कला


‘हजुरको के छ, मेरो त ठिक छ’ गाउने सचिनको जीवन थिएन ठिकठाक

‘हजुरको के छ, मेरो त ठिक छ’ गाउने सचिनको जीवन थिएन ठिकठाक

लक्ष्मी बलायर
पुस १८, २०८१ बिहिबार १७:२६, काठमाडौँ

करिब पाँच वर्षअघि गुल्मीका सचिन परियार सामाजिक सञ्जारभरि छाए। हँसिलो अनुहार। मिठो बोलीका कारण ९-१० वर्षकै उमेरमा भाइरल भए।

गुल्मीकै एक युट्युब च्यानलले अन्तर्वार्ता लिएपछि उनी टिकटकमा लोकप्रिय बनेका थिए। नाम चलेको कलाकारले पनि सचिनको आवाजमा टिकटक बनाए। सोही अन्तर्वार्ताले सचिनको यात्रा काठमाडौँ मोडियो।

सुरुसुरुमा त सचिन कुनै सेलिब्रेटीभन्दा कम थिएनन्। काठमाडौँ आएपछि उनले कृष्ण कँडेलको ‘इन्द्रेणी’ मा गीत गाए। लगत्तै सचिनको स्वरमा ‘ओठ खोलेर’ बोलको गीत सार्वजनिक भयो। जुन गीत युट्युबमा निकै रुचाइएको थियो।

त्यसपछि त के चाहियो र? सचिनलाई म्युजिक भिडिओदेखि टेलिशृंखलामा अभिनयका लागि समेत प्रस्ताव आउन थाल्यो। उनले खेलेका ‘रातो रबर’ लगायतका धेरै गीतहरू दर्शकको रोजाइमा परे।

यतिसम्म कि सचिनसँग प्रतिष्ठित एवं वरिष्ठ कलाकारहरू पनि स्क्रिन सेयर गर्न तयार भए। सचिनसँग राजेश हमालले ‘बरको छायाँले’ गीतमा कम्मर मर्काए। सचिनले हास्य टेलिशृंखला ‘मेरी बास्सै’ का केही भागमा अभिनय गरेका थिए। केही समय त उनी युट्युब ट्रेन्डिङमै रहे।

उनले गायिका अस्मिता अधिकारीसँग 'सुनको गजुर। हजुरको के छ? मेरो त ठिक छ हजुर' बोलको गीत पनि गाएका थिए, जुन अहिले पनि श्रोतामाझ लोकप्रिय छ।

गीतमा उनले 'मेरो त ठिक छ' भने पनि उनको न पारिवारिक जीवन ठिकठाक थियो, न त स्वास्थ्य नै। उनी सानैदेखि परिवारबाट एक हिसाबले त्यागिएका थिए। आमाले छाडेर गइन्। बुवाले अर्को बिहे गरे। उनको बालापन अलपत्रजस्तै भयो। बुवा भए पनि जिम्मेवार अभिभावकत्व उनले पाउन सकेनन्।

एकाएक सेलिब्रिटी बनेका सचिन केही समयपछि पुरानै अवस्थामा फर्किए। स्टुडिओ र सुटिङस्थलबाट उनी गुल्मी नै फर्किए।

सचिनलाई कृष्ण कँडेलले चन्दा उठाएर १२ कक्षासम्म पढाइदिने भनेर एक निजी स्कुलमा जिम्मा लगाएका थिए। नर्सरीमा प्रथम भएका सचिन एलकेजीमा मध्यम भए। यूकेजीमा केही विषय पास गर्न नसकेका सचिनलाई उनका बुबा तेजेन्द्रले पढाइ छुटाएर मेला महोत्सवमा लिएर हिँडे। लगातार ६ महिना गयल भएपछि सचिनलाई स्कुलले निकालेको थियो।

पारिवारिक र आर्थिक अवस्था त ठिकठाक थिएन नै, स्वास्थ्यले पनि उनलाई धोका दियो। एकपछि अर्को शारीरिक समस्या देखापर्न थाले।

केही समय युट्युबरको कन्टेन्ट बनेका उनी शारीरिक रूपमा अस्वस्थ बन्दै गए। निमोनियाका कारण हप्तौँसम्म थला परे। नसासम्बन्धी समस्याले पनि गाँज्यो। तौल र उचाइ नबढ्ने समस्या देखियो।

