फिल्म ‘अग्निदहन’ शुक्रबारबाट हलमा रिलिज हुँदैछ। समाजमा बोक्सी हुँदैन भन्ने थिममा निर्माण गरिएको फिल्मले दर्शकको ध्यान खिँचिरहेको छ।
फिल्मका परिकल्पनाकार तथा प्रस्तुतकर्ता कोविदशरण उपाध्याय यो फिल्म बोक्सी प्रथा उन्मुलनका लागि निर्माण गरिएको बताउँछन्। ‘हामीले व्यावसायिक लाभका लागि मात्र फिल्म निर्माण गरेका होइनौँ। यो विशुद्ध सामाजिक सन्देश फैलाउन निर्माण गरेका हौँ’, उनले भने।
आफूहरुले बोक्सी प्रथाविरुद्ध विभिन्न किसिमका काम गरेको बताउँदै उनले फिल्ममार्फत जनतालाई जागरुक गराउन प्रभावकारी हुने विश्वास व्यक्त गरे।
‘हामीले ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ पुस्तक, ‘अग्निदहन’ उपन्यास र राष्ट्रियस्तरका ख्यातीप्राप्त गायकगायिका अञ्जु पन्त, सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रमोद खरेलका स्वरमा सामाजिक भिडियोहरु बनाएर जागरण चलायौँ। अनि केही गहिरिएर जाउँ न त भनेर निर्देशक घनश्याम लामिछानेसँग सल्लाह गरेर यो फिल्म बनाएका हौँ’, उनले भने ।
‘बोक्सी’का नाममा महिलामाथि कुटपिट गर्ने, मलमुत्र खुवाउने, जिउँदै जलाउने, गाउँ निकाला गर्ने जस्ता जघन्य अपराध र कुप्रथा भएको ठाउँमा यसविरुद्ध सचेतना जगाउन फिल्म प्रभावकारी बनेको उनको दाबी छ।
उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र सल्लाहमा आफूहरुले भोजपुरी र मैथिली भाषामा पनि फिल्म तयार पारेको खुलाए । ‘उहाँहरुले पूर्ण रुपमा मधेश प्रदेश र तराईका २२ वटा जिल्लामा अभियान चलाउनु होला भन्नु भएपछि भोजपुरी र मैथिली भाषामा पनि डबिङ गर्यौ’, उनले भने।
केही समयअघि भारतको बिहारस्थित सितामढीमा यो फिल्म प्रदर्शन गरिएको थियो । उनले चाँडै नै तराईका भारतसँग सीमाना जोडिएका जिल्लामा पनि फिल्म प्रदर्शन गर्ने जानकारी दिए। ‘हामी जहाँ जहाँ पुग्यौं सबैले बोक्सी अन्धविश्वास रहेछ भन्नुभयो’, उनले भने।
Shares

प्रतिक्रिया