछि परिवारका फरक फरक सदस्यमा देखिने संरचनात्मक र मनोवैज्ञानिक असरलाई समेटिएको निर्माता समुन्द्र राज घिमिरेले बताए।
भारतको नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाबाट रंगमञ्चका विभिन्न आयाम अध्ययन गरेपश्चात् नेपाल फर्किएर थिएटर भिलेजमार्फत् नाटक लेखन, निर्देशन तथा कला निर्देशन, अध्यापनमा सक्रिय सुवेदीले भुटानी शरणार्थीका विषयमा नेपाल तथा भारतमा थुप्रै काम गरिसकेका छन्।
सुवेदीले चलचित्र नेपाली र अंग्रेजी गरी दुई भाषामा फिल्म खिचिएको बताएका छन्। फिल्म सम्पादन, ध्वनि, संगीत, रंग संयोजन तथा पर्दा पछाडिका कार्यमा फरक फरक समूहले समानान्तर रुपमा काम गर्नेछन्। कथ्य संरचना नै बेग्लै रहने अर्को फिल्मको नाम ‘द स्नो इज सिङ्ङिङ’ राखिएको छ।
फिल्मलाई ह्याप्पी होम स्टुडियोजको प्रस्तुतिमा जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्र राज घिमिरेले निर्माण गरेका हुन्। ओहायो राज्यको एक्रोन, कोलम्बस, पेन्सिलभेनिया वरिपरिका नेपालीभाषी भुटानी समुदायको सहजिकरणमा तयार भएको फिल्म निर्माणको अन्तिम चरणसम्म थिएटर भिलेज र गाउँ स्टुडियोले सहकार्य गर्ने छन्।
फिल्ममा वर्षा र जोयशसहित पूजा चन्द, आकाश खतिवडा, ईशिर कर्मचार्य,थोमस किथ स्कट, केदार उप्रेती, आर। बी। खड्का, अर्जुन रसाइली, समीर रेग्मी, मनोरथ खनाल, नीलम खनाल, इशान कर्माचार्य, कृस्टल पराजुली, एन्जेलिना पराजृुली, जोशन रामदाम, निर्मल खनाल,विष्णु रामदाम, मिसेल स्कट, आयुष भट्टराई, नवीन खनाल, जोशिका रामदाम आदिको अभिनय रहेको छ।
फिल्ममा पेन्सलभेनियाको ह्यारिसबर्ग तथा ओहायोको कायाहोगा फल्स, एक्रोन, कोलम्बस, सनसाइन तेक्वान्दो तथा नृत्य एकेडेमी, इन्टा फाउन्डेसनका चार दर्जनभन्दा बढी कलाकारले अभिनय गरेका छन्।
फिल्ममा नेपाल, भुटान, ताइवान, चीन, मेक्सिको मूलका फिल्मकर्मीले काम गरेका छन् । फिल्मलाई चिनइन गाउले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गर्नेछन्।
Shares

प्रतिक्रिया