सचिनको काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचारसमेत गरियो। त्यतिबेला उनको उपचारको लागि कलाकारदेखि विभिन्न क्षेत्रका मनकारी व्यक्तिले सहयोगसमेत गरेका थिए। स्वास्थ्यमा राहत भएपछि उनी घर फर्किए। त्यसपछि पुनः माग्ने अवस्थामा देखा परे।

तर, गत वर्षदेखि सचिन पुन: बिरामी परे। उनको कम्मरमुनिको भागमा गम्भीर समस्या देखिएको थियो। जसले उनलाई उभिनसमेत कठिनाइ हुँदै गयो।

यसबारे बुवा तेजेन्द्रसँगै इन्द्रेणीमा पुगेर आफू बिरामी भएको सचिनले बताएका थिए। र, उनका बुवाले छोराको उपचार गर्न पैसा नभएको भन्दै सहयोग मागेका थिए।

तर, पहिलोपटक बिरामी हुँदा आर्थिक सहयोग संकलन अभियानमा हिनामिना भएको कुरा उठ्यो। युट्युबर भोजराज थापाले सचिनको उपचारका लागि ११ लाख उठेको बताएका थिए। जसमध्ये ३ लाख खर्च भएको र बाँकी रकम बचत हुने गरी राखेको उनको दाबी थियो।

सचिनका बुवा तेजेन्द्र र कतिपय युट्युबरबीच आरोपप्रत्यारोप समेत चल्यो। जसकारण दोस्रोपटकको उपचारमा आर्थिक समस्या देखियो।

दोस्रोपटक पनि उनको उपचारको लागि भनेर आर्थिक संकलन अभियान सुरु गरिएको थियो। त्यसयता थलिएका सचिन पूर्ण स्वस्थ हुन सकेका थिएनन्।

तिनै सचिन गत पुस १३ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। अस्पतालका बालरोग विभाग प्रमुख डा अरूणकुमार शर्माका अनुसार, यसपालि सचिन उच्च ज्वरो र श्वास फेर्न गाह्रो भएको समस्या लिएर अस्पताल भर्ना भएका थिए। पाँच दिनसम्म आईसीयूमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार आउन सकेन।

अस्पतालले दिएको जानकारी अनुसार, उनी पाँच वर्षभन्दा बढी समयदेखि पटकपटक उपचार गराउँदै आएका थिए। उनलाई पहिले जन्मजात थर्ड भेन्ट्रिकुलर सिस्ट (दिमागमा अनावश्यक पलाएको भाग) पत्ता लागेको थियो। उनको उपचारका क्रममा न्युरो सर्जरी अर्थात् नसाको शल्यक्रिया पनि गरिएको थियो। चिकित्सकले दिएको सल्लाहको पालना नगर्दा पनि समस्या जटिल बन्दै गएको अस्पतालको निष्कर्ष छ।

उनलाई निमोनियाका साथै उच्च रक्तस्राबको पनि समस्या देखिएको थियो। मुख र नाकबाट रगत बग्न रोकिएन। धेरैपटक रगत चढाइयो। श्वास फेर्न सहायताका लागि अक्सिजन दिइयो। भेन्टिलेटरमा पनि राखियो।

चिकित्सकका अनुसार, भर्नाको पाँचौँ दिनमा उनको फोक्सोबाट अचानक गम्भीर रक्तस्राव भयो। जसको परिणामस्वरूप अक्सिजनको अभाव भयो र हृदयघात निम्त्यायो। शरीरका धेरै अंगहरूले काम गर्न छोडे।

लाइफ सपोर्टका लागि उपलब्ध सबै उपाय लगाउँदा पनि उनलाई समस्याबाट फर्काउन नसकेको चिकित्सकले बताए।

त्रिवि शिक्षण अस्पतालले पुस १७ गते बिहान १० बजेर ४९ मिनेटमा १५ वर्षीय सचिनको निधन भएको घोषणा गर्दै अस्पतालले विज्ञप्तिमा लेख्यो, ‘उहाँको आत्माले शान्ति पाओस् र शोकसन्तप्त परिवारलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून्।’

त्रिवि शिक्षण अस्पतालको विज्ञप्ति:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad