कला


मधेस-पहाडको कथा र सौन्दर्यमा ‘केटी हराएको सूचना’

मधेस-पहाडको कथा र सौन्दर्यमा ‘केटी हराएको सूचना’

रासस
कात्तिक १८, २०८१ आइतबार ७:९, काठमाडौँ

वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’लगायत निर्देशन गरेर परिचित निर्देशक दीपेन्द्र गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गरेका छन्। झन्डै ३२ वर्षपछि चलचित्रकर्ममा फर्किएका निर्देशक गौचनले पहाडी समुदायको केटा र मधेसी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको बताए। 

‘म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थेँ। किनकि पहाडी र हिमाली क्षेत्रका धेरै कथा पर्दामा आएका छन्। जसरी उजेलीको चर्चा हुन्छ, त्यसरी नै केटी हराएको सूचनालाई पनि आउँदा धेरै वर्षसम्म सम्झिरहने गरी बनाउने कोसिस गरेको छु’, उनले भने।

निर्देशक गौचनले सामाजिक सञ्जालबाट भेटिएका दुई पात्रबीच यात्रामा निस्किँदा आउने उतारचढाव, भौगोलिक सांस्कृतिक विविधता र दुई फरक समुदायको मनोविज्ञानलाई चलचित्रमा समेटेको बताए। उनले चलचित्रका अधिकांश दृश्य अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठमै केन्द्रित रहेको बताए।

‘चलचित्रमा दुई पात्रको फरक भूगोल र मनोविज्ञानलाई देखाउन खोजेको हुँ, त्यही भएर अधिकांश दृश्यमा उहाँहरू नै हुनुहुन्छ। यो हाम्रो अहिलेको समयको कथा हो, जहाँ समाजभन्दा बढी सामाजिक सञ्जालमा रमाउने प्रचलन बढिरहेको छ। चलचित्रले हामीलाई आफूभित्रको खुसी खोज्न प्रेरित गर्छ’, निर्देशक गौचनले भने। 

चलचित्रमा अभिनेता हुसेन राम र  अभिनेत्री श्रेष्ठ सीताको भूमिकामा छन्। अभिनेता हुसेनले यसपटक आफूले शून्यतामा रहेर अभिनय गरेको बताए।

उनले भने, ‘हामीलाई काम गर्ने प्रस्ताव आउँदा भूमिकाबारे भनिन्छ, त्यसलाई निर्देशक र लेखकको सहयोगमा तयार गरिन्छ। म आफैँ तराईको भएकाले आफ्नो पात्रलाई तयार गरेको थिएँ तर निर्देशक गौचनले मलाई ‘न्युट्रल’ बस्न सुझाव दिनुभयो। त्यसकारण यो रामको पात्र एकदमै सरल र जीवन्त देखिएको छ। यो मेरो लागि नयाँ अनुभव पनि हो।’

अभिनेत्री श्रेष्ठले यस चलचित्रमा गरिएको काम आफ्नो लागि अहिलेसम्म कै उत्कृष्ट रहेको बताइन्।

‘मेरो पात्र निर्माणसँगै छायाङ्कनमा पाएको स्पष्टता र सरलता अहिलेसम्मकै उत्कृष्ट अनुभव रह्यो। यो हामीले नजरअन्दाज गरिरहेको एउटा विषय हो’, उनले भनिन्। 

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad