चर्चित दक्षिण भारतीय अभिनेता थलापति विजय फिल्म करिअर छाडेर राजनीतिमा लागेका छन्। उनले आफ्नो पार्टी तमिलगा वेत्री कझगम (टीभीके) को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै तमिल फिल्म क्षेत्र छाडेको घोषणा गरे।
आइतबार पार्टीको पहिलो राज्य सम्मेलनमा बोल्दै विजयले राजनीति चलचित्रको क्षेत्र नभई युद्धको मैदान भएको बताए। उनले आफ्नो पार्टीका सदस्यहरु तल्लो तहमा सजग रहनुपर्ने बताए।
उनले भने, ‘राजनीति सिनेमाको क्षेत्र होइन, युद्धको मैदान हो। यो गम्भीर छ। सर्पसँगको व्यवहार होस् वा राजनीति, गम्भीरता र हास्यका साथ लिने निर्णय गर्यौं भने मात्र यो क्षेत्रमा बाँच्न र प्रतिद्वन्द्वीसँग सामना गर्न सकिन्छ। हामी तल्लो तहमा सचेत हुन जरुरी छ।’
आफू करिअरको चरम बिन्दुमा पुगेको भएपनि राजनीतिमा आएको उनको भनाइ छ। उनले भने, ‘मैले अभिनय करिअर छोडेर राजनीतिमा आएँ। मैले करिअरको शिखरमा आइपुगेर फिल्मलाई लात हानें र पारिश्रमिकलाई पनि। म यहाँहरु सबैको विश्वास लिएर तपाईंको विजयको रुपमा आएको हुँ,’
उनलाई यसैवर्ष विजय शाहरुख खानलाई पछि पार्दै सर्वाधिक पारिश्रमिका कमाउने अभिनेता घोषित भएका थिए। ‘थलापति ६९’ को लागि २७५ करोड भारु पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यममा उल्लेख थियो।
तर, यो रेकर्ड यतिखेर अल्लु अर्जुनले तोडेका छन्।
राजनीतिमा लागिरहँदा विजयले आफ्नो सुरुवाती करिअर सम्झे। उनले भने, ‘मेरो सिनेमा करिअरको सुरुमा मलाई मेरो अनुहार राम्रो छैन, म राम्रो देखिन्न, मेरो कपाल र मेरो चाल राम्रो थिएन भनेर भनिएको थियो। उनीहरुले मलाई यसरी लज्जित तुल्याए।’
यस्ता आलोचनाले असर गर्न नदिने समेत उनले सुनाए। आफ्नो छाप बनाउन र सबैलाई गलत सावित गर्न कडा मेहनेत गरेको उनको भनाइ छ।
विजय तीन दशकभन्दा बढी समयदेखि फिल्म क्षेत्रमा सक्रिय रहे। उनले बाल कलाकारको रुपमा वेत्री, कुदुम्बम, वसन्त रागम र सत्तम ओरु विलायट्टु जस्ता चलचित्रमा काम गरे।
सन् १९९२ मा ‘नालैया थेरपु’ बाट डेब्यु गरेका उनले नेन्जिनिले, मिनसारा कन्ना, गिल्ली, शिवकासी, पोक्किरी, अझागिया तमिल मगन र कुरुवी लगायत ६८ चलचित्रमा अभिनय गरेका छन्।
Shares

प्रतिक्रिया