कला


‘पूर्णबहादुरको सारंगी’का लागि प्रकाश सपुतले मागे माफी

‘पूर्णबहादुरको सारंगी’का लागि प्रकाश सपुतले मागे माफी

फाइल तस्बिर: प्रकाश सपुत


नेपालखबर
कात्तिक २५, २०८१ आइतबार ११:५५, काठमाडौँ

रिलिजअगाडि फिल्म ‘पूर्णबहादुरको सारंगी’ प्रचारप्रचारमा साथ नदिएको आरोप खेपेका अभिनेता प्रकाश सपुतले माफी मागेका छन्।

दर्शकबाट व्यापक आलोचना आउन थालेपछि सपुतले फेसबुकमार्फत मन दुखाएछु भन्दै क्षमा याचना गरेका हुन्। 

‘जानी-नजानी मन दुखाएकोमा माफी चाहन्छु। कमजोरीहरू सुधार्दै जाउँला। अब त उमेरले पनि अलि पाको हुँदै गइयो। सस्तो चर्चा, परिचर्चा, सफलता, व्यस्तताभन्दा पनि एउटा राम्रो विचार र व्यवहारसहितको व्यक्ति बन्न चाहन्छु। यसरी खबरदारीचाहिँ गर्दै गर्नुस्, तर राम्रो ऊर्जा पनि दिनुस् न है’, उनले लेखेका छन्।

सारंगीमा प्रकाश सपुतले पनि अभिनय गरेका छन्। कात्तिक १५ देखि देशभर प्रदर्शनरत यस फिल्मले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ।

यतिबेला प्रकाश हल भिजिटमा व्यस्त छन्। यसैकारण धेरै दर्शकले फिल्म चल्न थालेपछि मात्रै साथ दिएको भनी उनीविरुद्ध आक्रोश पोखिरहेका छन्। 

‘म त हेर्नै भ्याएको थिएन। धेरैले गाली र गुनासो गर्नु भएको पो रहेछ! पहिला सहयोग गरेन भनेर। म त काम गर्ने मान्छे हुँ। चलचित्र रिलिज हुँदाको दिनमा पनि काममै थिएँ है। मैले आफ्नो धर्म छाडेको छैन। एउटा स्वाभिमान सबैमा हुनपर्छ। त्यो ममा पनि छ। तपाईंहरूमा पनि होला’, सपुतले लेखेका छन्, ‘सम्झौताअनुसार नभएपछि मैले केही समय आफ्नो अडान लिएकै हो तर कहिलेकाहीँ स्वाभिमानीभन्दा बढी व्यावहारिक भएर सोच्न पर्ने रैछ। मैले त्यही सोचेँ र रिलिजको लागि मनैदेखि लागिपरेँ।’

रिलिजअगाडि केही समय प्रकाश पूर्णबहादुरको सारंगी प्रचारप्रसारमा देखिएका थिएनन्। आफूले निर्देशन गरेको फिल्म ‘वसन्त’ पहिले रिलिज हुनुपर्छ भन्ने अडानमा रहेका उनले सारंगीलाई साथ नदिएको चर्चा चल्यो। निर्माण टिमले पनि सपुतले फिल्मलाई साथ नदिएको गुनासो गरेको थियो। 

यहीबीच उनले कात्तिक २ गते स्टाटस लेख्दै आफू ‘वसन्त’को सुटिङमा व्यस्त रहेको स्पष्टीकरण दिएका थिए। अनि अचानक फिल्म प्रदर्शन हुने कुरा सरप्राइज भएको उनले उल्लेख गरेका थिए। 

उनले लेखेका थिए, ‘टिम वर्कमा एउटा मान्छे बेइमानीमा पर्दा ऊसँग जोडिएका अरू थुप्रै मानिसलाई धोका हुन्छ। मैले पूर्णबहादुरको सारंगीका लागि कुनै सर्त राखेको थिइनँ। मैले त उहाँहरूलाई आफ्नो समस्या राखेको थिएँ र सोच्ने समय दिएको थिएँ। सोचेरै सम्झौतामा स्पष्ट लेखिएको पनि छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad